ईसाई धर्म
पछाडि

रोमी 9

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1ख्रीष्‍टमा म सत्य बोल्दछु; पवित्र आत्माद्वारा मेरो विवेकले पनि यही साक्षी दिँदछ, कि मैले असत्य बोलेको छैनँ।

2म अत्यन्त दुःखित छु, र मेरो हृदय निरन्तर वेदनामा छ।

3किनकि म चाहन सक्थेँ, मेरा भाइहरू, जो शरीरमा मेरा जातिका हुन्। उनीहरूका खातिर म श्रापित भई ख्रीष्‍टदेखि अलग होऊँ।

4यी सबै इस्राएलका मानिसहरू हुन्। उनीहरूले नै धर्मपुत्र हुने हक, उनीहरूले नै ईश्‍वरीय महिमा, करारहरू, व्यवस्था, मन्दिरको आराधना र प्रतिज्ञाहरू प्राप्‍त गरेका हुन्।

5पुर्खाहरू उनीहरूकै हुन्, र उनीहरूबाट नै ख्रीष्‍टको मानवीय वंश पनि आएको हो। उहाँ, जो सबैमाथि परमेश्‍वर हुनुहुन्छ। उहाँलाई नै सदासर्वदा प्रशंसा होस्! आमेन।

6परमेश्‍वरको वचन विफल भएको होइन; किनभने इस्राएलमा जन्मेका सबै सदस्यहरू साँचो रूपमा इस्राएल होइनन्।

7न त उनीहरू अब्राहामका वंशका भएका कारण अब्राहामका सन्तान हुन्। यसको विपरीत धर्मशास्त्रले भन्छ, “इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।”

8यसको अर्थ अब्राहामको शरीरबाट जन्मेकाहरू परमेश्‍वरका सन्तान होइनन्, तर प्रतिज्ञाबाट जन्मेका सन्तानचाहिँ अब्राहामका सन्तान मानिन्छ।

9किनकि प्रतिज्ञा गर्दा यसरी भनिएको थियो: “ठिक समयमा म फर्किआउनेछु र साराको एउटा छोरा हुनेछ।”

10यति मात्र होइन, त्यही समयमा रिबेकाले हाम्रा पुर्खा इसहाकद्वारा सन्तान गर्भधारण गरेकी थिइन्।

11जुम्ल्याहा छोराहरू जन्मनुभन्दा अगि तथा उनीहरूले कुनै असल वा खराब काम गर्नुभन्दा अगि नै चुनावमा परमेश्‍वरको उद्देश्य पूरा होस् भन्‍ने अभिप्रायले,

12कामद्वारा होइन, तर बोलावट गर्नेको इच्छा पूरा होस् भनेर रिबेकालाई यो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ।”

13यस्तो लेखिएको छ: “याकोबलाई मैले प्रेम गरेँ, तर एसावलाई घृणा गरेँ।”

14अब हामीले के भनौँ त? के परमेश्‍वर अन्यायी हुनुहुन्छ? कदापि होइन!

15किनकि उहाँले मोशालाई भन्‍नुहुन्छ; “जसलाई म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु, जसलाई म दया देखाउन चाहन्छु, त्यसलाई म दया देखाउनेछु।”

16यसकारण यो कुरा मान्छेको चाहना र प्रयासमा निर्भर छैन, तर परमेश्‍वरको कृपामा निर्भर छ।

17किनकि धर्मशास्त्रले फारोलाई भन्दछ: “मैले तँलाई यही उद्देश्यले खडा गरेँ, कि मेरो शक्ति तँमा देखाऊँ र सारा पृथ्वीमा मेरो नामको घोषणा गरियोस्।”

18यसकारण परमेश्‍वरले जसलाई कृपा देखाउन चाहनुहुन्छ, उसैलाई कृपा गर्नुहुन्छ; अनि जसलाई कठोर पार्न चाहनुहुन्छ, उसलाई कठोर पार्नुहुन्छ।

19कसैले मलाई प्रश्न गर्ला: “किन परमेश्‍वरले हामीलाई अझ पनि दोष लगाउनुहुन्छ? किनकि कसले उहाँको इच्छाको विरोध गर्न सक्छ?”

20तर हे मानिस, परमेश्‍वरसँग प्रश्न गर्ने तिमी को हौ? “बनाइएको वस्तुले आफूलाई बनाउनेलाई नै ‘तपाईंले मलाई किन यस्तो बनाउनुभयो?’ ” भनेर भन्छ र?

21के कुमालेलाई एउटै माटोको ढिकाबाट कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति बनाउने अधिकार हुँदैन र?

22यदि परमेश्‍वरले आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति प्रदर्शन गर्नलाई विनाशको निम्ति तयार गरिएको क्रोधको पात्रहरूलाई धैर्यतासँग सहिदिनुभयो भने के भयो त?

23उहाँले आफ्नो महिमाको धनसम्पत्ति उहाँको कृपा पात्रहरूमाथि प्रकट गर्नलाई यसो गर्नुभयो, जसलाई उहाँको महिमाका निम्ति पहिल्यै तयार पार्नुभएको थियो;

24हामीलाई पनि यहूदीहरूबाट मात्र नभई, गैरयहूदीहरूबाट पनि बोलाउनुभयो।

25होशेको पुस्तकमा परमेश्‍वर घोषणा गर्नुहुन्छ: “तिनीहरूलाई म ‘मेरो प्रजा’ भन्‍नेछु; जो मेरा प्रजा होइनन्, र उनलाई म ‘मेरो प्रिय’ भनेर डाक्नेछु, जो मेरो प्रिय थिएन।”

26अनि, “जुन ठाउँमा उनीहरूलाई यस्तो भनियो, ‘तिमीहरू मेरा प्रजा होइनौ’ त्यही ठाउँमा तिनीहरूलाई ‘जीवित परमेश्‍वरका सन्तान’ भनिनेछ।”

27इस्राएलका निम्ति यशैया रुन्छन्: “यद्यपि इस्राएलीहरूको संख्या समुद्रको किनारको बालुवासरी हुनेछ, तापनि थोरै मात्र बचाइनेछ।

28किनकि प्रभुले पृथ्वीमा आफ्नो दण्डको आज्ञा चाँडै र पूर्ण रूपले ल्याउनुहुनेछ।”

29जसरी यशैयाले पहिल्यै भविष्यवाणी गरेका थिए: “सर्वशक्तिमान् प्रभुले हाम्रा लागि सन्तान नछोड्नुभएको भए हामी सदोमझैँ हुनेथियौँ, र गमोराजस्ता बन्‍नेथियौँ।”

30अब हामीले के भनौँ त? ती गैरयहूदीहरू, जसले धार्मिकताको खोजी गरेनन्, यसलाई प्राप्‍त गर्न सकेका छन्, जुन धार्मिकता विश्‍वासले मात्र प्राप्‍त गर्न सकिन्छ;

31तर इस्राएलका मानिसहरू, जसले धार्मिकताको व्यवस्था पालन गरेर पनि यसलाई प्राप्‍त गर्न सकेनन्।

32किन नसकेको त? किनकि तिनीहरूले यसलाई विश्‍वासद्वारा होइन, तर कर्मद्वारा प्राप्‍त गर्न खोजे। उनीहरू “ठक्‍कर खाने ढुङ्गा” मा ठेस खान पुगे।

33यस्तो लेखिएको छ: “हेर, मैले सियोनमा यस्तो ढुङ्गो राखेको छु जसले मानिसहरूलाई ठेस खान लगाउँछ, अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ, तर जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath