50. काफ
1काफ, र ठूलो गरिमामय यस कुरआनको कसम ।
2बरु यी मानिसहरूले आश्चार्य प्रकट गरे कि उनीहरूमध्येबाटै एउटा सचेत गर्नेवाला उनीहरूको पासमा आयो, तब काफिरहरूले भन्न थाले कि यो कुरा त अनौठो हो ।
3के जब हामी मरेर माटो भइहाल्छौं तब फेरि जीवित हुने कुरो ? यो त बुझ्ने कुरा होइन ।
4उनीहरूबाट (शरीरलाई) धरतीले जेजति कम गर्दै जान्छ, हामीलाई थाहा छ र हाम्रो पासमा सुरक्षित राख्ने किताब छ ।
5बरु जब उनीहरूको पासमा सत्यधर्म आइपुग्यो तब उनीहरूले उसलाई झूठा भने तसर्थ यिनीहरू एउटा जटिल कुरामा परिरहेका छन् ।
6के उनीहरूले आफूमाथि आकाशतिर हेरेनन् ? कि हामीले त्यसलाई कसरी बनाएका छौं र कसरी सुसज्जित गरेका छौं र त्यसमा कहीँ पनि चिरा (प्वाल) छैन
7र धरतीलाई हामीले बिछाइदिएका छौं र त्यसमा हामीले पहाडहरू स्थापित गर्यौं र त्यसमा हामीले किसिम–किसिमका राम्रा कुराहरू उमारेका छौं ।
8ताकि प्रवृत्त हुनेवाला भक्तहरूको लागि मार्गदर्शन र उपदेशको माध्यम बनोस् ।
9र हामीले आकाशबाट बरकतवाला पानीको वृष्टि गरायौं र त्यसबाट बाग–बगैचाहरू उमार्यौं र खेतीको अन्न उमार्यौं ।
10र अग्ला–अग्ला खजूरका रुखहरू, जसका (फलका) झुप्पाहरू पत्रमाथि पत्र परेका हुन्छन् ।
11भक्तहरूको जीविकाको लागि, र हामीले पानीबाट बाँझो भूमिलाई जीवित पार्यौं, यसै प्रकार (चिहानबाट) निष्कासन हुनेछ ।
12यसभन्दा पहिला ‘‘नूहको’’ कौम र ‘‘रस्स स्थानका बसिन्दाहरू’’ र ‘‘समूदले’’ झूठा भननिसकेका छन् ।
13र आद र फिरऔन र लूतका भाइबन्धुले पनि ।
14र ‘‘ऐकावालाहरूले’’ र तुब्बाको समूहले पनि सबैले मिथ्यारोपण गरी रसूलहरूलाई झूठा भनेका थिए । त्यसकारण यिनीमाथि मेरो सजायको वाचा सत्य भइहाल्यो ।
15के हामी पहिलो पटक सृष्टि गरेबाट थाकिसकेका छौं ? (होइन,) बरु यिनीहरू पुनः सृष्टि हुनेबारे सन्देहमा छन् ।
16र हामीले नै मानिसलाई सृष्टि गरेका हौं र जुन विचारहरू उसको मनमा आउँछन्, हामीले तिनलाई जान्दछौं । र हामी उसको रक्तबाहिनी नलीभन्दा पनि नजिक छौं ।
17जब दुई लिनेवाला (फरिश्ता) लिइरहेका हुन्छन्, एउटा दाँया र अर्को देब्रेतर्फ बसेको हुन्छ ।
18मानिसले कुनै कुरा भन्दैन तर उसको पासमा एउटा निरीक्षक तयार रहन्छ ।
19र मृत्युको बेहोशीले सत्य कुरा ल्यायो । यही कुरा हो जसबाट तिमी पन्छिराखेका थियौ ।
20र सूर (नरसिन्घा) फूँकिनेछ । सजायको वाचाको दिन यही हो ।
21र हरेक व्यक्ति यस दिशामा यसरी आउनेछ, कि उसको साथमा एउटा ल्याउनेवाला हुनेछ र एउटा गवाही दिनेवाला ।
22निःसन्देह तिमी यस कुरातिरबाट उदासीन थियौ । तर हामीले तिम्रो अगाडिबाट परदा हटाइदियौं त आज तिम्रो दृष्टि बडो तीब्र छ ।
23र उसको साथी (फरिश्ता) ले भन्नेछ यो हो (कर्मपत्र) जुन मसँग थियो ।
24प्रत्येक अटेरी काफिरलाई नर्कमा हालिदेऊ ।
25जो धर्मकामलाई रोक्नेवाला, सीमा उल्लंघन गर्नेवाला र शंकाको कुरा गर्नेवाला थियो ।
26जसले अल्लाहको साथमा अरुलाई पूज्य बनाएको थियो । तसर्थ उसलाई दुःखद यातनामा हालिदेऊ ।
27उसको साथी (शैतान) ले भन्नेछ कि, हाम्रो पालनकर्ता । मैले उसलाई मार्गविचलित गरेको थिएन, बरु यो आफै मार्गबाट टाढा भई भौतारिदै थियो ।
28अल्लाहको आदेश हुनेछ कि मेरो सामु, झगडाको कुरा नगर । हामीले तिम्रो पासमा पहिला नै यातनाको वाचा पठाइसकेका थियौं ।
29हामीकहाँ कुरा परिवर्तित हुदैन र हामीले आफ्ना भक्तहरूमाथि अलिकति पनि अत्याचार गर्दैनौं ।
30जुन दिन हामीले नर्कसित सोध्नेछौं कि के तिमी भरिहाल्यौ ? र त्यसले भन्नेछ कि केही अरु पनि छन्
31र जन्नत संयमीहरूको निकट गरिनेछ, त्यो टाढा रहनेछैन ।
32यो हो जसको तिमीलाई वचन दिइन्थ्यो हरेक प्रवृत्त हुनेवाला, र नियमबद्ध रहनेवालाहरूसित ।
33जसले अल्लाहसित अदृश्यमा डर मान्थे र जो प्रवृत्त हुनेवाला हृदय लिएर आयो ।
34तिमी यस स्वर्गमा कुशलताको साथ प्रवेश गर, यो सधैं रहने दिन हो ।
35त्यहाँ उनीहरूले जे चाहनेछन्, उनीहरूलाई प्राप्त हुनेछ । बरु हामीकहाँ अरु पनि धेरै कुरा छन् ।
36र हामीले उनीहरूभन्दा पहिला पनि कैयन् समुदायलाई नष्ट गरिसकेका छौं, जो उनीहरूभन्दा शक्तिमा धेरै बढी थिए, उनीहरू शहरमा घुम्दैरहे कि कतै भाग्ने ठाउँ छ
37यसमा प्रत्येक त्यस व्यक्तिको निम्ति शिक्षा छ जसको पासमा हृदय छ र उसको निम्ति जो हाजिर भई ध्यान लगाएर कानले सुन्दछ ।
38हामीले आकाशहरूलाई र धरतीलाई र जे जति तिनीहरूको बीचमा छ, ६ दिनमा सृष्टि गरिदियौं र हामीलाई कुनै थकाइले छुनसकेन ।
39यसर्थ जे जति यिनीहरू (कुफ्फार) भन्दछन् त्यसमा धैर्य धारण गर्नुस् र सूर्य उदयभन्दा अगाडि र त्यो अस्त हुनुभन्दा पहिला आफ्नो पालनकर्ताको प्रशंसाको साथ गुणगान गर्दैगर्नु ।
40र रातको कुनै बेला पनि उसको महिमागान गर्नु र नमाजपछि पनि ।
41र ध्यानपूर्वक सुनः जुन दिन पुकार्नेवालाले नजिकको ठाउँबाट पुकार्नेछ ।
42जुन दिन मानिसहरूले त्यो ठूलो चित्कार निश्चिततौरले सुनिहाल्नेछन् । त्यही (चिहानबाट) निस्किने दिन हुनेछ ।
43हामीले नै जीवित गर्दछौं र हामीले नै मार्दछौं र हाम्रै पासमा फर्केर आउनुछ ।
44जुन दिन जमिन (धरती) फाट्नेछ र उनीहरू झट्ट निस्किहाल्नेछन् । यो एकत्रित गर्नु हामीलाई बिल्कुल सरल छ ।
45यी मानिसहरूले जे जति भन्दछन्, हामीलाई राम्ररी थाहा छ र तपाई उनीहरूमाथि जबरजस्ती गर्नेवाला होइनौ । तसर्थ जो हाम्रो (सजायको) धम्कीबाट डर मान्छन्, कुरआनको माध्यमबाट उनीहरूलाई सम्झाउँदै गर्नुस् ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath