ईसाई धर्म
पछाडि

भजनसंग्रह 107

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ।

2याहवेहले छुटकारा दिनुभएकाहरूले वैरीहरूका हातबाट छुटाइएकाहरूले,

3विभिन्‍न देशहरूबाट, पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट एकत्रित भएकाहरूले यसो भनून्:

4कसै-कसैले बसोबास गर्नलाई कुनै सहर भेट्टाएनन्, र मरुभूमिका उजाडस्थानतिर भौँतारिँदै हिँडे।

5तिनीहरू भोक र प्यासले दुर्बल भई प्राण जालाजस्तै भइसकेका थिए।

6तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट छुटाउनुभयो।

7उहाँले तिनीहरूलाई सीधा मार्गबाट डोर्‍याउनु भएर, तिनीहरूलाई बास बस्‍न सक्ने सहरमा पुर्‍याउनुभयो।

8उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति, तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!

9किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ, र भोकाहरूलाई असल आहाराले सन्तुष्‍ट पार्नुहुन्छ।

10कोही-कोही अन्धकार, र घोर अन्धकारमा जिइरहेका थिए, कैदीहरू फलामका साङ्लाले बाँधिएर कष्‍ट भोगिरहेका थिए,

11किनकि तिनीहरूले परमेश्‍वरका वचनको विरुद्धमा विद्रोह गरेका थिए र सर्वोच्‍च परमेश्‍वरको योजनालाई तिरस्कार गरेका थिए।

12यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रम गर्न लगाउनुभयो; तिनीहरूले ठक्‍कर खाए, तर मदत गर्नलाई कोही थिएन।

13तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट बचाउनुभयो।

14उहाँले तिनीहरूलाई अन्धकार, र घोर अन्धकारहरूबाट निकाल्नुभयो; र तिनीहरू बाँधिएका साङ्लाहरू चुँडाइदिनुभयो।

15उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्;

16किनकि उहाँले काँसोका मूलढोकाहरू भत्काइदिनुहुन्छ, र फलामका आग्लोहरू काटेर टुक्रा-टुक्रा पारिदिनुहुन्छ।

17कोही-कोही आफ्ना विद्रोही चालहरूले गर्दा मूर्ख बने, र आफ्नै अधर्मका कारण कष्‍ट भोगे।

18तिनीहरू सबै प्रकारका खानेकुराहरूदेखि वाक्‍कै भए, र मृत्युका ढोका नजिक पुगे।

19तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट बचाउनुभयो।

20उहाँले आफ्नो वचन पठाउनुभयो, र तिनीहरूलाई निको पार्नुभयो, तिनीहरूलाई चिहानबाट छुटाउनुभयो।

21उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!

22तिनीहरूले धन्यवादका बलि चढाऊन् र हर्षका गीत गाएर उहाँका कार्यको वर्णन गरून्!

23कोही-कोही जहाजहरूमा चढी सामुद्रिक यात्रामा गए; तिनीहरू महासागरका व्यापारीहरू थिए।

24तिनीहरूले याहवेहका कामहरू देखे, गहिरो सागरमा तिनीहरूले उहाँका अद्‌भुत कार्यहरू देखे।

25किनकि उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चल्यो, जसले गर्दा समुद्रका छालहरू माथिसम्म उठे।

26छालहरू आकाशसम्म नै उठे, र फेरि सागरको गहिराइहरूमा झरे; यस्तो जोखिममा तिनीहरूको साहस हराएर गयो।

27तिनीहरू मदिराले मातेको मानिसझैँ धरमरिँन्थे; तिनीहरूका सबै सिपहरू बेकार साबित भए।

28तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट छुटाउनुभयो।

29उहाँले आँधीलाई शान्त पार्नुभयो; समुद्रका छालहरू साम्य भए।

30आँधी शान्त हुँदा तिनीहरू खुशी भए; र उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेको बन्दरगाहमा पुर्‍याउनुभयो।

31उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!

32तिनीहरूले मानिसहरूको समुदायमा उहाँलाई उच्‍च पारून्, र प्रधानहरूका सभामा उहाँको प्रशंसा गरून्!

33उहाँले नदीहरूलाई मरुभूमिमा, र पानीका मूलहरूलाई सुक्खा भूमिमा परिवर्तन गर्नुभयो।

34त्यहाँका बासिन्दाहरूका दुष्‍टताको कारणले गर्दा, मलिला जमिनलाई नुनिलो मरुस्थलमा परिवर्तन गरिदिनुभयो।

35उहाँले मरुभूमिलाई तालमा र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नुभयो;

36उहाँले त्यहाँ भोकाहरूलाई बासको निम्ति ल्याउनुभयो, र तिनीहरूले बसोबास गर्न सक्ने एउटा सहर निर्माण गरे।

37तिनीहरूले खेतबारीमा बिउ छरे, र दाखबारी लगाए, अनि प्रशस्त उब्जनी कटनी गरे;

38उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूको जनसंख्या बढाउनुभयो; अनि तिनीहरूका गाईबस्तुका बथान घट्न दिनुभएन।

39त्यसपछि अत्याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको जनसंख्या घट्यो र तिनीहरू होच्याइए;

40उहाँले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ, र तिनीहरूलाई पथविहीन उजाड ठाउँहरूमा भौँतारिँदै हिँड्ने बनाउनुभयो।

41तर गरिबहरूलाई उहाँले तिनीहरूका दुःखबाट उठाउनुभयो, र तिनीहरूका परिवारहरूलाई भेडाका बगालझैँ बढाउनुभयो।

42धर्मी मानिसहरू यो देखेर हर्षित हुन्छन्, तर सबै दुष्‍टहरूचाहिँ आफ्नो मुख बन्द गर्छन्।

43जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्, र याहवेहको महान् प्रेममाथि चिन्तन गरोस्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath