35. फातिर
1सम्पूर्ण प्रशंसाहरू अल्लाहकै लागि छन्, जो आकाशहरू र धरतीको स्रष्टा हो । (र) दुई–दुई, तीन–तीन, चार–चार पखेटा भएको फरिश्ताहरूलाई सन्देशवाहक बनाउनेवाला हो । उसले (आफ्नो) सृष्टिमा जस्तो चाहन्छ, अभिवृद्धि गर्दछ । निश्चय नै अल्लाहलाई हरेक कुराको सामथ्र्य छ ।
2अल्लाहले आफ्नो दया मानिसहरूको लागि खोलिदिन्छ भने त्यसलाई बन्द गर्नेवाला कोही छैन् र यदि बन्द गरिदिन्छ भने ऊ पश्चात त्यसलाई कोही खोल्नेवाला छैन । ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
3हे मानिसहरू ! तिमीमाथि जुन अनुकम्पा अल्लाहले गरेको छ, त्यसलाई स्मरण गर । के अल्लाह बाहेक कोही अरु स्रष्टा छ, जसले तिमीलाई आकाश र धरतीबाट जीविका प्रदान गर्दछ ? उस बाहेक कोही पूज्य छैन । त्यसो भए तिमी कता मार्गविचलित भइराखेका छौ
4र यदि उनीहरूले तपाईंलाई झूठो भन्छन् भने तपाईंभन्दा अगाडि पनि कैयन् रसूलहरूलाई झूठा भनिएको थियो । र (सबै) काम अल्लाहतिर नै फर्काइनेछ ।
5हे मानिसहरू ! अल्लाहको वचन सत्य छ । अतः सांसारिक जीवनले तिमीलाई धोकामा नपारोस् र न त्यस धोकेबाज शैतानले अल्लाहको विषयमा तिमीलाई धोकामा पारोस् ।
6यादराख शैतान तिम्रो शत्रु हो । तिमीले उसलाई शत्रु नै ठान । त्यसले त आफ्नो गिरोहलाई केवल यसकारणले बोलाइराखेको छ कि उनीहरू नर्कको आगोमा शम्मिलित हुनेछन् ।
7ती मानिसहरू जसले कि इन्कार गरे उनीहरूको निम्ति कठोर सजाय छ । किन्तु जसले ईमान ल्याए र असल कर्म गरे उनीहरूको निम्ति क्षमा र ठूलो प्रतिफल छ ।
8अनि के त्यो व्यक्ति जसको लागि उसको नराम्रो कर्म आकर्षक बनाइएको छ र जसलाई उसले राम्रो देखदैछ ? निश्चय नै अल्लाह जसलाई चाहन्छ, मार्गबाट वञ्चित राख्दछ र जसलाई चाहन्छ सोझो बाटो देखाउँछ ! तसर्थ उनीहरूको निम्ति अफसोच गर्दा–गर्दै तपाईं प्राण जोखिममा नपार्नुस् । अल्लाहले राम्रोसँग जान्दछ, जे उनीहरूले गरिराखेका छन् ।
9र अल्लाहले नै हावाहरू चलाउँछ र तिनले बादलहरूलाई उचाल्छन्, अनि हामीले त्यसलाई कुनै शुष्क भू–भागतिर लग्छौं, र त्यसबाट हामीले मृत धरतीलाई जीवित गरिदिन्छौं । यसै प्रकार मानिसहरूलाई पनि दोहर्याएर जीवित भई उठ्नु पर्नेछ ।
10यदि कसैले सम्मान चाहन्छ भने सम्पूर्ण सम्मान अल्लाहकै लागि हो । उसैतिर सबै राम्रा पवित्र वचनहरू पुग्दछन् र असल कर्मले उनलाई माथि उठाउँछ । र जुन मानिसहरूले नराम्रा षडयन्त्र रच्दछन्, उनीहरूको निम्ति कठोर यातना छ र उनीहरूको यो षडयन्त्र मेटिएर जानेछ ।
11मानिसहरू हो ! अल्लाहले तिमीलाई माटोबाट अनि वीर्यबाट सृष्टि गर्यो, अनि तिमीलाई जोडा–जोडा (लोग्ने–स्वास्नी) बनायो । स्त्री गर्भवती हुनु र बच्चा जन्मनु सबै उसको जानकारीमा हुन्छ । र जुन बढी आयु कसैले प्राप्त गर्दछ र जे–जति कसैको आयुमा कमी हुन्छ, यो सबै किताबमा लेखिएको हुन्छ । यो सबै अल्लाहको निम्ति सरल छ ।
12र दुई सागर एकै जस्तो हुँदैनन्, एउटा (को पानी) मिठो स्वादिलो छ, तिर्खा मिटाउँछ पिउनमा रुचिकर छ र अर्का (को पानी) नुनिलो छ, बेस्वाद र तिमीले प्रत्येकबाट ताजा मासु खान्छौ र आभूषण निकाल्दछौ, जुन तिमीले पहिरन्छौ । र तिमीले हेर्दछौ कि ठूल–ठूला डुङ्गाहरूले पानीलाई चिर्दै गइराखेका छन्, ताकि (यसबाट) तिमीले उसको उदार अनुग्रह खोज, र तिमी उसप्रति आभरी बन ।
13उसले रातलाई दिनमा प्रविष्ट गराउँदछ र दिनलाई रातमा प्रविष्ट गराउँदछ । र उसले सूर्य र चन्द्रलाई काममा लगाइराखेको छ । प्रत्येक कुरो एक निर्धारित समयमा चलिराखेको छ । यही अल्लाह तिम्रो सबैको पालनकर्ता हो । उसैको सत्ता छ, उसबाहेक तिमीले जसलाई पुकार्दछौ, उनीहरू त खजूरको गेडोको बोक्रा बराबर पनि (कुनै कुराको) मालिक छैनन् ।
14यदि तिमी उनीहरूलाई पुकार्दछौ भने उनीहरू तिम्रो पुकार सुन्ने छैनन् । र यदि (मानिलिउँ) सुनि पनि हालेछन् भने तिम्रो कुरालाई स्वीकार गर्न सक्ने छैनन् र कियामतको दिन उनीहरूले तिम्रो यस शिर्क ठहराउने कुरोबाट इन्कार गर्नेछन्, र तपाईंलाई कसैले अल्लाह झैं खबरहरू दिनेछैन ।
15हे मानिसहरू! तिमी अल्लाहको मुखापेक्षी (भिखारी) हौ र अल्लाह त निष्पृह, र सर्वगुणवान छ ।
16यदि उसले चाहने हो भने तिमीलाई मेटाउन सक्छ र एउटा नयाँ सृष्टि बनाउन सक्छ ।
17र यो कुरा अल्लाहको निम्ति केही कठिन छैन ।
18कुनै भारी बोक्नेले अर्काको भारी बोक्ने छैन । र यदि कोही भारीले थिचिएको व्यक्तिले आफ्नो भारी बोक्न अरुलाई बोलाउने छ भने त्यसबाट उसले केही पनि उठाउने छैन, यद्यपि त्यो निकटकै सम्बन्धि नै किन नहोस् । तपाईंले त ती मानिसहरूलाई मात्र सावधान गर्न सक्नु हुन्छ, जो नदेखिकन् पनि आफ्नो पालनकर्तासित डराउँछन् र नियमित नमाज पढ्दै गर्छन् र जो व्यक्ति पवित्र बन्दछ त्यो आफ्नो निम्ति नै पवित्र हुनेछ । र अल्लाहतिर नै फर्केर जानुपर्ने छ ।
19र अन्धो र आँखा देखने (मानिस) समान छैनन् ।
20र नत अँध्यारो र उज्यालो
21र न छायाँ र घाम
22र जीवित र मृत बराबर हुनसक्दैनन् । अल्लाहले जसलाई चाहन्छ, सुनाइदिन्छ र तपाईंले उनीहरूलाई जो चिहानहरूमा छन्, सुनाउन सक्नुहुन्न ।
23तपाईं त मात्र सचेतकर्ता हौ ।
24हामीले नै तपाईंलाई सत्यको साथ शुभसूचना सुनाउनेवाला र डर देखाउनेवाला बनाएर पठाएका छौं, र कुनै समुदाय यस्तो भएन जसमा कुनै डराउनेवाला भएको नहोस् ।
25र यदि उनीहरूले तपाईंलाई झूठा भन्छन् भने जो उनीभन्दा पहिला थिए उनीहरूले पनि झूठा भनिसकेका छन् । उनीहरूको रसूलले पनि उनको पासमा स्पष्ट प्रमाण, चमत्कार र अल्लाहको किताब लिएर आएका थिए ।
26अनि मैले इन्कारीहरूलाई समातिहालें, तसर्थ मेरो सजाय कस्तो रह्यो ।
27के तपाईंले यसलाई देख्नु भएन कि अल्लाहले आकाशबाट पानी बर्सायो अनि त्यसबाट हामीले अनेक रङ्गका फलहरू उत्पन्न गर्यौं र पहाडहरूको पनि अनेक भाग छन् सेता र राता विभिन्न रङ्गका धर्काहरू पाइन्छन् र (कोही) धेरै कालो पनि ।
28र यस्तै मानिसहरू, जनावरहरू र चौपायाहरूमा पनि कैयन् प्रकारका रङ्गहरू छन् । र अल्लाहसित उसका तिनै सेवकहरू डर मान्छन् जो ज्ञानी छन् । निश्चय नै अल्लाह अधिपत्यशाली, क्षमाशील छ ।
29जुन मानिसहरूले अल्लाहको किताब पढ्दछन् र नमाज नटुटाइकन पढ्छन् र जेजति हामीले उनीहरूलाई प्रदान गरेका छौं, त्यसबाट प्रत्यक्ष र परोक्षरूपले खर्च गर्दछन्, तिनीहरू त्यस्तो व्यापारको उम्मेदवार छन् जुन कि कहिल्यै घाटामा हुनेछैन ।
30किनभने (अल्लाह) उनीहरूलाई पूरा–पूर प्रतिफल दिनेछ र आफ्नो उदार अनुग्रहले केही बढी पनि दिनेछ । निःसन्देह ऊ धेरै क्षमाशील र गुणग्राही छ ।
31र यो किताब जुन हामीले तपार्इंतिर वह्यको रूपमा पठाएका छौं, यो बिल्कुल सत्य छ जसले यसभन्दा पहिलाका किताबहरूको पनि पुष्टि गर्दछ, अल्लाह आफ्ना सेवकहरूको सबै कुरासित अवगत र सबै देख्नेवाला छ ।
32अनि हामीले ती मानिसहरूलाई यस किताबको उत्तराधिकारी बनायौं, जसलाई आफ्ना सेवकहरूमध्ये रोज्यौं । उनीहरूमध्ये केही त आफैंले आफूमाथि अत्याचार गर्दछन् र उनीहरूमध्ये केही मध्यम श्रेणीका छन् र अल्लाहको आदेशले तिनीहरूमध्ये केही असल कर्ममा वृद्धि गर्दै गइरहन्छन् । यही नै ठूलो उपकार हो ।
33(ती मानिसहरूको निम्ति) सधैं रहने बगैंचाहरू (छन्), जसमा उनीहरू प्रवेश गर्नेछन् । त्यहाँ उनीहरूलाई सुनका कङ्गनहरू र मोतीको आभूषण पहिराइनेछ । र त्यहाँ उनीहरूको बस्त्र रेशमको हुनेछ ।
34र उनीहरूले भन्नेछन्ः ‘‘अल्लाहको धेरै–धेरै कृपा छ जसले हामीबाट दुःख (चिन्ता) हटाइदियो । निश्चय नै हाम्रो पालनकर्ता अत्यन्तै क्षमाशील, बडो गुणग्राही छ ।
35जसले हामीलाई आफ्नो कृपाले सधैं बस्ने घरमा उतारेको छ । यहाँ नत हामीलाई कुनै कष्ट हुनेछ र न हामीलाई थकाइ नै लाग्नेछ ।’’
36र जुन मानिसहरूले कुफ्र गरे, उनीहरूको लागि नर्कको आगो छ, नत उनीहरूलाई मृत्यु आउनेछ कि मरिहालुन् र न उनको सजाय नै उनीहरूबाट हल्का गरिनेछ । हामीले हरेक काफिरलाई यस्तै सजाय दिने गर्दछौं ।
37र उनीहरू त्यसमा कराउनेछन् कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीहरूलाई (यहाँबाट) निकालिहाल ! (अब) हामीले असल कर्म गर्नेछौं, नकि त्यो जुन अघि गर्ने गर्दथ्यौं’’ । (अल्लाहले भन्नेछ) के ‘‘हामीले तिमीलाई यति उमेर दिएका थिएनौं कि त्यसमा जे सोच्न चाहन्थ्यौ सोचिहाल्थ्यौ, र तिम्रो पासमा सचेतकर्ता पनि आयो । तसर्थ अब स्वाद चाखिराख यस्ता अत्याचारीहरूको कोही मद्दतगार (सहायक) छैन ।’’
38निःसन्देह अल्लाह आकाशहरू र धरतीमा लुकेका अदृश्य कुरा जान्नेवाला छ । उसले त हृदयभित्रको कुरासम्म पनि जान्दछ ।
39उही हो जसले तिमीलाई धरतीमा आबाद गर्यो । अब जोसुकैले इन्कार गर्नेछ, उसको इन्कारको नोक्सानी उसैलाई नै हुनेछ । इन्कार गर्नेवालाहरूको इन्कार उनीहरूको पालनकर्ताको प्रकोप नै बढाउँदछ, र इन्कार गर्नेवालाहरूको लागि इन्कार घाटामा नै अझै वृद्धिको कारण बन्दछ ।
40तपाईंले भन्नुस् कि तिमीले आफूले ठहराएका साझेदारहरूको अवस्था बताऊ, जसलाई तिमीले अल्लाहलाई छोडेर पूज्ने गर्दथ्यौ ?’’ मलाई देखाऊ कि उनीहरूले धरतीको कुनचाहिँ भाग सृष्टि गरेका छन् वा आकाशहरूमा उनीहरूको कुनै भागिदारी छ ?’’ वा हामीले उनीहरूलाई कुनै किताब प्रदान गर्यौं कि, उसको स्पष्ट प्रमाण उनीहरूको पक्षमा होस् ? (होइन) बरु ती अत्याचारीहरू आपसमा एक अर्कासित मात्र धोकाको कुराहरूका वाचा गरिराखेका छन् ।
41यो निश्चित छ कि अल्लाहले नै आकाशहरू र धरतीलाई थामिराखेको छ कि उनीहरू नहटुन्, यदि (आफ्नो ठाउँबाट) उनीहरू हटे भने अल्लाह बाहेक कोही पनि उनीहरूलाई थाम्न सक्दैन । ऊ बडो सहनशील क्षमा गर्नेवाला छ ।
42र यिनीहरूले (काफिरहरूले) अल्लाहसमक्ष ठूलो–ठूलो शपथ खान्छन् कि यदि उनको पासमा कोही सचेतकर्ता आउँछ भने यिनीहरू हरेक समुदायभन्दा बढी सोझो मार्गमा हुनेछन्, तर जब उनको पासमा सचेतकर्ता आयो तब उससित उनीहरूको घृणा नै बढ्यो ।
43संसारमा आफूलाई ठूलो ठान्नुको कारण र उनको खराब कार्यबाट ती नराम्रो कर्मको हानि ती काम गर्नेहरूमाथि नै पर्छ । त के यिनीहरू त्यसैको प्रतीक्षा गरिराखेका छन् ? जुन पहिलाका मानिसहरूसँग हुने गरेको थियो । तसर्थ तिमीले अल्लाहको कानूनमा कदापि कुनै परिवर्तन पाउने छैनौ र न तिमी अल्लाहको कानूनलाई कहिल्यै परिवर्तित भइराखेको पाउनेछौ ।
44के उनीहरूले धरतीमा घुमफिर गर्दैनन् । जसबाट देखुन् कि उनीहरूको परिणाम के भयो ? जो यिनीभन्दा पहिला थिए र यिनीहरूभन्दा शक्तिमा धेरै बढी थिए । र अल्लाह यस्तो छैन कि आकाशहरूमा र धरतीमा कुनै कुराले उसलाई हराइदेओस् । ऊ ठूलो सर्वज्ञ, सामथ्र्यवान छ ।
45र यदि अल्लाहले मानिसहरूलाई उनीहरूको आचरणको कारण समात्न थालेको भए धरतीको कुनै जीवधारीलाई पनि छोडने थिएन । तर अल्लाहले उनीहरूलाई एक निश्चित समयसम्म अवसर दिएको छ । अनि जब उनीहरूको निर्धारित समय आइपुग्नेछ त निश्चय नै अल्लाह आफ्ना सेवकहरूलाई हेरिसक्ने छ ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath