ईसाई धर्म
पछाडि

हितोपदेश 6

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे मेरो छोराछोरी, यदि तिमी आफ्नो छिमेकीका जमानी बसेका छौ भने, वा पराईसँग वाचा बाँधेका छौ भने,

2यदि आफूले बोलेको कुरामा तिमी फसेको छौ भने, र आफ्नै मुखको वचनले पासोमा फस्यौ भने,

3हे मेरो छोराछोरी, तिमी आफ्नो छिमेकीको पन्जामा परेको हुनाले; आफूलाई मुक्त पार्न यसो गर: जाऊ र आफूलाई नम्र पार, र छिमेकीसँग खुरन्धार बिन्ती गर।

4तिम्रा आँखाहरूलाई सुत्न नदेऊ, र तिम्रा आँखाको पलकलाई निदाउन नदेऊ।

5शिकारीको हातबाट हरिण उम्केजस्तै, व्याधाको हातबाट चरा फुत्केजस्तै तिमीले आफूलाई मुक्त गर।

6ए अल्छे, कमिलाकहाँ गएर त्यसको चालढङ्ग हेर्, र बुद्धिमानी बन्!

7त्यसको कोही सेनापति हुँदैन, न त रेखदेख गर्ने शासक नै हुन्छ,

8तरै पनि त्यसले ग्रीष्म ऋतुमा अन्‍नको भण्डार तयार गर्छ, र कटनीको समयमा आफ्नो खानेकुरा जम्मा गर्छ।

9ए अल्छे, कहिलेसम्म तँ त्यहाँ ढल्किरहन्छस्? तँ आफ्नो निद्राबाट कहिले जाग्छस्?

10एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले,

11तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।

12दुष्‍ट र उपद्रवी मानिस, जो भ्रष्‍ट मुख लिएर यताउति गर्दै हिँड्छ,

13जसले आँखा झिम्काउँछ, आफ्ना खुट्टाले इसारा गर्छ; र औँलाले चलाउँछ,

14आफ्नो छली हृदयमा त्यसले दुष्‍ट कुरा रच्दछ। त्यसले सधैँ विवाद उत्पन्‍न गराउँछ।

15यसकारण विपत्ति त्यसमाथि अचानक आइलाग्नेछ; त्यो अचानक उपायविना नै नष्‍ट हुनेछ।

16यी छ वटा कुराहरू याहवेहले घृणा गर्नुहुन्छ, सात वटा कुराहरू उहाँमा तुच्छ छन्:

17अहङ्कारी आँखा, झूटो बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात,

18दुष्‍ट युक्ति रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाउहरू,

19असत्य थुपार्ने झूटो साक्षी र समुदायको बीचमा कलह उठाउने मानिस।

20हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर; र आफ्नी आमाको शिक्षालाई नत्याग।

21त्यसलाई तिम्रो हृदयमा सधैँको लागि टाँसी राख, त्यसलाई तिम्रो गलामा बाँधिराख।

22जब तिमी हिँड्छौ, त्यसले तिमीलाई अगुवाइ गर्नेछ; जब तिमी निदाउँछौ, त्यसले तिम्रो सुरक्षा गर्नेछ; जब तिमी जाग्नेछौ, त्यसले तिमीलाई सल्‍लाह दिनेछ।

23किनकि यो आज्ञा एउटा बत्ती हो, र शिक्षाचाहिँ ज्योति हो; अनि अनुशासनको सुधार जीवनका मार्ग हुन्,

24जसले तिमीलाई चरित्रहीन स्त्रीबाट, स्वेच्छाचारी पत्नीको चिप्ले कुराबाट बचाउँछ।

25तिम्रो हृदयमा त्यसको सुन्दरताको चाहना नगर; त्यसका आँखाले तिमीलाई वशमा नपारोस्।

26किनकि वेश्याले तिमीलाई रोटी समान बनाउँछे, तर अर्काकी पत्नीले झन् तिम्रो जीवनलाई नै शिकार बनाउँछे।

27के मानिसले आफ्नो काखमा आगो राख्यो भने उसको लुगा डढ्दैन र?

28के मानिस भुङ्ग्रोमाथि हिँड्यो भने त्यसका पाउहरू जल्दैन र?

29त्यसरी नै जो मानिस अर्काकी पत्नीसित सुत्छ, त्यसलाई छुने कोही पनि दण्ड नपाई उम्कनेछैन।

30भोकले मर्न लागेको चोरले आफ्नो भोक मेटाउनलाई चोरी गरेकोमा कसैले त्यसलाई तुच्छ ठान्दैन।

31तर यदि त्यो पक्राउ पर्‍यो भने त्यसले सात गुणा बढी तिर्नुपर्छ; चाहे त्यो उसको घरको सम्पूर्ण धन नै किन नहोस्।

32तर व्यभिचार गर्ने व्यक्तिसित विवेक हुँदैन; यसो गर्ने सबैले आफूलाई नष्‍ट गर्छन्।

33मुक्‍का र अपमान त्यसको भाग हुनेछ; र त्यसको अपमान कहिल्यै मेटिनेछैन।

34किनकि डाहले पतिको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्यसले बदला लिनेछ।

35त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन; त्यसले जतिसुकै ठूलो घूसलाई पनि अस्वीकार गर्नेछ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath