ईसाई धर्म
पछाडि

ओबदिया 1

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1ओबदियाले देखेको दर्शन। प्रभु याहवेहले एदोमको बारेमा यसो भन्‍नुहुन्छ— हामीले याहवेहबाट एउटा सन्देश सुनेका छौँ: एउटा राजदूतलाई राष्ट्रहरूकहाँ यसो भन्‍न पठाइएको थियो, “उठ, हामी त्यसको विरुद्धमा लडाइँ गर्नलाई जाऔँ।”

2“हेर्, म तँलाई अरू राष्ट्रहरूका बीचमा सानो तुल्याउनेछु; तँलाई ज्यादै घृणा गरिनेछ।

3तेरो हृदयको अहङ्कारले तँलाई धोका दिएको छ। तँ चट्टानका धाँदाहरूमा बास बस्छस्, र आफ्ना घर अल्गा-अल्गा स्थानहरूमा बनाउँछस्। तैँले मनमनै आफूलाई भन्छस्, ‘मलाई भुइँमा कसले झार्न सक्छ?’

4तँ चीलझैँ माथि उडेर गइस् भने पनि, र ताराहरूका बीचमा आफ्नो गुँड बनाइस् भने पनि, त्यहाँबाट म तँलाई तल झार्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

5“यदि चोरहरू तँकहाँ आए भने, यदि रातमा डाँकुहरू आए भने, ओह! तँलाई कस्तो विपत्तिले पर्खिरहेको हुन्छ— के तिनीहरूले आफूलाई चाहिए जति मात्र चोर्दैनन् र? यदि अङ्‌गुर टिप्नेहरू तँकहाँ आए भने, के तिनीहरूले सिला-अङ्‌गुरहरू छोड्दैनन् र?

6तर एसाव कसरी लुटिनेछ, त्यसका लुकाएर राखिएका गाडधनहरू कसरी लुटिनेछ!

7तेरा सबै मित्र राष्ट्रहरूले तँलाई सिमानासम्म नै खेद्नेछन्; तेरा साथीहरूले तँलाई धोका दिनेछन्, र तँलाई अधीनमा पार्नेछन्; जसले तेरो रोटी खान्छन्, उनीहरूले नै तेरो निम्ति पासो थाप्नेछन्; तर तैँले यस कुराको बारेमा थाहै पाउनेछैनस्।

8“त्यस दिन,” याहवेह घोषणा गर्नुहुन्छ, “के म एदोमका ज्ञानी मानिसहरूलाई, एसावका पर्वतहरूमा बस्‍ने समझदार मानिसहरूलाई नाश पार्नेछैनँ र?

9हे तेमान, तेरा वीर योद्धाहरू भयभीत हुनेछन्, र एसावका पर्वतहरूमा रहने सबै मानिसहरू काटेर ढालिनेछन्।

10तेरो भाइ याकोबको विरुद्धमा भएको हिंसाको कारणले गर्दा तँलाई शर्मले ढाक्नेछ; तँ सदाको निम्ति नष्‍ट पारिनेछस्।

11जुन दिन तँ टाढै उभिएर हेरिरहेको थिइस्, त्यसै बेला विदेशीहरू त्यसको ढोकाभित्र पसे; अनि विदेशीहरूले त्यसका धनसम्पत्तिहरू खोसेर लगे र यरूशलेमको निम्ति चिट्ठा हाले; त्यस दिन तँ पनि तिनीहरूमध्ये एउटाजस्तै थिइस्।

12तैँले आफ्नो भाइलाई त्यसको दुर्दशाको समयमा तुच्छ ठान्‍नु हुँदैनथ्यो; यहूदाका मानिसहरूका सर्वनाशको दिनमा रमाउनु हुँदैनथ्यो, र तिनीहरूका सङ्कष्‍टको दिनमा यति धेरै घमण्ड गर्नु हुँदैनथ्यो।

13तिनीहरूको विपत्तिको दिनमा मेरा मानिसहरूका ढोकाहरूबाट पसेर तैँले खुशी मनाउनु हुँदैनथ्यो; अनि तिनीहरूको सर्वनाशको दिनमा तिनीहरूको दुर्दशामा तिनीहरूको अवहेलना गर्नु हुँदैनथ्यो, न त तिनीहरूका सर्वनाशको दिनमा तिनीहरूको धनसम्पत्ति खोसेर लैजानुहुन्थ्यो।

14तैँले तिनीहरूका भाग्नेहरूलाई काटेर ढाल्न चौबाटोमा ढुकेर बसिरहनु हुँदैनथ्यो, न त तिनीहरूका सङ्कटको दिनमा तिनीहरूका बाँचेकाहरूलाई पक्राइदिनु नै हुन्थ्यो।

15“याहवेहको दिन सबै राष्ट्रहरूका निम्ति नजिकै आइपुगेको छ। तैँले जस्तो गरेको छस्, तँलाई पनि त्यस्तै गरिनेछ; तैँले गरेको कामको प्रतिफल तेरो आफ्नै शिरमाथि फर्केर आउनेछ।

16जसरी यहूदाका मानिसहरूले मेरो पवित्र पर्वतमा तितो कचौरा पिए, त्यसरी नै सबै राष्ट्रहरूले तितो कचौरा पिइरहनेछन्। तिनीहरूले निरन्तर पिउनेछन्, र पिइरहनेछन्; अनि तिनीहरू कहिल्यै नभएझैँ गरेर लोप हुनेछन्।

17तर सियोनको पर्वतमा छुटकारा हुनेछ; यो पवित्र रहनेछ, र याकोबले आफ्नै सम्पत्तिमाथि अधिकार गर्नेछ।

18याकोबको घराना आगोजस्तै हुनेछ, र योसेफको घराना ज्वालाजस्तै हुनेछ; एसावको घराना डाँठको ठोसाजस्तै हुनेछ; अनि तिनीहरूले यसमा आगो लगाउनेछन्, र यसलाई भस्म पार्नेछन्। एसावको घरानाबाट एउटै पनि जीवित रहनेछैन।” याहवेहले यसो भन्‍नुभएको छ।

19दक्षिणका मानिसहरूले एसावका पर्वतहरू कब्जा गर्नेछन्, र पहाडको फेदीमा बसेका मानिसहरूले पलिश्तीहरूका देशलाई अधिकार गर्नेछन्। तिनीहरूले एफ्राइम र सामरियाका भूमिहरू कब्जा गर्नेछन्; अनि बेन्यामीनले गिलादमाथि अधिकार गर्नेछ।

20कैदमा रहेका इस्राएली दल, जो कनानमा छन्, तिनीहरूले सारपतसम्मको भूमिमाथि अधिकार गर्नेछन्; यरूशलेमबाट लगिएका निर्वासितहरू, जो सपारादमा छन्, तिनीहरूले दक्षिणका सहरहरूमाथि अधिकार गर्नेछन्।

21छुटकारा दिनेहरू सियोन पर्वतमाथि जानेछन् र एसावका पर्वतहरूमाथि शासन गर्नेछन्। अनि राज्य याहवेहको हुनेछ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath