इस्लाम
पछाडि

31. लुक्मान

1अलिफ–लाम–मीम् ।

2यो तत्वज्ञानले परिपूर्ण किताबका आयतहरू हुन् ।

3जो राम्रो काम गर्नेहरूको (उपकारीहरूको) निम्ति मार्गदर्शन र कृपा हो ।

4जसले नमाजको आयोजन गर्छन् र जकात दिन्छन् र आखिरत (अन्तिमदिन) माथि आस्था राख्दछन् ।

5यिनै हुन् जो आफ्नो पालनकर्ताको तर्फबाट सत्यमार्गमा छन् र तिनै सफल हुनेछन् ।

6र कोही यस्ता पनि छन्, जसले कपोलकल्पित कुराहरू किन्दछन्, ताकि मानिसहरूलाई अज्ञानताको साथ अल्लाहको मार्गबाट विचलित गरुन् र त्यसको उपहास गरुन । यी नै हुन् जसका निम्ति अपमानजनक यातना छ ।

7जब उसको सामु हाम्रा आयतहरूलाई सुनाइन्छ तब घमण्डले यसरी मुख फर्काइहाल्छ, जस्तोकि सुनेकै छैन, मानौ उनका कानहरूमा बिर्काे लागेका छन्, तसर्थ उसलाई तपाईंले दुःखद यातनाको सूचना सुनाइदिनुस् ।

8निःसन्देह जसले ईमान ल्याए र असल कामहरू गरिरहे, उनीहरूको निम्ति उपहारयुक्त स्वर्गहरू छन् ।

9तिनीहरू सधैं त्यसमा बास गर्नेछन् । अल्लाहको यो सत्य वचन हो, जो अत्यन्त सम्मानित र अधिपत्यशाली र तत्वदर्शी छ ।

10उसैले आकाशहरूलाई स्तम्भ बिना सृष्टि गर्यो जस्तो तिमीले देख्दछौ, र उसले धरतीमा पहाड स्थापित गरिदियो, ताकि यसले तिमीलाई नहल्लाइदेओस्, र त्यसमा हरेक प्रकारका जनावरहरू फैलाइदियो, र हामीले आकाशबाट पानी बर्षाएर पृथ्वीमा हरेक किसिमका सुन्दर जोडाहरू उत्पादन गर्यौं ।

11यो हो अल्लाहको सृष्टि । अब तिमीहरूले मलाई अल्लाह बाहेक अरु (पूज्यहरू) को कुनै सृष्टि देखाऊ । (त्यस्तो केही छैन) सत्य त यो छ कि यी अत्याचारीहरू स्पष्टरूपले मार्गविचलित छन् ।

12र निश्चय नै हामीले लुकमान (अलैहिस्सलाम) लाई कौशल प्रदान गरेका थियौं, कि तिमीले अल्लाहप्रति कृतज्ञता दर्शाऊ, र जसले कृतज्ञता प्रकट गर्दछ, त्यो आफ्नो भलोको लागि नै गर्दछ । र जसले कृतज्ञता देखाउँदैन ऊ जानिराखोस् कि अल्लाह वास्तवमा निस्पृह र प्रशंसनीय छ ।

13र (स्मरण गर) जब लुकमानले आफ्नो छोरालाई उपदेश गर्दै भनेः कि मेरो प्यारो छोरा ! अल्लाहको साथमा कसैलाई साझेदार नठहराउनु, निश्चय नै शिर्क (बहुदेववाद) ठूलो अत्याचार हो ।

14र हामीले मानिसलाई उसको आमा–बाबुको सम्बन्धमा सचेत गरेकाछौं, कि यसको आमाले कष्टमाथि कष्ट सहेर उसलाई गर्भमा बोकी राख्छे र दुई वर्षमा उसको दूध छोडाउनु पर्नेहुन्छ ! जसबाट तिमीले मेरो र आफ्नो आमा बाबुको कृतज्ञता प्रकट गर । (किनकि) मतिरै फर्कि आउनु पर्नेछ ।

15र यदि ती दुवैले तिमीहरूमाथि यसकुराको दबाव दिन्छन्, कि तिमीले कसैलाई मेरो साथमा साझीदार ठहराऊ जसको तिमीलाई ज्ञान छैन, त उनीहरूको कुरा नमान्नु र सांसारिक कामहरूमा उनीहरूको राम्रो साथ दिनु, र जुन व्यक्ति मतिर प्रवृत्त हुन्छ, उसको मार्गमा हिंड्नु । र तिमी सबैलाई मतिर फर्कि आउनु छ । अनि जुन काम तिमी गरिराखेका हुन्छौ, म तिमीलाई सबै बताउनेछु ।

16(लुकमानले भने कि) प्यारो छोरा ! यदि कुनै कुरा रायोको दाना (गेडा) बराबर होस् र त्यो कुनै चट्टानको बीचमा होस् वा आकाशहरूमा वा धरतीमा होस्, अल्लाहले त्यसलाई उपस्थित गर्नेछ । निःसन्देह अल्लाह अत्यन्त सूक्ष्मदर्शी (र) जानकार पनि छ ।

17हे मेरो प्यारो छोरो ! तिमी नमाजको आयोजन गर, भलाईको आदेश दिनेगर नराम्रो कर्मबाट रोक र जुनसुकै दुःख पनि तिमीमाथि आइपरे त्यसमा धैर्य राख, निःसन्देह यी अनिवार्य र दृढ संकल्पका काम हुन् ।

18मानिसहरू सम्मुख मुख नफुलाऊ र धरतीमा अहंकार गरी नहिंडनु । निश्चयनै अल्लाहले कुनै अहंकारी र घमण्डीलाई रुचाउँदैन ।

19आफ्नो चालमा सहजता र सन्तुलन कायम राख र आफ्नो आवाज नरम राख ! निःसन्देह आवाजहरूमध्ये सबैभन्दा नराम्रो स्वर, गधहाहरूको स्वर हुन्छ ।

20के तिमीले देखेनौं, कि अल्लाहले, जे जति आकाशहरू र धरतीमा छन्, सबैलाई तिम्रो काममा लगाइराखेको छ र उसले तिमीमाथि आफ्नो प्रत्यक्ष र परोक्ष अनुकम्पाहरू पूरै दिइराखेको छ ? केही मानिसहरूले अल्लाहको विषयमा बिना कुनै ज्ञान, बिना कुनै मार्गदर्शन र बिना कुनै प्रकाशमान किताबको आधारमा, झगडा गर्दछन् ।

21र जब उनीहरूसित भनिन्छ, ‘‘कि त्यस कुराको अनुशरण गर जुन कि अल्लाहले वह्य मार्फत अवतरित गरेको छ’’, तब भन्छन् कि ‘‘(होइन) बरु हामीले त त्यस कुराको अनुशरण गर्नेछौं, जसमा हामीले आफ्नो बाउ–बाजेलाई पाएका छौैं ।’’ यद्यपि शैतानले उनीहरूलाई नर्कको यातनातिर बोलाउँदछ, (तैपनि)

22र जसले आज्ञाकारिताको साथ आफूलाई अल्लाहको अधीन गर्दछ र ऊ असल काम गर्ने पनि होओस् त उसले बलियो सहारा समातिहाल्यो । सम्पूर्ण कुराहरूको परिणति अल्लाहतिर नै छ ।

23काफिरहरूको इन्कारबाट तपार्इं दुःखी नहुनुस्, अन्ततः हाम्रैतर्फ उनीहरूले फर्केर आउनु छ । अनि जे जति उनीहरूले गरिराखेका छन्, हामीहरूले उनीहरूलाई अवगत गराउनेछौं । निःसन्देह अल्लाह (हृदय) छातीभित्र (लुके)को कुरार्लाइ पनि जान्दछ ।

24हामीले उनीहरूलाई त्यसै केही फाइदा गराइदिन्छौं । तर (अन्तमा) हामीले उनीहरूलाई विवश पारी एउटा कठोर यातनातिर तानेर लैजानेछौं ।

25यदि तपार्इं उनीहरूसँग सोध्नुहुन्छ कि आकाशहरू र धरतीको सृष्टिकर्ता को हो? त उनीहरूले अवश्य भनिहाल्नेछन्ः कि ‘‘अल्लाह हो’’ अनि भनिदिनुस्ः कि सबै प्रशंसा पनि अल्लाहकै निम्ति हो ! तर उनीहरूमध्ये धेरै अज्ञानी छन् ।

26जे जति आकाश र धरतीमा छ सबै अल्लाहकै हो निःसन्देह अल्लाह ठूलो निस्पृह, र प्रशंसित छ ।

27धरतीमा जति रुखहरू छन्, यदि ती सबै कलम भइहालुन् र समस्त समुद्र(का पानी) त्यसका मसी भइहालोस् त्यसपछि सात अन्य समुंद्र होउन् तै पनि अल्लाहका कुराहरू समाप्त हुनसक्ने छैनन् निःसन्देह अल्लाह अत्यन्त अधिपत्यशाली र तत्वदर्शी छ ।

28तिमी सबैको सृष्टि गर्नु र तिमी सबैलाई मृत्युपछि पुनः जीवित गर्नु त यस्तो छ, जस्तो कि एउटा जीउलाई सृष्टि गर्नु । निःसन्देह अल्लाह सबै कुरा सुन्दछ, देख्दछ ।

29के तपाईं देख्नुहुन्न कि अल्लाहले रातलाई दिनमा प्रविष्ट गर्दछ र दिनलाई रातमा प्रविष्ट गर्दछ ! र उसले सूर्य र चन्द्रलाई आज्ञाकारी बनाइराखेको छ कि प्रत्येक एक निर्धारित समयसम्म चलिराखेको छ । र तिमीले जेजति गर्दछौ, अल्लाह त्यसको पूर्ण जानकारी राख्दछ ।

30यी सबै (प्रबन्धहरू) यस कारण छन्, कि अल्लाह नै सत्य हो र उसलाई छाडेर जस जसलाई यिनीहरू पुकार्दछन्, उनीहरू असत्य छन् । र निश्चय नै अल्लाह सर्वोच्च र शानवाला छ ।

31के तिमी यसमा विचार गर्दैनौ कि समुद्रमा अल्लाहकै अनुग्रहबाट डुङ्गाहरू चल्छन्, ताकि उसले तिमीहरूलाई आफ्ना केही निशानीहरू देखाओस् । निःसन्देह यसमा प्रत्येक धैर्यवान, र कृतज्ञको निम्ति धेरै निशानीहरू छन् ।

32र जब (समुंद्रका) तरङ्गहरूले तिनीहरूलाई छायाछत्र (पाल) जस्तै छोपिहाल्छन् तब उनले विश्वासको साथ अल्लाहलाई नै पुकार्छन्, अनि जब अल्लाहले उनीहरूलाई बचाएर स्थलसम्म पुर्याइदिन्छ, तब उनीहरूमध्ये केही मानिसहरू मात्र सन्तुलित मार्गमा हिंडछन्, र हाम्रा आयतहरूको इन्कार ती व्यक्तिहरूले मात्र गर्दछन् जो विश्वासघाती, र कृतघ्न हुन्छन् ।

33हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर मान र त्यस दिनसित पनि तर्स जब कि नत बाबु आफ्नो छोराको कुनै काम आउनेछ, नत छोरा बाबुको कुनै काम आउने छ । निश्चय नै अल्लाहको वचन सत्य छ । (हेर) सांसारिक जीवनले कदापि तिमीलाई धोकामा नपारोस्, र नत अल्लाहको विषयमा धोकेबाज (शैतान)ले तिमीलाई भ्रममा पारोस् ।

34निःसन्देह कियामत (अन्तिमदिन) को ज्ञान अल्लाहलाई नै छ । र उसैले जल बृष्टि गराउँछ र उसैले गर्भाशयहरूमा भएको कुरा जान्दछ (अर्थात नर छ कि मादा) । र कुनै व्यक्तिलाई थाहा छैन कि भोली उसले के गर्नेछ । र कुनै मानिसलाई थाहा छैन कि कुन भू–भागमा उसको मृत्यु हुने छ । (यादराख)अल्लाह नै सबै जान्नेवाला, र प्रत्येक कुरोसित अवगत छ ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath