इस्लाम
पछाडि

25. अल-फुरकान

1बडो बरकतवाला छ त्यो अल्लाह जसले यो ‘‘फुर्कान’’ आफ्नो भक्तमाथि अवतरित गर्यो, ताकि संसारका मानिसहरूलाई डराउन सकोस् ।

2उही अल्लाहको सत्ता छ आकाशहरू र धर्तीमा र उसको नकुनै सन्तान छ र नत सत्तामा उसको कोही साझेदार छ । त्यसले प्रत्येक वस्तुलाई सृष्टि गर्यो, र त्यसलाई ठीक क्रममा व्यवस्थित गर्यो ।

3तिनीहरूले अल्लाह बाहेक अरुलाई पूज्य बनाएका छन्, जसले कुनै कुराको सृष्टि गर्दैनन्, बरु तिनीहरू स्वयम् सृष्टि गरिएका छन् ! उनीहरूलाई नत आफ्नो हानिको अधिकार प्राप्त छ नत लाभको । र उनीहरूलाई नत मृत्युको अधिकार प्राप्त छ नत जीवनको । र नत पुनः जीवित भई उठ्ने कुराको ।

4र काफिरहरूले भन्दछन्ः कि यो (कुरआन) त उनैले बनाएको मनगढन्त कुरा हो, र अन्य मानिसहरूले यस काममा उसको सहायता गरेका हुन् । यी मानिसहरू वास्तवमा ठूलो अत्याचार र झूठको धरातलमा झरी सकेका छन् ।

5र यो पनि भन्दछन्ः कि यो त अघिका मानिसहरूका कथाहरू हुन, जसलाई उसले लेखाइराखेको छ बस उही बिहान साँझ उनीहरू अगाडि पढेर सुनाइन्छ ।

6भनिदिनुस् त्यसलाई त उसले अवतरित गरेको छ, जो आकाशहरू र धर्तीमा लुकेका सबै कुरा जान्दछ । निःसन्देह ऊ बडो, क्षमाशिल, अत्यन्त दयावान छ ।

7र उनीहरू भन्दछन्ः कि यो कस्तो पैगम्बर हो जसले कि खाना खान्छ र बजारहरूमा हिड्डुल गर्दछ । यसको नजिक (हिदायतको निम्ति) कुनै स्वर्गदूत किन पठाइदैन कि ऊ पनि यसको साथ लागेर डराउनेवाला बन्थ्यो ।

8वा यसतिर कुनै खजाना पठाइन्थ्यो वा यसको कुनै बगैचा हुन्थ्यो जसबाट खान्थ्यो, र ती अत्याचारिहरूले भन्दछन्ः कि तिमी त यस्तो व्यक्तिको पछाडि हिँडिराखेका छौ जो जादूबाट प्रभावित छ ।

9हेर्नुस् त ! यिनीहरूले तपाईको बारेमा कस्ता कस्ता कुरा गर्दछन् । तसर्थ त्यसबाट यिनीहरू आफै पथविचलित भइरहेका छन् र कुनै हालतमा सही मार्ग प्राप्त गर्न सक्तैनन् ।

10अल्लाह धेरै बरकतावाला छ, जसले यदि चाहेको भए तपाईलाई यिनीहरूले भनेको भन्दा राम्रा बगैचाहरू प्रदान गर्दथ्यो जसमुनि नहरहरू बगिराखेका हुन्छन् र तपाईको निम्ति महल पनि बनाइदिने थियो ।

11कुरो यो छ कि यिनीहरूले त कियामतलाई नै झूठो भनिराखेका छन् । र हामीले कियामतलाई झूठो भन्नेहरूको निम्ति नर्कमा आगो तयार राखेका छौं ।

12जब त्यसले (नर्कले) उनीहरूलाई टाढाबाट देख्नेछ, तब यिनीहरूले उसको भयङ्कर रिसको चित्कार सुन्नेछन् ।

13र जब यिनीहरू नर्कको कुनै साङ्गुरो ठाउँमा जंजीरमा हात पछाडि बाँधिएर फालिनेछन् तब (यिनीहरूले) त्यहाँ आफ्नो लागि मृत्युलाई पुकारने छन् ।

14(उनी सित भनिनेछ) आज एउटा मृत्युलाई मात्र न पुकार, धेरै मृत्युहरूलाई पुकार ।

15तपाई भनिदिनुस् ! कि के यो उत्तम हो वा त्योे सधैंको जन्नत (स्वर्ग), जसको आत्मसंयमिहरूसित वाचा गरिएको छ । जो उनीहरूको (कर्मको) प्रतिफल हो र उनीहरूले बस्ने स्थान हुनेछ ।

16(त्यहाँ) तिनीहरू जे चाहन्छन्, उनीहरूको निम्ति त्यो उपलब्ध हुनेछ, सधैं त्यसमा बास गर्नेछन् । यो तिम्रो पालनकर्ताको जिम्मा यस्तो वचन हो जुन प्रार्थनीय छ ।

17र जुन दिन अल्लाहले यिनीहरूलाई र अल्लाह बाहेक यिनीहरूले जसको पूजा गर्दछन्, एकत्रित गरेर सोध्नेछ, कि के तिमीले मेरा यी सृष्टिहरूलाई विचलित गरेका थियौ वा यिनीहरू स्वयम् मार्गविचलित भएका थिए

18उनीहरूले जवाफ दिनेछन्ः कि पवित्र छौ तिमी, हामीलाई यो कुरा उचित थिएन कि तिमीलाई छाडी अरु कसैलाई पक्षधर (स्रष्टा) बनाऔं, कुरो यो छ कि तिमीले नै उनीहरूलाई र उनीहरूका बाबु बाजेलाई अत्यधिक सुख सामग्री प्रदान गर्यौ यहाँसम्म कि उनीहरूले तिम्रो उपदेशलाई बिर्सिदिए र यिनीहरू नष्ट हुनेहरू नै थिए ।

19(काफिरहरू !) उनीहरूले त तिमीलाई तिम्रो सबै कुरामा झुठ्लाएका थिए । अब न तिमीमा यातनामा परिवर्तन गर्ने शक्ति छ र नकुनै सहायता नै पाउन सक्तछौ । र तिमीहरूमध्ये जस–जसले पनि अत्याचार गरेका छन् तिनलाई हामीले ठूलो यातनाको स्वाद चखाउँनेछौं ।

20हामीले तपाईभन्दा पहिला जति पैगम्बरहरू पठाएका छौं, सबै खाना खानथे र बजारहरूमा हिंड्डुल गर्दथे र हामीले तिमीहरूमध्ये हरेकलाई एक अर्काको निम्ति परीक्षाको माध्यम बनायौं । के तिमीले धैर्य गर्दछौ ? तिम्रो पालनकर्ताले सबै (कुरा) देख्दछ ।

21र जुन मानिसहरूले हामीसित भेट्ने आशा राख्दैनन्, भन्दछन् कि हाम्रो निम्ति फरिश्ताहरू (स्वर्गदूत) किन उतारिएनन्? वा हामी आफ्नो पालनकर्तालाई (किन) आफ्नो आँखाले दैख्दैनौं ? यिनीहरूले आफैलाई ठूलो अहंकारी सम्झेका छन् र ठूलो विद्रोह गरिराखेका छन् ।

22जुन दिन तिनीहरू फरिश्ताहरूलाई देख्नेछन् त्यो दिन अपराधीहरूको निम्ति कुनै खुशीको कुरा हुनेछैन र उनीहरू पुकार्ने छन् हामी बंचित नै वंचित भएका छौं ।

23र उनीहरूले जे–जे कर्म गरेका थिए त्यसतर्फ ध्यानाकर्षण भएमा हामीले तिनलाई व्यर्थ बनाइदिनेछौं ।

24हो त्यस दिन जन्नतमा बस्नेहरूको बासस्थान राम्रो हुनेछ र आराम गर्ने ठाउँ पनि राम्रो हुनेछ ।

25र जुन दिन आकाश बादलको साथ फाट्ने (च्यात्ने) छ र फरिश्ताहरू निरन्तर अवतरित गराइनेछन् ।

26त्यस दिन वास्तविक राज्य अल्लाहको हुनेछ । र इन्कार गर्नेहरूलाई त्यो दिन धेरै कठिन हुनेछ ।

27त्यस दिन अत्याचारीले आफ्नो हात टोक्नेछ र भन्नेछः कि म रसूलको मार्गमा हिंडेको भए कति राम्रो हुने थियो ।

28अफशोच ! मैले अमुक व्यक्तिलाई मित्र नबनाएको भए राम्रो हुने थियो ।

29त्यसले त मलाई त्यसपछि विचलित पारिदियो जबकि निर्देशन मेरो पासमा आइसकेको थियो । र शैतानले त समय आएपछि मनुष्यलाई धोखा दिने नै हो ।

30र पैगम्बरले भन्ने छन् कि हे मेरो पालनकर्ता निःसन्देह मेरो जातिबन्धुले यस कुरआनलाई त्यागिराखेका थिए ।

31र यसैप्रकार हामीले प्रत्येक नबी (संदेष्टा) को निम्ति अपराधीहरूमध्येबाट शत्रु बनायौं । र मार्गदर्शन तथा सहायताको निम्ति त तिम्रो पालनहार नै पर्याप्त छ ।

32र जुन मानिसहरूले इन्कार गरे, उनीहरूको भनाई छ, कि उसमाथि सम्पूर्ण कुरआन एकैपटक किन अवतरित गरिएन ? यसकारण हामीले (अलि–अलि उतार्यौं) ताकि यसद्वारा तिम्रो हृदयलाई दृढ राखौं र हामीले यसलाई रुकी–रुकी नै पढेर सुनाएका हौं ।

33र यिनीहरूले तपाई सामु जुन उदाहरण ल्याउँने छन्, हामीले त्यसको सही र धेरै राम्रो जवाफ तपाईलाई बताइदिनेछौं ।

34जुन मानिसहरू घोप्टो पारी नर्कतिर एकत्रित गरिनेछन्, उनीहरू नराम्रो बासस्थानवाला र पूरै विचलित बाटोवाला हुनेछन् ।

35र निःसन्देह हामीले मूसालाई किताब प्रदान गर्यौं र उनका सहयात्री भाइ हारूनलाई (मन्त्री) सहायक बनायौं ।

36र भन्यौं कि तिमी दुवै ती मानिसहरूतिर जाऊ, जसले हाम्रो आयतहरूलाई असत्य भनिरहेका छन् । फेरि हामीले उनीहरूलाई पूरै नष्ट गरिहाल्यौं ।

37र ‘‘नूहको’’ जातिबन्धुले पनि जब पैगम्बरहरूलाई झूठा भने, तब हामीले उनलाई डुबाइदियौं र उनीहरूलाइ मानिसहरूको निम्ति शिक्षा लिने निशानी बनाइदियौं र अत्याचारीहरूको निम्ति हामीले दुःखद् यातना तयार गरिसकेका छौं ।

38र ‘‘आद’’ र ‘‘समूद’’ का जातिबन्धुहरू र इनारवालाहरू र उनीहरूको बीचमा भएका धेरै समूहहरूलाई पनि नष्ट गरिहाल्यौं ।

39र सबैलाई (सम्झाउनको) निम्ति हामीले उदाहरण बयान गर्यौं र फेरिः प्रत्येकलाई हामीले नष्ट गरिदियौं ।

40यिनीहरूले त्यस बस्तीको नजिकबाट पनि अवागमन गरिराखेका छन्, जसमाथि नराम्रो वृष्टि गराइएको थियो, तत्पश्चात पनि के उनीहरूले त्यसलाई देखिराखेका छैनन्,? (होइन) बरु वास्तविकता यो हो कि उनीहरू दोस्रो पटक जीवित भई उठ्ने आशा नै गरिराखेका छैनन्

41र यिनीहरूले जब तपाईलाई देख्छन्, (त्यतिखेर) तपाईको उपहास गर्दछन्, कि के यही त्यो मानिस हो, जसलाई अल्लाहले पैगम्बर (संदेष्टा) बनाएर पठाएको छ

42यसले त हामीलाई हाम्रा पूज्यहरूबाट विमुख नै पारिदिने थियो, यदि हामी उनीहरूमा दृढ नभएको भए र तिनीहरूले जब यातना देख्नेछन् तब शीघ्र नै उनीहरूलाई थाहा भइहाल्ने छ, कि मार्गबाट को पूरै विचलित भएको थियो ।

43के तपाईले त्यस व्यक्तिलाई पनि देख्नुभयो, जसले आफ्नो इच्छापूर्तिलाई नै आफ्नो पूज्य बनाइरहेको छ, त के तपाई त्यसको जिम्मेदार बन्नु हुनेछ

44के तपाईले यही सोच्नु्हुन्छ कि उनीहरूमध्ये धेरैले सुन्दछन्, र बुझ्दछन् ? उनीहरू त एकदम चौपायाहरू जस्तै छन्, बरु तिनीहरूभन्दा पनि धेरै पथभ्रष्ट ।

45के तपाईले देख्नु भएन कि तपाईको पालनहारले छाँयालाई कसरी लम्ब्याएर फिजाइदिनु भएकोछ र यदि त्यसले चाहेको भए (छाँयालाई) स्थिर राख्न सक्दथ्यो । अनि सूर्यलाई त्यसमाथि प्रमाण बनाइदियौं ।

46अनि हामीले त्यसलाई बिस्तारै–बिस्तारै आफ्नोतर्फ तानिहाल्यौं ।

47र उही त हो, जसले रातलाई तिम्रो निम्ति पर्दा (वस्त्र) र निद्रालाई सर्वथा विश्राम बनायो र दिनलाई व्युंझि उठ्ने समय बनायो ।

48र उहि त हो, जसले आफ्नो दयालुताको वर्षा अगाडि हावाहरूलाई खुशीयालीको सूचना दिन पठाउँछ र हामीले आकाशबाट पवित्र पानीको वृष्टि गर्दछौं ।

49ताकि यसबाट मृत शहरलाई जीवित गरौं, र त्यसलाई धेरै जसो चौपायाहरू र मानिसहरूलाई जसलाई हामीले सृष्टि गरेकाछौं पिलाऔं ।

50र निःसंदेह हामीले यस (कुरआन) लाई विभिन्न तरिकाले मानिसहरूमा वर्णन गर्यौं ताकि उनीहरू ध्यान दिउन् । तर धेरै जसो मानिसहरूले कृतध्न भएर त्यसलाई मानेनन् ।

51र यदि हामीले चाहेको भए हरेक बस्तीमा एक–एक डराउनेवाला पठाइदिन्थ्यौं ।

52तसर्थ तपाई इन्कार गर्नेहरूको भनाई नमान्नुस् र यस (कुरआन) द्वारा उनीहरूसित पूरै शक्तिको साथ ठूलो जिहाद गर्नुस् ।

53र उहि त हो, जसले दुई सागरलाई मिलाइराखेको छ, एउटा मीठो छ, तिर्खा मेटाउनेवाला र अर्को नुनिलो छ छाति पोल्नेवाला, र दुवैको बीचमा एउटा पर्दा र बलियो अवरोध बनाइदियो ।

54र उही त हो, जसले पानीबाट मनुष्यको सृष्टि गर्यो । अनि उसलाई वंशानुगत सम्बन्धहरू र ससुराली नातावाला बनायो । र निःसन्देह तिम्रो पालनहार बडो सामथ्र्यवान छ ।

55यिनीहरू अल्लाहलाई छाडि यस्तोको पूजा गर्दछन्, कि जसले उनलाई नत फाइदा पुर्याउन सक्छ नत नोक्सान, र काफिरहरू त छदैछन् आफ्नो पालनकर्ताको विरोधी र अरुको (शैतानको) मदद गर्नेवाला ।

56र हामीले त तपाईलाई एउटा शुभसूचना दिनेवाला र सचेतकर्ता बनाएर पठाएका छौं ।

57भनिदिनुस् कि म यस कुरआन पुर्याउने कामको निम्ति तिमीसित कुनै पारिश्रमिक माग्दिन । (यस बाहेक कि) जसले चाहन्छ आफ्नो पालनकर्तातिर जाने मार्ग अपनाइहालोस् ।

58त्यस (अल्लाह)माथि भरोसा गर जो अमर छ र उसको पवित्रताको गुणगान गर र ऊ आफ्ना दासहरूका पापहरूको पूर्ण जानकारी राख्दछ ।

59उसैले आकाशहरू र धरतीलाई र जे जति उनीहरूको बीचमा छ ६ दिनमा सृष्टि गर्यो, अनि सिंहासन (अर्श) माथि उच्च भयो, ऊ बडो दयावान छ, तसर्थ उसको बारेमा कुनै जानकारसँग सोध ।

60जब यिनीसित भनिन्छः कि अल्लाह–रहमानलाई ढोग तब उनीहरू भन्छन्ः कि रहमान भनेको के हो ? के जसको बारेमा तपाई भन्नुहुन्छ, उसैलाई हामीले ढोगौं ? र यस आमन्त्रणले उनको घृणालाई अझ बृद्धि गरिदिन्छ ।

61त्यो बडो कल्याणकारी छ, जसले आकाशमा बुर्ज (नक्षत्र) बनायो र त्यसमा एउटा सूर्य र एउटा टल्किराखेको चन्द्र बनायो ।

62र उसैले रात र दिनलाई एक अर्काको पछि लागिरहनेवाला बनायो, त्यस व्यक्तिको उपदेशको लागि जो चेतना चाहन्छ वा कृतज्ञ हुन चाहन्छ ।

63अल्लाहका प्रिय दासहरू ती हुन् जो धरतीमा नम्रतापूर्वक हिंड्छन् र जब अज्ञानीहरू उनीहरूको सम्मुख अज्ञानतापूर्ण कुरा गर्दछन् त उनीहरूले सलाम होस् भन्दछन् ।

64र जो आफ्नो पालनकर्ताको अगाडि ढोग्दै र उभिनेगरी रातहरू व्यतीत गर्दछन् ।

65र जसले यो प्रार्थना गर्दछन्ः कि हे हाम्रो पालनकर्ता ! नर्कको यातनालाई हामीबाट टाढा गरिदेऊ । निश्चय नै उसको यातना धेरै दुःखदायी छ ।

66र निश्चय नै त्यो बस्ने दृष्टिकोणले नराम्रो छ र स्थानको दृष्टिकोणले पनि ।

67र जसले खर्चगर्दा न अपव्यय गर्दछन् र नत कन्जूस्याई बरु उनीहरू यी दुवैको बीचमा रही संतुलित खर्च गर्दछन् ।

68र जसले अल्लाहको साथमा कुनै अर्को पूज्यलाई पुकार्दैनन् र नाहक कुनै जीवलाई जसको हत्यालाई अल्लाहले वर्जित गरेको छ, मार्दैनन् । र न उनीहरू व्यभिचार गर्दछन् । र जसले यो काम गर्नेछ, गम्भीर पापको दण्डमा पर्नेछ ।

69कियामतको दिन उसलाई दुईगुणा यातना हुनेछ र ऊ अपमानित भई सधैं त्यसमा रहनेछ ।

70तर ती मानिसहरू बाहेक जसले तौबा (प्रायश्चित) गरे र विश्वास गरे र असल कर्म गरे, त यस्ता मानिसहरूको पापहरूलाई अल्लाह सत्कर्महरूमा परिणत गरिदिनेछ र अल्लाह त अत्यन्त क्षमाशिल दयावान छ ।

71र जसले तौबा गर्यो र असल कर्म गर्यो त निःसन्देह त्यो अल्लाहतिर नै प्रवृत हुन्छ ।

72र जो झूठो साक्षी दिदैनन् र जब कुनै व्यर्थका कुराहरूको समीप आउँछन्, त सज्जनता पूर्वक गइहाल्छन् ।

73र जब उनीहरूलाई पालनकर्ताका आयतहरू सुनाइन्छ त ती (आयतहरू) माथि उनीहरूले अन्धा र बहिरा जस्तो हुँदैनन् ।

74र विन्ति गर्दछन् कि हे पालनकर्ता ! हामीलाई हाम्रा आफ्ना पत्नीहरूबाट र सन्तानहरूबाट आँखाको शीतलता प्रदान गर र हामीलाई आत्मसंयमीहरूको नायक बनाइदेऊ ।

75यिनीहरू नै हुन कि जसलाई उनीहरूको धैर्यको प्रति दानस्वरूप (स्वर्गमा) अग्ला–अग्ला महल प्रदान गरिनेछ र त्यहाँ (स्वर्गदूत) उनीहरूलाई दुआ र सलामको साथ स्वागत गर्नेछन् ।

76त्यसमा तिनीहरू सधैं रहनेछन् र त्यो बासको निम्ति साह्रै राम्रो र उत्तम ठाउँ हो ।

77भनिदिनुस् कि यदि तिम्रो प्रार्थना (पुकार) नभएको भए मेरो पालनकर्ताले तिम्रो कुनै वास्ता गर्ने थिएन । तिमीले त झूठो भनिसकेका छौ तसर्थ त्यसको यातना अवश्य नै तिमीसँग (आई) टाँसिनेछ ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath