ईसाई धर्म
पछाडि

प्रकाश 6

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1थुमाले सात वटा छापहरूमध्ये पहिलो छाप खोल्नुभएको मैले देखेँ। तब ती चार जीवित प्राणीहरूमध्ये एउटाले गर्जनझैँ आवाजमा यसो भनिरहेको सुनेँ, “आऊ!”

2अनि त्यहाँ मैले मेरो सामु एउटा सेतो घोडा देखेँ! त्यसमाथि सवारले एउटा धनु समातेको थियो, र उसलाई एउटा मुकुट दिइयो; अनि ऊ विजय गर्ने उद्देश्यले विजयीझैँ निस्क्यो।

3जब थुमाले दोस्रो छाप खोल्नुभयो, तब मैले दोस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!”

4अनि अर्को उज्ज्वल रातो घोडा आयो। उसलाई एउटा ठूलो तरवार दिइयो। त्यसको सवारलाई संसारदेखि शान्ति उठाइलैजाने र मानिसहरूले एक-अर्कालाई मारून् भन्‍ने अख्तियार दिइयो।

5जब थुमाले तेस्रो छाप खोल्नुभयो, तब मैले तेस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!” मैले हेरेँ, र मेरो सामु एउटा कालो घोडा थियो! त्यसको सवारको हातमा एउटा तराजु थियो।

6तब ती चार जीवित प्राणीहरूमध्ये एउटा आवाजले यसो भनिरहेको मैले सुनेँ, “एक दिनको ज्याला एक किलो गहुँ र एक दिनको ज्याला, तीन किलो जौ; तेल र दाखमद्यलाई हानि नगर्नू!”

7जब थुमाले चौथो छाप खोल्नुभयो, मैले चौथो जीवित प्राणीले यसो भनिरहेको सोर सुनेँ, “आऊ!”

8मैले हेरेँ, मेरो सामु एउटा हल्का हरियो रङ्गको घोडा थियो! त्यसको सवारलाई मृत्यु भन्‍ने नाम दिइएको थियो, र पातालचाहिँ त्यसको पछि-पछि लागेको थियो। तिनीहरूलाई संसारको चौथाइ भागलाई तरवारले, कालले, रूढीले र संसारका जङ्गली जन्तुहरूले मार्ने शक्ति दिइएको थियो।

9जब थुमाले पाँचौँ छाप खोल्नुभयो, तब मैले वेदीको मुनि तिनीहरूका आत्माहरूलाई देखेँ, जो परमेश्‍वरको वचनको कारण र आफ्नो साक्षी कायम राखेको कारण मारिएका थिए।

10तिनीहरूले जोडसित यसो भने, “हे सार्वभौम, पवित्र र सत्य प्रभु, तपाईंले कहिलेसम्म संसारका बासिन्दाहरूमाथि न्याय गरेर हाम्रा रगतको बदला लिनुहुन्‍न र?”

11तब ती प्रत्येकलाई पाउसम्म लामो सेतो वस्त्र दिइयो; अनि तिनीहरूका सङ्गी-सेवकहरू र दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूझैँ मारिएर संख्यामा पूरा नभएसम्म केही समय पर्खिनू भनी तिनीहरूलाई भनियो।

12थुमाले छैटौँ छाप खोल्नुभएको मैले हेरेँ। तब एउटा ठूलो भुइँचालो गयो। सूर्यचाहिँ बाख्राको रौँले बनिएको भाङ्ग्राझैँ कालो भयो; अनि सम्पूर्ण चन्द्रमा रगतजस्तो रातो भयो;

13अनि आकाशका ताराहरूचाहिँ नपाकेका अञ्जीरहरू हावाले हल्‍लाइँदा झरेझैँ पृथ्वीमा झरे।

14आकाशचाहिँ पत्रको मुठाझैँ बेह्रिएर गयो; अनि प्रत्येक पहाड र टापुचाहिँ आफ्नो ठाउँबाट हटिगए।

15तब संसारका राजाहरू, राजकुमारहरू, सेनापतिहरू, धनीहरू, पराक्रमीहरू, प्रत्येक सेवक र स्वतन्त्र व्यक्ति, ओडार, चट्टान र पहाडहुँदो लुके।

16तिनीहरूले पहाड र चट्टानहरूलाई भने, “हामीमाथि खस र हामीलाई सिंहासनमाथि बस्‍नुहुनेको अनुहारदेखि र थुमाको क्रोधदेखि लुकाइदेओ!

17किनकि उहाँहरूको क्रोधको महा दिन आइपुगेको छ, र यसको सामना कसले गर्न सक्ला र?”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath