ईसाई धर्म
पछाडि

भजनसंग्रह 78

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे मेरा मानिसहरू हो, मेरा शिक्षातिर ध्यान दिएर सुन; मेरा मुखका वचनहरूतिर ध्यान लगाओ।

2म मेरो मुख दृष्‍टान्तमा बोल्नलाई खोल्नेछु; म प्राचीनका कुराहरूबाट गुप्‍त कुराहरू भन्‍नेछु—

3हामीले ती कुराहरू सुनेका र जानेका छौँ, जुन कुरा हाम्रा पितापुर्खाहरूले हामीलाई बताएका छन्।

4हामी ती कुराहरूलाई तिनीहरूका छोराछोरीहरूबाट लुकाउनेछैनौँ; हामी आउने पुस्तालाई याहवेहका प्रशंसायोग्य कामहरू, उहाँको शक्ति र उहाँले गर्नुभएका अद्‌भुत कार्यहरूको बारेमा वर्णन गर्नेछौँ।

5उहाँले याकोबको निम्ति विधि-विधानहरू कायम गर्नुभयो, र इस्राएलमा व्यवस्था स्थापित गर्नुभयो; यी कुराहरू आफ्ना छोराछोरीहरूलाई सिकाउनु भनेर उहाँले हाम्रा पितापुर्खाहरूलाई आज्ञा दिनुभयो;

6ताकि यी कुराहरू आउँदा पुस्ताले जानून्, यी कुराहरू नजन्मेका शिशुहरूले पनि जानून्, र यी कुराहरू तिनीहरूले पनि आफ्ना छोराछोरीहरूलाई भनून्।

7तब तिनीहरूले परमेश्‍वरमा आफ्ना भरोसा राख्नेछन्, र उहाँका कामहरू तिनीहरूले बिर्सने छैनन्; तर तिनीहरूले उहाँका आज्ञाहरू पालन गर्नेछन्।

8तिनीहरू आफ्ना पितापुर्खाहरू जस्तै अटेरी र विद्रोही पुस्ता हुनेछैनन्; तिनीहरूका हृदय परमेश्‍वरप्रति वफादार थिएनन्, तिनीहरूका आत्मा परमेश्‍वरप्रति विश्‍वासयोग्य थिएनन्।

9एफ्राइमका मानिसहरू धनुकाँडले सुसज्जित भए तापनि लडाइँको दिनमा तिनीहरू पिठिउँ फर्काएर पछि भागे;

10तिनीहरूले परमेश्‍वरका करार पालन गरेनन्, र उहाँका व्यवस्थाअनुसार चल्न अस्वीकार गरे।

11परमेश्‍वरले गर्नुभएका कामहरू, उहाँले तिनीहरूलाई देखाउनुभएको अद्‌भुत कार्यहरू, तिनीहरूले बिर्से।

12उहाँले तिनीहरूका पितापुर्खाहरूका अगि, इजिप्ट देश र सोअनको मैदानमा अचम्मका कामहरू गर्नुभयो।

13उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र यसबाट तिनीहरूलाई पारि डोर्‍याउनुभयो; उहाँले पानीलाई पर्खालझैँ खडा गर्नुभयो।

14उहाँले तिनीहरूलाई दिनमा बादलले र रातभरि आगोको उज्यालोले अगुवाइ गर्नुभयो।

15उहाँले मरुभूमिमा चट्टानलाई दुई भाग पार्नुभयो, र सागरको पानीजस्तै गरी प्रशस्त पानी तिनीहरूलाई दिनुभयो;

16उहाँले चट्टाने भिरबाट पानीका धारा निकाल्नुभयो, र पानीलाई बेँसीतिर नदीजस्तै बगाउनुभयो।

17तर सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा मरुभूमिमा विद्रोही भएर, तिनीहरू उहाँको विरुद्धमा निरन्तर पापमा लागिरहे।

18तिनीहरूले असाध्यै खानेकुराको माग गरेर जानी-जानी परमेश्‍वरको परीक्षा गरे।

19तिनीहरूले यसो भन्दै परमेश्‍वरको निन्दा गरे: “के परमेश्‍वरले हाम्रो निम्ति मरुभूमिमा भोजनको टेबुल तयार गर्न सक्नुहुन्छ र?

20हेर! उहाँले चट्टानलाई हिर्काउनुभयो, र पानी फुटेर निस्क्यो, पानीका धारा प्रशस्त गरी बगेर निस्क्यो; तर के उहाँले हामीलाई खानेकुरा पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ र?”

21जब याहवेहले तिनीहरूका कुरा सुन्‍नुभयो, उहाँ धेरै रिसाउनुभयो; याकोबको विरुद्धमा उहाँको आगो दन्क्यो, र उहाँको क्रोध इस्राएलका विरुद्धमा दन्क्यो;

22किनकि तिनीहरूले परमेश्‍वरमाथि विश्‍वास गरेनन्, न त उहाँको छुटकारामा नै भरोसा राखे।

23तापनि उहाँले माथि आकाशलाई हुकुम गर्नुभयो, र स्वर्गका ढोकाहरू खोलिदिनुभयो;

24उहाँले मानिसहरूका निम्ति खानलाई मन्‍न बर्साउनुभयो, उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो।

25मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए; परमेश्‍वरले तिनीहरूलाई प्रशस्त खानेकुरा पठाइदिनुभयो।

26उहाँले आकाशमा पूर्वीय बतास बहाउनुभयो; र उहाँको शक्तिद्वारा दक्षिणी बतासलाई चलाउनुभयो।

27उहाँले धुलोको कणसरह तिनीहरूका निम्ति मासु बर्साउनुभयो; उड्ने पक्षीहरूलाई समुद्री किनारका बालुवासरह बर्साइदिनुभयो।

28उहाँले ती पक्षीहरूलाई तिनीहरूका छाउनीभित्र, तिनीहरूका पालको वरिपरि झार्नुभयो।

29तिनीहरूले नघाउन्जेल खाए— उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेअनुसार दिनुभयो।

30तर तिनीहरूको भोक मेटिनु अगि नै, तिनीहरूले खाएका खाना तिनीहरूका मुखमा छँदै,

31परमेश्‍वरको क्रोध तिनीहरूको विरुद्ध दन्क्यो; तिनीहरूमध्येका बलियाहरूलाई उहाँले मार्नुभयो, इस्राएलका जवान मानिसहरूलाई ढालिदिनुभयो।

32यी सबै कुराहरू हुँदा पनि तिनीहरूले पाप गरी नै रहे; र उहाँका अद्‌भुत कार्यहरू देखेर पनि तिनीहरूले विश्‍वास गरेनन्।

33यसकारण उहाँले तिनीहरूका दिनहरू व्यर्थतामा र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा अन्त्य गरिदिनुभयो।

34जब परमेश्‍वरले तिनीहरूमध्ये कतिलाई मार्नुभयो; तब तिनीहरूले उहाँको खोजी गर्दै, फेरि पश्‍चात्ताप गर्दै उहाँतिर फर्के।

35परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्छ र सर्वोच्‍च परमेश्‍वर तिनीहरूका उद्धारक हुनुहुँदोरहेछ भन्‍ने कुरा तिनीहरूले सम्झे।

36तर त्यसपछि तिनीहरूका मुखले उहाँको चापलुसी गरे, र तिनीहरूका जिब्रोले उहाँसित झूटो बोले;

37तिनीहरूका हृदय उहाँतर्फ वफादार थिएनन्, न त उहाँका करारप्रति तिनीहरू विश्‍वासयोग्य नै थिए।

38तापनि तिनीहरूप्रति उहाँ दयालु हुनुभयो; उहाँले तिनीहरूका अपराधहरू क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्‍ट पार्नुभएन। पटक-पटक उहाँले आफ्नो रिस नियन्त्रण गर्नुभयो र आफ्नो पूरा क्रोध पोख्नुभएन।

39उहाँले मानिसहरू देह मात्र हुन् भनी सम्झिनुभयो, जो हावाजस्तो बहन्छन् र फर्किआउँदैनन्।

40तिनीहरूले कत्ति चोटि मरुभूमिमा परमेश्‍वरको विरुद्धमा विद्रोह गरे, र उहाँलाई उजाडस्थानमा दुःखित तुल्याए!

41तिनीहरूले घरी-घरी परमेश्‍वरलाई परीक्षा गरे; र इस्राएलका पवित्र परमेश्‍वरलाई उक्साए।

42तिनीहरूले उहाँको शक्तिको स्मरण गरेनन्— जुन दिन उहाँले तिनीहरूलाई मोल तिरेर अत्याचारीबाट छुटकारा दिनुभएको थियो,

43जब उहाँले इजिप्टमा आफ्नो अलौकिक चिन्हहरू, र सोअनको मैदानमा अद्‌भुत कार्यहरू देखाउनुभयो।

44उहाँले तिनीहरूका नदीलाई रगतमा परिवर्तन गरिदिनुभयो; तिनीहरूले खोलाहरूका पानीबाट पिउन सकेनन्।

45उहाँले तिनीहरूलाई नाश पार्नलाई झिँगाका हुलहरू पठाउनुभयो, र तिनीहरूलाई उजाड पार्नलाई भ्यागुताहरू पठाउनुभयो।

46उहाँले तिनीहरूका अन्‍नबालीहरू फट्याङ्ग्राहरूलाई, र तिनीहरूका खेतका उब्जनी सलहलाई दिनुभयो।

47उहाँले तिनीहरूका अङ्‌गुरका बोटहरू असिनाले र अञ्जीरका बोटहरू तुसारोले नष्‍ट पारिदिनुभयो।

48उहाँले तिनीहरूका गाईबस्तुहरूलाई असिनाले, र भेडाबाख्राहरूलाई चट्याङले प्रहार गर्नुभयो।

49उहाँले तिनीहरूका विरुद्ध आफ्नो प्रचण्ड रिस, क्रोध, आक्रोश र शत्रुता— विनाशकारी दूतहरूको एक दल पठाउनुभयो।

50उहाँले आफ्नो क्रोधका लागि बाटो तयार पार्नुभयो; उहाँले तिनीहरूका प्राणलाई मृत्युबाट बचाउनुभएन, तर तिनीहरूका प्राण महामारीलाई सुम्पनुभयो।

51उहाँले इजिप्टका सबै ज्येष्‍ठ सन्तानलाई, हामका पालहरूमा पुरुषत्वको रूपमा रहेका पहिलो फललाई मास्‍नुभयो।

52तर उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूका बथानलाई जस्तै निकालेर ल्याउनुभयो; उहाँले तिनीहरूलाई मरुभूमिमा भेडालाई जस्तै अगुवाइ गर्नुभयो।

53उहाँले तिनीहरूलाई सुरक्षित डोर्‍याउनुभयो यसैले तिनीहरू डराएनन्; तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्यो।

54यसरी परमेश्‍वरले तिनीहरूलाई आफ्नो पवित्र देशको सिमानामा ल्याउनुभयो, जुन पर्वत उहाँले आफ्नो दाहिने हातले जित्नुभएको थियो।

55उहाँले जाति-जातिहरूलाई तिनीहरूकै सामु लखेट्नुभयो, र उनीहरूका जमिन पैतृक सम्पत्तिझैँ इस्राएलीहरूलाई बाँडिदिनुभयो; र इस्राएलीहरूका कुललाई उनीहरूका घरमा बसाल्नुभयो।

56तर तिनीहरूले परमेश्‍वरको परीक्षा गरे र सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा विद्रोही भए; तिनीहरूले उहाँका विधि-विधानहरू पालन गरेनन्।

57तिनीहरूका पितापुर्खाहरू जस्तै बेइमान र विश्‍वासघाती, भर पर्न नसकिने बाङ्गो धनुजस्तै भए।

58तिनीहरूका देवस्थानहरूद्वारा उहाँलाई क्रोधित तुल्याए; तिनीहरूका मूर्तिहरूका कारण उहाँलाई डाही तुल्याए।

59जब परमेश्‍वरले तिनीहरूको सोर सुन्‍नुभयो, उहाँ अत्यन्तै रिसाउनुभयो; उहाँले इस्राएलीहरूलाई पूर्ण रूपमा इन्कार गर्नुभयो।

60उहाँले शीलोमा भएको पवित्रस्थानलाई त्याग्नुभयो, जुन पाल मानिसहरूका बीचमा उहाँले राख्नुभएको थियो।

61उहाँको शक्तिको सन्दुक निर्वासनमा पठाइदिनुभयो, उहाँको महिमालाई शत्रुहरूका हातमा जान दिनुभयो।

62उहाँले आफ्ना मानिसहरूलाई तरवारले काटिन सुम्पिदिनुभयो; आफ्ना उत्तराधिकारसँग अत्यन्तै रिसाउनुभयो।

63आगोले तिनीहरूका जवान पुरुषहरू भस्म पारिए, र उनीहरूका कन्याहरूका निम्ति वैवाहिक गीत गाइएन;

64तिनीहरूका पुजारीहरू तरवारले मारिए, र तिनीहरूका विधवाहरूले विलाप गर्न पाएनन्।

65तब प्रभु निद्राबाट बिउँझिएझैँ जाग्नुभयो; र मद्यले मातेका लडाकुझैँ उहाँ बिउँझनुभयो।

66उहाँले आफ्ना शत्रुहरूलाई बदला लिनुभयो; उहाँले तिनीहरूलाई अनन्तको निम्ति लाजमा पार्नुभयो।

67तब उहाँले योसेफका पालहरूलाई त्याग्नुभयो, उहाँले एफ्राइमको वंशलाई छान्‍नुभएन;

68तर यहूदाका कुललाई छान्‍नुभयो, सियोन पर्वत, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो।

69यही ठाउँमा उहाँले आफ्नो पवित्रस्थान उच्‍च स्थानहरूझैँ बनाउनुभयो। उहाँले पृथ्वीलाईझैँ त्यस ठाउँलाई सदाको लागि स्थापित गर्नुभएको छ।

70उहाँले दावीदलाई आफ्नो सेवक चुन्‍नुभयो, र तिनलाई भेडीगोठबाट उठाउनुभयो;

71उहाँले भेडा गोठालोबाट, दावीदलाई याकोबका मानिसहरू र आफ्नो उत्तराधिकार इस्राएलीहरूको गोठालो हुनलाई ल्याउनुभयो।

72अनि दावीदले हृदयको इमानदारीतामा तिनीहरूको हेरचाह गरे; निपुणतासाथ तिनीहरूको अगुवाइ गरे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath