ईसाई धर्म
पछाडि

रूथ 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अब नाओमीका पति एलीमेलेकको वंशका एक जना हुनेखाने कुटुम्ब थिए, जसको नाम बोअज थियो।

2मोआबी रूथले नाओमीलाई भनिन्, “जसले मप्रति कृपादृष्‍टि देखाउला, त्यसको पछि शिला-बाला बटुल्न मलाई खेतमा जान दिनुहोस्।” नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी।”

3यसकारण तिनी गइन्। अनि कटनी गर्नेहरूका पछि-पछि शिला-बाला बटुल्न थालिन्। यही क्रममा तिनी बोअजको खेतमा काम गर्न पुगिन्, जो एलीमेलेकका वंशका मानिस थिए।

4त्यसै बेला बोअज बेथलेहेमबाट आइपुगे। अनि कटनी गर्नेहरूलाई अभिवादन गरे, “याहवेह तिमीहरूसित होऊन्!” तिनीहरूले जवाफ दिए, “याहवेहले तपाईंलाई आशिष् देऊन्!”

5कटनी गर्नेहरूका नाइकेलाई बोअजले सोधे, “त्यो जवान स्त्री को हो?”

6त्यस नाइकेले जवाफ दिए, “त्यो एउटी मोआबी स्त्री हो, जो नाओमीसित मोआबबाट आएकी हो।

7उसले भनी, ‘दया गरी मलाई कटनी गर्नेहरूका पछि-पछि बिटाहरूका बीचमा शिला-बाला बटुल्न दिनुहोस्।’ उसले खेतमा आएर बिहानदेखि अहिलेसम्म नबिसाई काम गरिरहेकी छे; छहारीमुनि एकछिन मात्र आराम गरेकी छे।”

8यसकारण बोअजले रूथलाई भने, “मेरी छोरी, मेरा कुरा सुन। तिमी यहाँबाट अरू कुनै पनि खेतमा शिला-बाला बटुल्न नजाऊ, र यहाँबाट कहीँ टाढा नजाऊ। मेरो खेतमा काम गर्ने केटीहरूसँग यहीँ बस।

9मानिसहरूले कहाँ-कहाँ कटनी गर्दैछन्, सो हेर; अनि केटीहरूका पछि-पछि लाग। तिमीलाई नछुनू भनी मैले सेवकहरूलाई भनेको छु। तिमीलाई तिर्खा लागेमा तिनीहरूले भरिराखेका गाग्राहरूबाट पानी पिऊ।”

10तब तिनले आफ्नो मुहार भुइँतिर झुकाएर दण्डवत् गरिन् र तिनले भनिन्, “म एउटी परदेशी भनी जानेर पनि किन तपाईंले मलाई यस्तो कृपादृष्‍टि गर्नुभयो?”

11बोअजले जवाफ दिए, “तिम्रा पतिको मृत्यु भएपछि तिमीले आफ्नी सासूका निम्ति जे गरेकी छौ, सो सबै कुरा मलाई बताइएको छ। कसरी तिमीले आफ्ना आमाबुबा र आफ्नो जन्मभूमि छोडेर आफूले पहिले कहिल्यै नचिनेका मानिसहरूसँग बस्‍नलाई आएकी छौ।

12तिमीले जे गरेकी छौ, याहवेहले तिमीलाई त्यसको प्रतिफल देऊन्। इस्राएलका परमेश्‍वर, जसको पखेटामुनि तिमी आश्रय लिन आएकी छौ, उही याहवेहले तिमीलाई प्रशस्त इनाम देऊन्।”

13तिनले भनिन्, “मैले हजुरको नजरमा कृपादृष्‍टि पाइरहूँ। यद्यपि तपाईंका सेविकाहरू जत्तिको पनि मेरो स्तर छैन; तथापि तपाईंले मसँग नम्रतासाथ बोल्नुभएर मलाई सान्त्वना दिनुभएको छ।”

14खाना खाने समयमा बोअजले तिनलाई भने, “तिमी यहाँ आऊ, र सिर्कामा केही रोटी चोपेर खाऊ।” जब तिनी कटनी गर्नेहरूसँग बसिन्, तब उनले तिनलाई केही भुटेका अन्‍न दिए। तिनले चाहेजति खाइन्, र तिनीसित केही उब्रियो पनि।

15जब तिनी शिला बटुल्नलाई उठिन्, तब बोअजले आफ्ना मानिसहरूलाई हुकुम दिए, “यदि उसले बिटाहरूका बीचमा पसेर शिला-बाला बटुली भने पनि उसलाई नरोक।

16बरु तिमीहरूले बाँधेका बिटाहरूबाट केही निकालेर उसलाई बटुल्नका लागि छोडिदेओ, तर उसलाई नहप्काओ।”

17यसैले रूथले बेलुकीसम्म शिला-बाला बटुलिन्। तिनले बटुलेका जौका बाला माँड्दा प्राय: एक एपा भयो।

18त्यसपछि तिनले त्यो बोकेर सहर फर्किन्; अनि तिनले कति धेरै बटुलेको तिनकी सासूले देखिन्। आफूले प्रशस्त खाएर उब्रेको अन्‍न पनि निकालेर रूथले तिनलाई दिइन्।

19तिनकी सासूले सोधिन्, “आज तिमीले कहाँ शिला-बाला बटुल्यौ? अनि कहाँ काम गर्‍यौ? ती मानिस धन्यका हुन्, जसले तिमीलाई वास्ता गरे!” यसकारण आफूले जसको खेतमा काम गरेकी थिइन्, तिनको विषयमा रूथले आफ्नी सासूलाई बताइन्, र भनिन्, “मैले आज काम गरेको मानिसको नाम बोअज हो।”

20नाओमीले आफ्नी बुहारीलाई भनिन्, “याहवेहले उनलाई आशिष् देऊन्! जिउँदा र मरेकाहरूमाथि याहवेहले कृपा देखाउन छोड्नुभएको छैन।” तिनले भनिन्, “ती मानिस हाम्रा नजिकैका आफन्त हुन्। तिनी हाम्रो परिवारलाई मोल तिरेर छुटाउनेहरू मध्येका एक हुन्। ”

21तब मोआबी रूथले भनिन्, “उनले मलाई यसो पनि भने, ‘कटनीको काम सबै पूरा नहुँदासम्म मेरा कामदारहरूसँग बस।’ ”

22नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, “यो तिम्रो लागि असलै हुनेछ। मेरी छोरी, उनका काम गर्ने केटीहरूसँग जानु असल हुन्छ; किनकि अरूको खेतमा जाँदा तिमीमाथि हानि आइपर्न सक्छ।”

23यसकारण गहुँ र जौको कटनी नसकुन्जेल रूथ बोअजका काम गर्ने केटीहरू सँगसँगै काम गरिन्, र तिनी आफ्नी सासूसँग नै बस्थिन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath