ईसाई धर्म
पछाडि

सपन्याह 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1ए लाज नभएको राष्ट्र, एकसाथ जम्मा होओ! आफूलाई एकसाथ भेला गराओ!

2जारी गरिएको उर्दी जारी हुनुभन्दा अगि, र त्यो दिन हावाले उडाएको भुसझैँ बितेर जानुभन्दा अगि, याहवेहको भयङ्कर क्रोध तिमीहरूमाथि आउनुभन्दा अगि, र याहवेहको क्रोधको दिन तिमीहरूमाथि आइपर्नुभन्दा अगि नै।

3हे देशका सबै नम्रहरू हो, जसले उहाँका आज्ञाहरू पालन गर्दछौ, तिमीहरूले याहवेहको खोजी गर। धार्मिकता र नम्रताको खोजी गर; सायद याहवेहको क्रोधको दिनमा तिमीहरूले शरण पाउनेछौ।

4गाजालाई त्यागिनेछ, र अश्कलोनलाई उजाड पारिनेछ। मध्यदिनमा अश्दोदलाई खाली पारिनेछ र एक्रोनचाहिँ जरैदेखि उखेलिनेछ।

5समुद्रका छेउमा बसोबास गर्ने, हे करेतीहरू हो, तिमीहरूलाई धिक्‍कार छ; हे पलिश्तीहरूको देश, कनान, याहवेहका यी वचन तिमीहरूका विरुद्ध छ, उहाँले भन्‍नुहुन्छ, “म तँलाई नाश पार्नेछु, कोही पनि जीवित छोडिनेछैन।”

6समुद्री किनारको देशचाहिँ खर्क हुनेछ, जहाँ गोठालाहरूका निम्ति इनार हुनेछ र भेडाहरूका निम्ति गोठ हुनेछ।

7त्यो समुद्री किनारको भूमि यहूदाका बाँकी रहेकाहरूका निम्ति हुनेछ; त्यहाँ तिनीहरूले हरियो खर्क भेट्टाउनेछन्। राति तिनीहरू अश्कलोनका घरहरूमा सुत्नेछन्। याहवेह, तिनीहरूका परमेश्‍वरले तिनीहरूको हेरचाह गर्नुहुनेछ; उहाँले तिनीहरूका सुदिन फर्काएर ल्याउनुहुनेछ।

8“मैले मोआबले गरेको अपमान र अम्मोनीहरूले गरेको निन्दा सुनेको छु, जसले मेरा मानिसहरूलाई अपमान गरेका छन्, र तिनीहरूको देशको विरुद्धमा धम्की दिएका छन्।

9यसकारण म जीवित भएझैँ,” सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ, “निश्‍चय नै मोआब सदोमजस्तै र अम्मोनीहरू गमोराजस्तै हुनेछन्; सामा र नुनका खाडलैखाडल भएको ठाउँ, र सधैँका निम्ति रुखो जमिन हुनेछन्। मेरा बाँकी रहेका मानिसहरूले तिनीहरूलाई लुट्नेछन्; मेरा राष्ट्रमा जीवित रहेकाहरूले तिनीहरूको देश अधिकार गर्नेछन्।”

10तिनीहरूको घमण्ड र सेनाहरूका याहवेहका मानिसहरूलाई गरेको अपमान र खिसीको सट्टामा तिनीहरूले यही कुरा फिर्ता पाउनेछन्।

11याहवेह तिनीहरूका निम्ति डरलाग्दो हुनुहुनेछ, जब उहाँले पृथ्वीका सबै देवताहरूलाई नष्‍ट गर्नुहुन्छ। उहाँलाई टाढाका राष्ट्रहरूले आ-आफ्नो भूमिबाट दण्डवत् गर्नेछन्।

12“हे कूशका मानिसहरू हो, तिमीहरू पनि मेरो तरवारले काटिनेछौ।”

13उहाँले उत्तरको विरुद्धमा आफ्ना हात पसार्नुहुन्छ, र अश्शूरलाई नाश गर्नुहुनेछ; अनि निनवेलाई पूरै उजाड र मरुभूमिझैँ सुक्खा पारेर छोडिदिनुहुनेछ।

14त्यहाँ सबै किसिमका जीवजन्तुका बथान र बगालले आराम गर्नेछन्; मरुभूमिको उल्‍लु र कराउने उल्‍लुहरूले त्यसको रूखका प्वालहरूमा बसोबास गर्नेछन्। झ्यालहरूबाट ती उल्‍लुहरूले कराएको आवाज प्रतिध्वनित हुनेछन्; ढोकाहरू ढुङ्गाका थुप्राहरूले भरिनेछन्, र देवदारुका चौकसहरू उदाङ्गिनेछन्।

15यो त्यही घमण्डी सहर हो, जुन सुरक्षितसाथ निर्धक्‍क बस्दथ्यो। त्यसले आफूलाई भनेकी थिई, “म नै हुँ, र मबाहेक अरू कोही छैन!” अहिले त्यसको कस्तो विनाश भएको छ! त्यो जङ्गली जनावरहरूका निम्ति गुफा भएकी छ! त्यहाँबाट भएर जानेहरू सबैले त्यसलाई आफ्नो मुक्‍का देखाएर खिसी गर्नेछन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath