रोमी 8
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन।
2किनकि जीवन दिनुहुने परमेश्वरको आत्माको व्यवस्थाले ख्रीष्ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ।
3किनकि पापमय स्वभावद्वारा कमजोर बनाइएको व्यवस्थाले जे गर्न सकेको थिएन, परमेश्वरले पापको क्षमादान ल्याउनुभयो; उहाँले आफ्नै पुत्रलाई पापमय शरीरको समानतामा हुन पठाउनुभयो। यसरी उहाँले आफ्नै पुत्रको शरीरमा पापलाई दोषी ठहराउनुभयो,
4ताकि शारीरिक स्वभावअनुसार होइन, तर परमेश्वरको आत्माअनुसार जिउने हामीमा, व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्।
5शारीरिक स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्।
6किनकि शारीरिक स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो।
7शारीरिक स्वभावद्वारा शासन गरिएको मन परमेश्वरको विरुद्धमा हुन्छ; त्यो परमेश्वरको व्यवस्थाको अधीनमा हुँदैन, न त हुन नै सक्छ।
8शारीरिक स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।
9यदि वास्तवमा परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शारीरिक स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा नियन्त्रित हुन्छौ। यदि कसैसँग ख्रीष्टको आत्मा छैन भने तिनीहरू ख्रीष्टका हुनै सक्दैनन्।
10तर यदि तिमीहरूसँग ख्रीष्ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको भए तापनि धार्मिकताले गर्दा आत्माले तिमीहरूलाई जीवन दिनुहुन्छ।
11अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रीष्टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ।
12यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका शारीरिक स्वभावले भनेका कुराहरू गर्न तिमीहरू बाध्य छैनौ।
13किनकि यदि तिमीहरू शारीरिक स्वभावअनुसार जिउँछौ भने तिमीहरू मर्नेछौ; तर यदि आत्माद्वारा तिमीहरूले शरीरका दुष्ट कामलाई मृत तुल्यायौ भने तिमीहरू बाँच्नेछौ।
14किनकि तिनीहरू, जो परमेश्वरका आत्माले डोर्याइएका छन्, तिनीहरू परमेश्वरका सन्तान हुन्।
15किनभने तिमीहरूलाई फेरि डरमा डोर्याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्वरलाई “अब्बा, पिता” भनी पुकार्दछौँ।
16परमेश्वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ।
17यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ। परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग सह उत्तराधिकारी पनि हौँ। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौँ भने उहाँको महिमामा पनि सहभागी हुनेछौँ।
18म विचार गर्दछु, यस वर्तमानका हाम्रा कष्टहरू हामीमा पछि प्रकट हुने महिमाको तुलनामा केही पनि होइन।
19किनकि सृष्टिले बडो उत्सुकतासाथ परमेश्वरका सन्तानहरू प्रकट हुन् भनी प्रतीक्षा गरिरहेको छ।
20किनकि सृष्टिलाई श्राप पर्यो, यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले यसलाई अधीनमा राख्नुभयो, यस आशामा,
21कि सृष्टि स्वयम् पनि विनाशको दासत्वबाट मुक्त भएर परमेश्वरका सन्तानका महिमित स्वतन्त्रता प्राप्त गर्न सकोस्।
22हामी जान्दछौँ, सारा सृष्टि अहिलेसम्म प्रसव पीडामाझैँ छटपटिरहेको छ।
23त्यति मात्र होइन, तर हामी पनि, जोसँग पवित्र आत्माको पहिलो फल छ, धर्मपुत्रका रूपमा ग्रहण गराइन हाम्रो शरीरको उद्धारको निम्ति प्रतीक्षा गर्दै उत्कट इच्छाका साथ भित्रीरूपमा छटपटिरहेका छौँ।
24यही आशामा हामीले मुक्ति पाएका छौँ। तर देखिने आशा, त्यो आशा नै होइन। जुन कुरा आफूसँग अगाडि नै छ, त्यही कुराको आशा कसले गर्दछ र?
25तर यदि हामीले जे प्राप्त गरेका छैनौँ, त्यस कुराको हामी आशा गर्छौँ भने त, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौँ।
26यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौँ, तर पवित्र आत्मा आफैँले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्बिन्ती गरिदिनुहुन्छ।
27परमेश्वर, जसले हाम्रो हृदयको खोजी गर्नुहुन्छ; उहाँले आत्माका विचार जान्नुहुन्छ; किनभने पवित्र आत्माले परमेश्वरका सन्तहरूका निम्ति परमेश्वरको इच्छाअनुसार बिन्ती गरिदिनुहुन्छ।
28हामी जान्दछौँ, परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ।
29किनकि परमेश्वरले जसलाई पहिल्यैबाट जान्नुभएको थियो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा हुन पूर्वनियुक्त गर्नुभयो, ताकि धेरै दाजुभाइ-दिदीबहिनीहरूमध्ये उहाँचाहिँ जेठो ठहरिऊन्।
30जसलाई उहाँले पूर्वनियुक्त गर्नुभयो, उनीहरूलाई बोलाउनु पनि भयो; जसलाई उहाँले बोलाउनुभयो, उनीहरूलाई धर्मी पनि ठहराउनुभयो। जसलाई उहाँले धर्मी ठहराउनुभयो, उनीहरूलाई महिमित पनि पार्नुभयो।
31अब हामी यी कुराहरूको बारेमा के भनौँ त? यदि परमेश्वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र?
32जसले आफ्ना निज पुत्रलाई त बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति मर्नका लागि दिइहाल्नुभयो। के उहाँले आफ्नो पुत्रसहित उदारतासाथ हामीलाई सबै थोकहरू दिनुहुन्न र?
33परमेश्वरले जसलाई चुन्नुभएको छ, उनीहरूलाई कसले दोष लगाउन सक्छ? परमेश्वरले मात्रै उनीहरूलाई धर्मी ठहराउनुहुन्छ।
34त्यसो हो भने दोष लगाउने को हो त? कोही छैन; ख्रीष्ट येशू, जो मर्नुभयो; त्यसभन्दा बढी उहाँ मरेकाबाट पुनर्जीवित हुनुभयो। उहाँ, जो परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। अनि हाम्रा निम्ति अन्तर्बिन्ती गरिरहनुभएको छ।
35हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःख-कष्टले, वा कठिनाइले, वा सतावटले, वा अनिकालले, वा नग्नताले, वा जोखिमले कि तरवारले?
36यस्तो लेखिएको छ: “तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ; हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।”
37होइन यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूले भन्दा पनि अझ बढी विजय पाएका छौँ।
38किनकि म निश्चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले,
39न कुनै उचाइले, न गहिराइले, न त सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath