53. अन-नज्म
1ताराको कसम, जब त्यो तल खस्छ ।
2तिम्रो साथी (मुहम्मद ) न त बाटो बिर्सेका छन् न भ्रमित छन् ।
3र उनी आफ्नो इच्छाले केही भन्दैनन् ।
4त्यो त मात्र वह्य हो जुन (उनीमाथि) पठाइँदै छ ।
5उनलाई ठूलो शक्तिवाला अल्लाहको दूत (जिब्रील) ले सिकाएको छ ।
6त्यो शक्तिशाली छ अनि उनी सिधा ठाडो भइहाले
7र उनी आकाशको उच्चतम भागमा थिए ।
8अनि उनी निकट भए र उतरी आए ।
9अब कमानको बीचको दूरी बाँकी रह्यो वा त्योभन्दा पनि कम ।
10अनि अल्लाहले आफ्नो दासतिर जुन ‘‘वह्य’ पठाउनु थियो पठायो ।
11जे जति उनले देखे, उनको हृदयले त्यसलाई झूठ ठानेन ।
12के जेजति उनी देख्छन् तिमी त्यसमा उनीसित विवाद गर्छौ
13र (उनले) उसलाई एकपटक पहिले पनि देखेका थिए ।
14अन्तिम सीमाको बैरको रुख नजिक (अर्थात् सिदरतुल् मुन्तहा नजिक) ।
15त्यसैको निकटमा बासस्थानवाली जन्नत (जन्नतुल् मावा) छ ।
16त्यस बैरको रुखलाई ढाकेको थियो जे उसमाथि छाइरहेको थियो ।
17उनको दृष्टि नत अरुतिर गयो र न (सीमाभन्दा) अगाडि बढ्यो ।
18उनले निश्चय नै आफ्नो पालनकर्ताका ठूला–ठूला निशानीहरूमध्ये केही देखे ।
19के तिमीहरू लात र उज्जालाई देख्यौ
20र तेस्रो अन्तिम मनात (देवीको मूर्ति) लाई
21के तिम्रो निम्ति छोराहरू छन् र अल्लाहको निम्ति छोरीहरू
22यो विभाजन त बेढंग र अन्यायपूर्ण छ ।
23उनीहरू त मात्र केही नामहरू हुन् जुन तिमीले र तिम्रो बाउबाजेले राखेका छन्, अल्लाहले त उनीहरूको निम्ति कुनै प्रमाण पठाएको छैन । उनीहरू त मात्र अड्कल र आफ्नो इच्छापूर्तिको पछाडि हिंडिराखेका छन् र निश्चय नै उनको पालनकर्ताको तर्फबाट मार्गदर्शन आइसकेको छ ।
24के प्रत्येक मानिसले जुन कुराको कामना गर्दछ, त्यो सबै उसलाई प्राप्त छ
25आखिर यस संसारको र परलोकको स्वामी त अल्लाह नै हो ।
26र आकाशहरूमा यसो धेरै फरिश्ताहरू छन्, कि उनीहरूको सिफारिश कुनै काम लाग्नेछैन, यो अर्कै कुरा छ कि अल्लाह आफ्नो इच्छाले आफू खुशी जसलाई चाहन्छ अनुमति दिन्छ ।
27निःसन्देह जुन मानिसहरू आखिरतमाथि ईमान राख्दैनन्, उनीहरूले फरिश्ताहरूलाई स्त्रिीहरूको नाम दिन्छन् ।
28जब कि उनीहरूलाई यस विषयमा केही थाहा छैन । उनीहरू त मात्र आफ्नो अड्कलवाजीको पछाडि हिंड्छन् र अनुमानले वास्तविकताको दाँजोमा केही काम गर्दैन ।
29तसर्थ जो हाम्रो स्मरणबाट विमुख छन् र संसारिक जीवन बाहेक अरु केही चाहदैनन् । त्यसबाट तपाई पनि विमुख भइहाल्नुस् ।
30यस्ता मानिसहरूको ज्ञानको पहुँच यहीँसम्म छ । निश्चय नै तपाईको पालनकर्ता त्यसलाई राम्रोसंग जान्दछ, जो उसको मार्गबाट विचलित भएको छ, र उही नै उसलाई पनि राम्ररी जान्दछ जसले (सोझो) मार्ग अपनायो ।
31र जे–जति आकाशहरूमा छ र जे–जति धरतीमा छ सबै अल्लाहकै हो, ताकि जसले नराम्रो कर्म गर्यो, उनीहरूलाई त्यसको प्रतिफल देओस् । र जुन मानिसहरूले असल कर्म गरे, उनीहरूलाई राम्रो प्रतिफल प्रदान गरोस् ।
32जुन मानिसहरू ठूला–ठूला पाप र अश्लील कर्महरूबाट पन्छिन्छन्, केही साना–तिना पाप बाहेक । निश्चय नै तिम्रो पालनकर्ता क्षमाशीलतामा बडो व्यापक छ । उसले तिमीलाई राम्ररी जान्दछ, जब उसले तिमीलाई माटोबाट सृष्टि गर्यो र जब तिमी आफ्ना आमाहरूको पेटमा भ्रुण अवस्थामा थियौ । तसर्थ आफ्नो मनको पवित्रताको दावी आफै नगर । उसले संयमीहरूलाई राम्ररी जान्दछ ।
33के तपाईले त्यस व्यक्तिलाई देखनु भयो जो विमुख भयो ।
34र अलिकति दियो, र कठोर भइहाल्यो (हात रोक्यो) ।
35के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ
36वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा भएन
37र जुन वफादार इब्राहीमको किताबमा थियो
38कि कुनै पनि व्यक्तिले अरु व्यक्ति (को पाप) को भारी बोक्नेछैन ।
39र यो कि प्रत्येक मानिसको लागी त्यही नै हो जसको निम्ति उसले प्रयास गर्यो ।
40र यो कि उसको प्रयास शीघ्र नै देखिनेछ ।
41अनि उसलाई पूरा प्रतिफल प्रदान गरिनेछ ।
42र यो कि तपाईको पालनकर्ताकै पासमा पुग्नु छ ।
43र यो कि उसैले हसाउँछ र रुलाउँछ ।
44र यो कि उसैले मार्दछ र जीवित राख्दछ ।
45र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी) जोडीको सृष्टि गर्यो ।
46(वीर्यको) थोपाबाट जबकि त्यो गर्भमा टपकाइन्छ ।
47र यो कि (कयामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ ।
48र यो कि उही हो जसले कि धनी र सन्तुष्ट बनाउँछ ।
49र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो ।
50र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो ।
51र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन ।
52र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए ।
53र पल्टिजाने बस्तीलाई उसैले नष्ट गरिदियो ।
54अनि त्यसलाई छोपिहाल्यो, जसलाई जुन कुराले छोप्नु थियो ।
55अनि (हे मानिस) तिमीले आफ्नो पालनकर्ताका कुन–कुन अनुकम्पाको विषयमा विवाद गर्नेछौ
56यी (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पनि पहिलेका सावधानकर्ताहरू जस्तै एउटा सावधान गर्नेवाला हुन् ।
57आउनेवाला (कयामत) नजिक आइपुग्यो ।
58त्यस दिनको लुकेका कुरालाई अल्लाह बाहेक कसैले प्रकट गर्नसक्ने छैन ।
59अब के तिमीले यस कुरामा आश्चार्य गर्दछौ
60र हाँस्दछौ? र रुँदैनौ
61अपितु तिमी खेलीराखेका छौ ।
62तसर्थ अल्लाहको अगाडि़ ढोग र उसैको उपासना गर ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath