ईसाई धर्म
पछाडि

हितोपदेश 15

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोर वचनले रिस उठाउँछ।

2बुद्धिमान्‌को जिब्रोले ज्ञानको कुरा गर्छ; तर मूर्खको मुखले मूर्खताकै कुरा पोख्छ।

3याहवेहको नजर सर्वत्र रहन्छ; उहाँले दुष्‍ट र सज्जन दुवैमाथि नजर राखिरहनुहुन्छ।

4निको पार्ने जिब्रो जीवनको रूख हो; तर छली जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ।

5मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ; तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ।

6धर्मी जनको घरमा प्रशस्त धन हुन्छ; तर दुष्‍टको कमाइले तिनीहरूमाथि विपत्ति ल्याउँछ।

7बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछ; तर मूर्खका हृदयले भने त्यस्तो गर्दैन।

8दुष्‍टका बलिदानलाई याहवेहले घृणा गर्नुहुन्छ; तर धर्मीका प्रार्थनाले उहाँलाई प्रसन्‍न तुल्याउँछ।

9याहवेहले दुष्‍टको मार्गलाई घृणा गर्नुहुन्छ; तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ।

10आफ्नो अनुशासनको मार्ग त्याग्नेले कठोर ताडना भोग्नुपर्छ; जसले सुधारलाई घृणा गर्छ, त्यो मर्नेछ।

11मृत्यु र विनाश दुवै याहवेहको सामु खुलस्त रहन्छन्; मानिसको हृदय झन् कति खुलस्त होला!

12गिल्‍ला गर्नेले सुधारलाई मन पराउँदैन; त्यसैले तिनीहरू बुद्धिमान्‌लाई तिरस्कार गर्छन्।

13हर्षित हृदयले अनुहार प्रसन्‍न पारिदिन्छ; तर दुःखित हृदयले आत्मालाई चोट पुर्‍याउँछ।

14विवेकशील हृदयले ज्ञानको खोजी गर्छ; तर मूर्खको भोजन मूर्खता हो।

15थिचोमिचोमा परेकाहरूका सबै दिन अति दुःखमय हुन्छ; तर प्रसन्‍न हृदय सधैँ सुखी हुन्छ।

16धेरै सम्पत्ति भएर चिन्तित हुनुभन्दा याहवेहको भयको साथमा थोरै धन हुनु नै असल हो।

17घृणाले भरिएको घरमा पोसाएको बहरको मासु खानुभन्दा बरु प्रेमसित सागसब्जी खानु नै बेस हो।

18तातो रिस भएको मानिसले झगडा उत्पन्‍न गराउँछ; तर धैर्यवान् मानिसले कलह शान्त गराउँछ।

19अल्छेको मार्ग काँडाले छेकेको हुन्छ; तर धर्मीको मार्गचाहिँ राजमार्ग हो।

20बुद्धिमान् छोराछोरीले आफ्नो बुबालाई हर्षित तुल्याउँछ, तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ।

21विवेकहीन मानिसलाई मूर्खताले आनन्द दिन्छ; तर समझशक्ति भएको मानिस सीधा बाटोमा हिँड्छ।

22सल्‍लाहको अभावमा योजनाहरू असफल हुन्छन्; तर धेरै सल्‍लाहकार छन् भने ती सफल हुन्छन्।

23उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ; र ठिक समयमा भनिएको वचन कति असल हुन्छ!

24समझदार मानिसलाई जीवनको बाटोले माथितिर डोर्‍याउँछ; त्यसले उसलाई तल पातालतिर जानदेखि जोगाउँछ।

25याहवेहले अहङ्कारी मानिसको घर भताभुङ्ग पारिदिनुहुन्छ, तर उहाँले विधवाको सिमाना स्थिर राख्नुहुन्छ।

26याहवेह दुष्‍टका विचारहरूलाई घृणा गर्नुहुन्छ; तर शुद्ध वचन उहाँलाई मन पर्छ।

27लोभीले आफ्नो परिवारमा विनाश ल्याउँछ; तर जसले घूसलाई घृणा गर्छ, त्यो बाँच्नेछ।

28धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ; तर दुष्‍टको मुखले खराबी कुराहरू पोखिहाल्छ।

29याहवेह दुष्‍टदेखि टाढै रहनुहुन्छ; तर उहाँले धर्मीको प्रार्थना सुन्‍नुहुन्छ।

30हँसिलो अनुहारले हृदयमा आनन्द ल्याउँछ; र असल समाचारले हड्डीलाई हर्षित तुल्याउँछ।

31जसले जीवन दिने हप्कीलाई सुन्छ, त्यो बुद्धिमान्‌हरूका साथमा रहनेछ।

32अनुशासनको वास्ता नगर्नेले आफूलाई घृणा गर्छ; तर सुधारमा ध्यान दिनेले समझशक्ति प्राप्‍त गर्छ।

33याहवेहप्रतिको श्रद्धाले नै मानिसलाई बुद्धि सिकाउँछ; अनि सम्मान पाउनुभन्दा अगि नम्रता आउँछ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath