भजनसंग्रह 105
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर!
2उहाँको निम्ति गाओ, उहाँको प्रशंसाको गीत गाओ; उहाँका सबै अद्भुत कार्यहरूको वर्णन गर!
3उहाँको पवित्र नाममा गौरव गर; याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्!
4याहवेह र उहाँको शक्तिलाई हेर; उहाँको मुहारको निरन्तर खोजी गर!
5हे याहवेहका सेवक, हे अब्राहामका वंश हो, हे उहाँबाट चुनिएका याकोबका सन्तानहरू हो, उहाँले गर्नुभएका अद्भुत कार्यहरूका स्मरण गर, उहाँका अचम्मका कामहरू र उहाँले गर्नुभएका फैसलाको सम्झना गर!
7उहाँ नै याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ; उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ।
8परमेश्वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ, त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो,
9त्यो करार जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो, त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो।
10त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, इस्राएलसँग अनन्त करारको रूपमा पक्का गर्नुभयो:
11“म तँलाई कनान देश दिनेछु, त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।”
12जब तिनीहरू संख्यामा थोरै थिए, अति थोरै र त्यसमाथि पनि परदेशी थिए,
13तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा, एउटा राज्यबाट अर्को राज्यमा भौँतारिँदै हिँड्थे।
14उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन; तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो:
15“मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!”
16उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो, र तिनीहरूका आहाराको सम्पूर्ण स्रोत नष्ट गरिदिनुभयो;
17उहाँले योसेफ नाम गरेका पुरुषलाई, तिनीहरूको अगि पठाउनुभयो— जो दासको रूपमा बेचिएका थिए।
18तिनका खुट्टाहरूमा नेल ठोकेर तिनीहरूले घाइते पारेका थिए; तिनको घाँटीमा फलामको साङ्लाले बाँधेका थिए,
19उहाँका अगमवाणी पूरा नभएसम्म, याहवेहको वचनले तिनलाई सत्य प्रमाणित नगरेसम्म; तिनीहरूले त्यसो गरे।
20राजाले मानिस पठाएर तिनलाई छुटाए; जनताका शासकले तिनलाई मुक्त गरे।
21राजाले तिनलाई आफ्नो घरको मालिक, र आफ्ना सबै धनसम्पत्तिको शासक बनाए।
22तिनकै इच्छाअनुसार आफ्ना राजकुमारहरूलाई बुद्धि सिकाऊन्, र आफ्ना प्रधानहरूलाई ज्ञानका कुरा सिकाऊन् भनी खटाए।
23त्यसपछि इस्राएल इजिप्टमा आए; याकोब हामको देशमा प्रवासी भएर बसे।
24याहवेहले आफ्ना प्रजालाई अत्यन्त फलवन्त बनाउनुभयो; तिनीहरूका शत्रुहरूभन्दा तिनीहरूको संख्या अनगन्ती बनाउनुभयो।
25परमेश्वरले इजिप्टियनहरूका हृदयलाई उहाँका जनहरूलाई घृणा गर्ने बनाउनुभयो; ताकि आफ्ना सेवकहरूका विरुद्धमा षड्यन्त्र रचून्।
26उहाँले आफ्ना सेवक मोशालाई, र आफूले चुन्नुभएका हारूनलाई तिनीहरूकहाँ पठाउनुभयो।
27तिनीहरूका बीचमा ती दुईले उहाँका अलौकिक चिन्हहरू, हामका देशमा उहाँका अद्भुत कार्यहरू देखाए।
28उहाँले अन्धकार पठाउनुभयो र देशमा अँध्यारो भयो— किनकि तिनीहरूले उहाँको आदेशहरूको विरोध गरेका थिए।
29उहाँले तिनीहरूका पानीलाई रगतमा परिवर्तन गर्नुभयो, जसले गर्दा तिनीहरूका माछाहरू मरे।
30तिनीहरूको देश भ्यागुताहरूले भरियो, ती तिनीहरूका शासकहरूका शयनकक्षसम्मै पुगे।
31उहाँले आदेश दिनुभयो र त्यहाँ झिँगाको बथान ओइरियो, र तिनीहरूको सारा देश भुसुनाहरूले भरियो।
32उहाँले पानीको साटो असिना बर्साउनुभयो, र उनीहरूको देशभरि चट्याङ पठाउनुभयो;
33उहाँले तिनीहरूका अङ्गुर र नेभाराका रूखहरू ध्वस्त पार्नुभयो, र तिनीहरूका देशका रूखहरू ढालिदिनुभयो।
34उहाँले आज्ञा गर्नुभयो, र सलहहरू आए, असंख्य फट्याङ्ग्राहरू आए;
35तिनीहरूले त्यस देशका हरेक वनस्पति खाइदिए, तिनीहरूको भूमिको उब्जनीहरू सखाप पारिदिए।
36तब उहाँले त्यस देशका सबै पहिले जन्मेकाहरूलाई, तिनीहरूका पुरुषार्थका पहिलो फलहरूलाई नाश पार्नुभयो।
37उहाँले इस्राएललाई सुन र चाँदीले भरिपूर्ण पारि निकालेर ल्याउनुभयो; र तिनीहरूका कुलबाट कसैले पनि ठक्कर खाएनन्।
38तिनीहरू निस्केर जाँदा इजिप्ट रमायो; किनकि इस्राएलको डर तिनीहरूमाथि परेको थियो।
39उहाँले आवरणको रूपमा बादललाई फैलाउनुभयो, र रातमा उज्यालो दिनलाई आगो दिनुभयो।
40तिनीहरूले मासु खान मागे, र उहाँले तिनीहरूका निम्ति बट्टाई चराहरू दिनुभयो; स्वर्गका रोटीले तिनीहरूलाई तृप्त पार्नुभयो।
41उहाँले चट्टान फोर्नुभयो, र पानी बगेर निस्क्यो; त्यो मरुभूमिमा नदीझैँ बग्यो।
42किनकि उहाँले आफ्नो सेवक अब्राहामलाई दिनुभएको पवित्र प्रतिज्ञा स्मरण गर्नुभयो।
43उहाँले आफ्ना प्रजालाई आनन्दसाथ, र आफूले चुनेका जनहरूलाई हर्षोल्लासकासाथ गाउन लगाउँदै निकालेर ल्याउनुभयो;
44उहाँले अरू जातिहरूका भूमिहरू तिनीहरूलाई दिनुभयो; र अरूले गरेको परिश्रमको फलमा तिनीहरूले आफ्नो अधिकार गरे—
45तिनीहरूले उहाँका विधिहरू पालन गरून् र उहाँका नियमहरू मानून् भनेर नै यी सबै भए। याहवेहको प्रशंसा गर!
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath