इस्लाम
पछाडि

37. अस-साफात

1कसम छ पंक्ति बाँध्नेवालाहरूको ।

2फेरि बलियोरूपले हप्काउनेवालाहरूको ।

3अनि कुरआन पढ्नेवालाहरूको ।

4निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ ।

5आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पुर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो ।

6हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।

7अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।

8माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् ।

9र (त्यहाँबाट) धपाइनुलाई । उनीहरूको निम्ति स्थाई यातना छ ।

10हो, कसैले (स्वर्गदूतको कुरालाई) यदि केही सुनिहाल्छ भने तुरुन्तै प्रज्वलित आगोको डल्लोले उसलाई पछ्याउँछ ।

11यी काफिरहरूसँग सोध कि के उनीहरूको सृष्टि गर्ने काम अधिक कठिन छ, वा ती अन्य कुराहरूको, जसलाई हामीले सृष्टि गरेका छौं । हामीले उनीहरूको सृष्टि (मानिसको) लेसिलो माटोले गर्यौं ।

12बरु तिमी त आश्चर्यमा छौ र उनीहरू उपहास गरिराखेका छन् ।

13र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् ।

14र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।

15र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’

16के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं

17‘‘के हामीभन्दा पहिलाका हाम्रा बाबु बाजे पनि ?’’

18तपार्इं भनिदिनुस् कि ‘‘हो ! र तिमी अपमानित पनि हुनेछौ ।’’

19त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् ।

20र भन्नेछन्ः ‘‘अफसोच छ हामीलाई । यही नै प्रतिफलको दिन हो ।’’

21यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ ।

22अत्याचार गर्नेहरूलाई र उनका साथीहरूलाई र अल्लाह बाहेक जसका उनीहरूले पूजा गर्दथे ।

23उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।

24र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।

25‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता गर्दैनौ ?’’

26बरु आज त उनीहरू सबै आज्ञाकारी बनेका छन् ।

27तिनीहरू एक–अर्कातिर फर्केर सवाल र जवाफ गर्नेछन् ।

28भन्नेछन्ः ‘‘तिमी त हाम्रो पासमा हाम्रो दायाँ तिरबाट आउँदथ्यौ ।’’

29उनीहरूले भन्नेछन्ः होइन ‘‘बरु, तिमी नै ईमानवाला थिएनौ ।

30र हाम्रो तिमीमाथि कुनै अधिकार त थिएन, बरु तिमीहरू अट्टेरी थियौ ।

31अब त हाम्रो सम्बन्धमा हाम्रो पालनकर्ताको यो कुरा पूरा भइहाल्यो कि अब हामी सजायको स्वाद चाख्नेछौं ।

32अतः हामीले तिमीलाई पनि पथभ्रष्ट गर्यौं । हामी त स्वयं पनि मार्गविचलित नै थियौं ।’’

33अतः उनी सबै त्यसदिन सजायमा एक अर्काको सहभागी हुनेछन् ।

34हामीले अपराधीहरूसित यस्तै गर्ने गर्दछौं ।

35उनीहरूको यो अवस्था थियो कि जब उनीहरूसित भनिन्थ्योः ‘‘कि अल्लाह बाहेक कोही सत्य उपास्य छैन’’ तब तिनीहरू अवज्ञा गर्दथे ।

36र भन्दथेः ‘‘के हामीले एउटा उन्मादी कविले भन्दैमा आफ्ना उपास्यहरूलाई छाडिदेऔं ?’’

37‘‘होइन, बरु नबीले सत्य (धर्म) लिएर आएका छन् र (अघिका) रसूलहरूलाई सच्चा भन्दछन् ।

38निश्चय नै तिमी दुःखद यातनाको स्वाद चाख्नेछौ ।

39तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जुन तिमीले गर्ने गर्दथ्यौ ।’’

40तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् ।

41उनीहरूको लागि अल्लाहद्वारा जीविका निर्धारित छ ।

42हर प्रकारका फलफूल र गौरव र मर्यादाले उनको आदर गरिनेछ ।

43अनुकम्पाले भरिएका जन्नतहरूमा

44पलंगहरूमा आमुन्ने–सामुन्ने विराजमान हुनेछन्

45उनीहरूको माझमा विशुद्ध पेयको पात्र घुमाइनेछ

46जुन कि सफा र पिउनेहरूको लागि सर्वथा सुस्वादक हुनेछ ।

47न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्

48र उनीहरूको पासमा अप्सराहरू हुनेछिन् जसको आँखा तल झुकेको र ठूला–ठूला हुनेछन् ।

49मानौं उनीहरू सुरक्षित अण्डाहरू हुन् ।

50अनि उनीहरूले एक–अर्कातिर मुख फर्काएर प्रश्न गर्नेछन् ।

51उनीहरूमध्येबाट एउटाले भन्नेछः कि ‘‘मेरो एउटा साथी थियो ।

52जसले भन्दथ्यो, कि के तिमी पनि (कयामतलाई) मानिलिनेवालामध्येका हौ

53के जब हामी मरेर माटो र हड्डीमा परिणत भइसक्ने छौं तब के हामीलाई प्रतिफल प्राप्त हुनेछ ?’’

54(अनि) भन्नेछः ‘‘कि के तिमी उसलाई चियाएर हेर्न चाहन्छौ ?’’

55(यसैबीच) त्यसले (स्वयम्) चियाउने छ, त उसलाई नर्कको माझमा (जलीरहेको) देख्नेछ ।

56भन्नेछः कि, ‘‘अल्लाहको कसम ! तिमीले त मलाई बरबादै पार्ने थियौ ।

57यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै हुन्थें जो नर्कमा उपस्थित गराइएका छन् ।

58के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं

59पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’

60अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो ।

61यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ ।

62के यो आतिथ्य राम्रो छ वा थूहर (सिउँडी) को वृक्ष

63हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं ।

64निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग (जरा) बाट उम्रने छ ।

65त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।

66नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् ।

67अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ ।

68अनि उनीहरूलाई नर्क (आगोको ढिस्को) तिर फर्काइनेछ ।

69निश्चित मान्नुस् उनीहरूले आफ्ना बाबु–बाजेहरूलाई मार्गविचलित नै पाए ।

70रः उनीहरू तिनीहरूकै पदचिन्हमा दगुरिराखेका छन् ।

71उनीहरूभन्दा पहिला पनि धेरै मानिसहरू मार्गविचलित भइसकेका छन् ।

72जसमा हामीले उनीहरूको माझमा सचेत गर्नेवाला (रसूल) पठाएका थियौं ।

73तसर्थ हेरिहाल कि जसलाई सचेत गरिएको थियो, उनीहरूको परिणाम कस्तो भयो

74हो, अल्लाहका विशिष्ट दासहरू बाहेक (उनको परिणाम धेरै राम्रो भयो)।

75र हामीलाई ‘‘नूहले’’ पुकारे, त हेर हामी कस्तो राम्ररी याचना स्वीकार गर्नेवाला हौं ।

76हामीले उनलाई र उनका घरवालालाई ठूलो (महान् जलप्रल्य) विपत्तिबाट बचायौं ।

77र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं ।

78र हामीले उनको सुचर्चा पछि आउनेवालाहरूमा बाँकी राख्यौं ।

79सम्पूर्ण संसारहरूमा नूहमाथि ‘‘सलाम’’ होस् ।

80निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।

81उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

82अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।

83र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।

84जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।

85जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’

86के तिमी अल्लाह बाहेक मनगढन्ते उपास्यहरू चाहिरहेका छौ

87यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका छौ

88अब उनले ताराहरूमाथि दृष्टिपात गरे ।

89र भनेः म त बिरामी छु ।’’

90यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले ।

91अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ

92तिमीलाई के भएको छ ? कि तिमी बोल्दैनौ ?’’

93अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।

94तब उनीहरू उनको पासमा दगुर्दै आए ।

95उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई तिमीले स्वयम् कुँदेर बनाउँछौ ।

96जब कि तिमीलाई र तिमीले बनाएका कुराहरूलाई अल्लाहले नै सृष्टि गरेको छ ?’’

97उनीहरूले भनेः ‘‘उसको निम्ति एउटा भवन (अग्निकुण्ड) तयार पारी त्यसलाई प्रज्वलित आगोमा हालिदेऊ’’ ।

98उनीहरूले त इब्राहीमसँग एउटा षडयन्त्र गर्न चाहे तर हामीले उनीहरूलाई नै अपमानित गर्यौं ।

99र इब्राहीमले भनेः म त प्रवास गरेर आफ्नो पालनकर्तातिर गइराखेको छु, उसले अवश्य मेरो मार्गदर्शन गर्नेछ ।

100हे मेरो पालनकर्ता ! मलाई असल सन्तान प्रदान गर ।’’

101तब हामीले उनलाई एउटा सहनशील पुत्रको शुभसूचना दियौं ।

102अनि जब त्यो बच्चा उनको साथमा दौडधूप गर्ने अवस्थामा पुग्यो तब उनले भनेः ‘‘हे मेरो प्रिय छोरा ! मैले सपनामा देखेको छु कि तिमीलाई कुर्बान (बलि) गरिराखेको छु । त अब हेर, तिम्रो के विचार छ ? ‘‘छोराले भन्यो किः हे बुबा ! जुन आदेश तपाईलाईं दिइराखिएको छ त्यसको पालना गरिहाल्नुस् । अल्लाहले चाह्यो भने तपार्इंले मलाई धैर्यवान् पाउनुहुनेछ ।

103अर्थात जब दुवैले आदेश मानिहाले, र बाबुले छोरालाई कन्चटतिर पारेर पल्टाए ।

104तब हामीले उनलाई पुकार्यौं कि, ‘‘हे इब्राहीम

105निश्चय नै तिमीले सपनालाई साँचो गरेर देखायौ । निःसन्देह हामीले उत्तम कार्य गर्नेहरूलाई यस्तै प्रकारले प्रतिफल दिन्छौं ।’’

106वास्तवमा यो त एउटा स्पष्ट परीक्षा थियो ।

107र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानीको लागि एउटा ठूलो (पशु) दियौं ।

108र हामीले पछि आउने नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं

109‘‘इब्राहीममाथि सलाम होस् ।’’

110असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं ।

111निश्चय नै उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

112र हामीले उनलाई ‘‘इस्हाकको’’ नबी हुने शुभसूचना पनि दियौं, जो असल मानिसहरूमध्ये हुनेछन् ।

113र हामीले उनलाई र ‘‘इस्हाकलाई’’ बरकत (कल्याण) दियौं र ती दुवैका सन्तानहरूमा कतिपय त असल काम गर्नेहरू पनि छन्, र कतिपय आफूमाथि खुल्लारूपले अत्याचार गर्नेवालाहरू पनि छन् ।

114निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं ।

115र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं ।

116र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।

117र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं ।

118र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं ।

119र हामीले उनी दुवैको लागि पछि आउनेवाला नस्लहरूमा राम्रो चर्चा बाँकी राख्यौं ।

120‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् ।

121निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं ।

122निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

123र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।

124जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ

125के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ

126अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो ।

127तर उनीहरूले उनलाई झूठा भने अतः उनीहरू अवश्य नर्कमा उपस्थित गराइनेछन् ।

128हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।

129हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं ।

130कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।

131हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।

132निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।

133र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।

134हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।

135तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।

136अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं ।

137र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।

138र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ

139र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।

140जब भागेर भरिएको डुङ्गामा आइपुगे ।

141अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।

142अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए ।

143अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।

144त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा रहन्थे ।

145अन्ततः हामीले उनलाई जब कि उनी बिरामी थिए, खुल्ला मैदानमा हालिदियौं ।

146र उनीमाथि हामीले छायाँ गर्ने एउटा बोट उमार्यौं ।

147र हामीले उनलाई एक लाख वा त्यसभन्दा पनि धेरै मानिसहरूतिर (पैगम्बर बनाएर) पठायौं ।

148अनि उनीहरूले ईमान ल्याए र हामीले उनीहरूलाई एक अवधिसम्म सुख भोग्ने अवसर प्रदान गर्यौं ।

149उनीहरूसित सोधः ‘‘के तिम्रो पालनकर्ताका छोरीहरू र यिनीहरूका छोराहरू छन्

150वा हामीले फरिश्ताहरूलाई स्त्री बनाउँदा उनीहरू (त्यसबेला) उपस्थित थिए ?’’

151सावधान रह, यिनीहरू आफूले झूठा रचेको (कुरा) मात्र भन्दछन् ।

152कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन् ।

153के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ

154तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ

155के तिमीले यति पनि बुझ्दैनौ

156वा तिम्रो पासमा उसको कुनै प्रमाण छ

157यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर ।

158र उनीहरूले त अल्लाह र जिन्नहरूको बीचमा पनि नाता स्थापित गरेका छन्, हुन त जिन्नहरूलाई राम्ररी थाहा छ कि यस्तो कुरामा विश्वास गर्नेहरू अवश्य समातिएर (यातनामा) उपस्थित गराइनेछन् ।

159उनीहरूले जेजति अल्लाहको बारेमा वर्णन गर्छन, अल्लाह त्यसबाट पूर्णरूपले पवित्र र उच्च छ ।

160तर अल्लाहले विशिष्ट सेवकहरूलाई (यातनामा पार्नेछैन) ।

161विश्वास गर तिमी र जसलाई तिमी पूज्दछौ ।

162(अल्लाहको विरोधमा) कसैलाई विचलित गराउन सक्दैनन् ।

163तिनीहरू बाहेक जो नर्कमा जानेवाला (नर्कीय) छन् ।

164र (फरिश्ताहरू भन्दछन् कि) हामीमध्ये प्रत्येकको एक स्थान निश्चित छ ।

165र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं ।

166र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं ।

167काफिरहरूले भन्ने गर्दथे

168कि ‘‘यदि हाम्रो समक्ष पहिलेका मानिसहरूको वर्णन भएको भए ।

169त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’

170तर फेरि यस कुरआनसँग कुफ्र गर्न पुगे, तसर्थ अब शीघ्र नै उनीहरूलाई (परिणाम) थाहा भइहाल्नेछ ।

171र हाम्रो (सन्देश पुर्याउने) रसूलहरूसित हाम्रो वायदा (वचन) पहिला नै भइसकेको छ ।

172कि निश्चय नै उनीहरूको सहायता गरिनेछ ।

173र निश्चय नै हाम्रो सेना नै प्रभावि रहनेछन्

174अतः एक अवधिसम्म तपाई उनीहरूसित विमुख रहनु

175र उनीहरूलाई हेरिराख्नुस् । र यिनीहरूले पनि शीघ्र नै (कुफ्रको परिणाम) देखिहाल्नेछन् ।

176के उनीहरू हाम्रो यातनाको निम्ति हतार गरिराखेका छन् ।

177तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय सुनाइएको थियो, उनीहरूको निम्ति नराम्रो दिन हुनेछ ।

178एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् ।

179र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् ।

180पवित्र छ तपाईको पालनकर्ता जो धेरै सम्मानित र मुक्त छ ती कुराहरूबाट जुन यिनीहरूले वर्णन गर्दछन् ।

181पैगम्बरहरू माथि सलाम छ ।

182र सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो सम्पूर्ण जगतको पालनकर्ता हो ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath