ईसाई धर्म
पछाडि

भजनसंग्रह 106

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहको प्रशंसा गर! याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

2याहवेहका शक्तिशाली कार्यहरू कसले घोषणा गर्न सक्छ र? अथवा उहाँको प्रशंसा कसले सम्पूर्ण रूपले घोषणा गर्न सक्छ र?

3तिनीहरू धन्यका हुन्, जो न्यायमा चल्दछन्, जसले सधैँ उचित काम गर्दछन्।

4हे याहवेह, तपाईंका प्रजामाथि कृपादृष्‍टि गर्नुहुँदा, मेरो स्मरण गर्नुहोस्; तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्;

5ताकि तपाईंका चुनिएकाहरूको समृद्धिमा म आनन्दित हुन सकूँ, तपाईंको राष्ट्रको हर्षमा म सहभागी बन्‍न सकूँ। र तपाईंको उत्तराधिकारीहरूसँग मिलेर तपाईंलाई प्रशंसा दिन सकूँ।

6हाम्रा पितापुर्खाले झैँ, हामीले पनि पाप गरेका छौँ; हामीले अधर्म गरेका छौँ, र दुष्‍टतापूर्ण काम गरेका छौँ।

7हाम्रा पितापुर्खा इजिप्टमा हुँदा, तिनीहरूले तपाईंका अचम्मका कामहरूको वास्तै गरेनन्; तिनीहरूले तपाईंको अपार दयाको सम्झना नै गरेनन्; र लाल समुद्रको किनारमा तिनीहरूले तपाईंको विद्रोह गरे।

8तापनि आफ्नो महान् पराक्रम प्रकट होस् भनी आफ्नो नामको खातिर, उहाँले तिनीहरूलाई बचाउनुभयो।

9उहाँले लाल समुद्रलाई हकार्नुभयो, र त्यो सुकिहाल्यो; उहाँले तिनीहरूलाई समुद्रको गहिराइहरूमा सुक्खा जमिनमाथि जस्तै गरी पार गराउनुभयो।

10उहाँले तिनीहरूलाई वैरीका हातबाट बचाउनुभयो; उहाँले तिनीहरूलाई शत्रुको हातबाट उद्धार गर्नुभयो।

11तिनीहरूका विरोधीहरूलाई पानीले डुबायो; तिनीहरूमध्ये एउटै पनि बाँचेनन्।

12तब तिनीहरूले उहाँका प्रतिज्ञाहरूमाथि विश्‍वास गरे; र उहाँको प्रशंसाको गीत गाए।

13तर तिनीहरूले तुरुन्तै उहाँका कामहरू बिर्सिहाले; र तिनीहरूले उहाँको निर्देशनको प्रतीक्षा गरेनन्।

14मरुभूमिमा तिनीहरू धेरै नै खाने लालसामा परे; तिनीहरूले उजाडस्थानमा परमेश्‍वरको जाँच गरे।

15त्यसैले उहाँले तिनीहरूलाई मागेअनुसार दिनुभयो, तर तिनीहरूका बीचमा महामारी पठाउनुभयो।

16तिनीहरूले छाउनीमा मोशासित र याहवेहमा अर्पण गरिएका हारूनसँग डाह गरे।

17तब धर्ती फाटेर दातानलाई निल्यो; र अबीरामको दललाई पुरिदियो।

18तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्क्यो; ज्वालाले दुष्‍टहरूलाई भस्म पार्‍यो।

19होरेबमा तिनीहरूले एउटा बाछा बनाए; र धातुको त्यस मूर्तिलाई आराधना गरे।

20यसरी तिनीहरूले परमेश्‍वरलाई दिने आफ्ना महिमा घाँस खाने साँढेको मूर्तिसँग साटे।

21तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से, जसले इजिप्टमा महान् कामहरू गर्नुभएको थियो;

22जसले हामको देशमा अचम्मका कामहरू, र लाल समुद्रको किनारमा अद्‌भुत कार्यहरू गर्नुभएको थियो।

23यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुभयो। तर उहाँका चुनिएका जन मोशा तिनीहरूलाई नाश पार्ने उहाँको क्रोध हटाउनलाई उहाँको सामु खडा भए।

24तब तिनीहरूले त्यो आनन्दको देशलाई तुच्छ ठाने; उहाँका प्रतिज्ञामा तिनीहरूले विश्‍वास गरेनन्।

25तिनीहरूले आफ्ना पालहरूमा गनगन गरे; र याहवेहमा आज्ञाकारी भएनन्।

26यसकारण तिनीहरूलाई उजाडस्थानमा विनाश पार्छु भनी उहाँले हात उचालेर शपथ खानुभयो,

27तिनीहरूका वंशलाई जातिहरूका बीचमा छरपस्ट पार्छु, र तिनीहरूलाई देश-विदेशभरि तितरबितर पार्छु भन्‍नुभयो।

28तिनीहरूले पोर भन्‍ने ठाउँको बाल-देवताको पूजा गरे, र निर्जीव देवताहरूलाई चढाइएका बलिका थोकहरू खाए।

29तिनीहरूले आफ्ना दुष्‍ट कामहरूद्वारा याहवेहलाई क्रोधित तुल्याए; अनि तिनीहरूका बीचमा महामारी फैलियो।

30तर पीनहासले साहसका साथ हस्तक्षेप गरे; र महामारी थामियो।

31यो तिनको निम्ति अनन्त पुस्ताहरूको लागि धार्मिकताझैँ गनियो।

32मेरीबाका पानीको नजिक पनि तिनीहरूले याहवेहलाई क्रोधित तुल्याए; र तिनीहरूले गर्दा मोशामाथि सङ्कट आयो;

33किनकि तिनीहरू परमेश्‍वरका आत्माको विरुद्धमा बागी भए; र मोशाको मुखबाट अनर्थका कुराहरू निस्के।

34याहवेहले आज्ञा गर्नुभएअनुसार तिनीहरूले वरपरका जातिहरूलाई नष्‍ट गरेनन्,

35बरु तिनीहरू ती जातिहरूसित नै घुलमिल भए, र तिनीहरूका रीतिरिवाज अपनाए।

36तिनीहरूले उनीहरूका मूर्तिहरूलाई आराधना गरे, जुन तिनीहरूका निम्ति पासो बन्‍न पुगे।

37तिनीहरूले दुष्‍ट आत्माहरूका निम्ति आफ्ना छोराछोरीहरूलाई बलि चढाए।

38तिनीहरूले निर्दोषको रगत, अर्थात् आफ्नै छोराछोरीहरूको रगत बगाए, जसलाई तिनीहरूले कनान देशका मूर्तिहरूका निम्ति बलि चढाए; र तिनीहरूको रगतले धर्ती अपवित्र भयो।

39तिनीहरूका आफ्नै दुष्‍ट कामहरूले आफूलाई अशुद्ध पारे; आफ्नै कामहरूद्वारा तिनीहरू व्यभिचारी भए।

40त्यसकारण याहवेह आफ्ना मानिसहरूसित रिसाउनुभयो, र उहाँले आफ्ना उत्तराधिकारीहरूलाई अति घृणा गर्नुभयो।

41उहाँले तिनीहरूलाई अन्य राष्ट्रहरूका हातमा सुम्पिदिनुभयो; र तिनीहरूका वैरीहरूले तिनीहरूमाथि शासन गरे।

42तिनीहरूका शत्रुहरूले तिनीहरूलाई दमन गरे, र तिनीहरूलाई आफ्ना शक्तिको वशमा पारे।

43धेरै पटक उहाँले तिनीहरूलाई छुटाउनुभयो, तर तिनीहरूले विद्रोह नै गर्न रुचाए, र तिनीहरू आफ्ना पापका कारण पतन हुँदैगए।

44तापनि उहाँले तिनीहरूको पुकार सुन्‍नुभयो, र तिनीहरूका कष्‍टमा टिठ्याउनुभयो;

45तिनीहरूको खातिर उहाँले आफ्नो करार स्मरण गर्नुभयो, र आफ्नो अचुक प्रेममा दयालु हुनुभयो।

46तिनीहरूलाई कैद गर्नेहरू सबैलाई तिनीहरूप्रति दया देखाउने बनाउनुभयो।

47हे याहवेह हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस्, र जाति-जातिहरूबाट हामीलाई एकत्र गर्नुहोस्! ताकि हामी तपाईंको पवित्र नाममा धन्यवाद चढाउन सकौँ, र तपाईंको प्रशंसा गर्दै महिमा दिन सकौँ!

48याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा, अनादिदेखि अनन्तसम्मै भइरहोस्! सबै मानिसहरूले भनून् “आमेन!” याहवेहको प्रशंसा गर!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath