गन्ती 35
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यरीहोको नजिक यर्दन नदीको किनार मोआबको मैदानमा याहवेहले मोशालाई भन्नुभयो,
2“इस्राएलीहरूले पाउने उत्तराधिकारको भागबाट लेवीहरूलाई बस्नको निम्ति सहरहरू दिनू भनेर इस्राएलीहरूलाई आज्ञा दिनू। तिनीहरूलाई सहरहरूका वरिपरि गाईबस्तु चराउने ठाउँ दिनू।
3तब तिनीहरूसँग बसोबास गर्न सहरहरू र तिनीहरूका गाईबस्तु, बगाल र पशुहरूका निम्ति खर्कहरू हुनेछन्।
4“तिमीहरूले लेवीहरूलाई सहरहरूका वरिपरि दिने खर्कहरू सहरको पर्खालदेखि हजार क्यूबिट होस्।
5सहरबाहिर सहरलाई केन्द्रमा राखेर पूर्वपट्टि दुई हजार क्यूबिट, दक्षिणपट्टि दुई हजार क्यूबिट, पश्चिमपट्टि दुई हजार क्यूबिट र उत्तरपट्टि दुई हजार क्यूबिटको नाप होस्। सहरको लागि यही ठाउँ तिनीहरूले खर्कको रूपमा पाउनेछन्।
6“तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटा नगरहरूचाहिँ शरणस्थलका नगरहरू हुनेछन्। त्यहाँ कुनै व्यक्तिलाई कसैले अनजानमा मार्यो भने भागेर बच्न सक्छ। तीबाहेक तिनीहरूलाई बयालीस वटा अरू नगरहरू दिनू।
7तिमीहरूले लेवीहरूलाई जम्मा अठचालीस वटा नगरहरू र तिनीहरूलाई गाईबस्तु चराउने खर्कहरू दिनुपर्छ।
8तिमीहरूले लेवीहरूलाई नगरहरू दिँदा इस्राएलीहरूले अधिकार गरेका जमिनबाट तिनीहरूका हरेक कुलको संख्याअनुसार होस्: धेरै हुने कुलबाट धेरै नगरहरू, र थोरै हुने कुलबाट थोरै नगरहरू लिएर लेवीहरूलाई दिनू।”
9त्यसपछि याहवेहले मोशालाई भन्नुभयो:
10“इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू यर्दन तरेर कनानमा पुग्नेछौ,
11तब तिमीहरूका शरण-नगरहरूका निम्ति केही सहरहरू छान्नू, जहाँ कुनै पनि व्यक्तिले कसैलाई अनजानमा मार्यो भने त्यो त्यहाँ भागेर जान सकोस्।
12ती ठाउँहरू बदला लिन खोज्नेहरूबाट बच्नका लागि हुनेछन्; ताकि हत्याको आरोप लागेका व्यक्ति समुदायको सामु जाँचबुझ नभई नमारियोस्।
13तिमीहरूले दिने यी छ वटा सहरहरू तिमीहरूकै निम्ति शरण-नगरहरू हुनेछन्।
14तीन वटा यर्दन नदीको वारिपट्टि र तीन वटा कनानमा शरण-नगरको रूपमा दिनू।
15यी छ वटा सहरहरू इस्राएलीहरू र तिमीहरूसँग बस्ने विदेशीहरूका निम्ति शरणस्थलका ठाउँ हुनेछन्; ताकि कुनै व्यक्तिले कसैलाई अनजानमा मार्यो भने त्यहाँ भागेर जान सकोस्।
16“ ‘यदि कुनै मानिसले कसैलाई फलामको हतियारले हिर्काउँदा त्यो मर्यो भने त्यो हत्यारा नै हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
17अर्थात् कसैको हातमा ढुङ्गा छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्यो भने त्यो हत्यारा हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
18अर्थात् यदि कसैसँग काठको कुनै चीज छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्यो भने त्यो हत्यारा नै हो। त्यस हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
19रगतको बदला लिने व्यक्तिले त्यस हत्यारालाई मारोस्। त्यसले त्यस हत्यारालाई भेट्नेबित्तिकै मारोस्।
20यदि कुनै मानिसले इर्ष्याको कारण कसैलाई घचेट्यो अथवा जानाजानी त्यसमाथि केही कुरा फ्याँक्यो, र त्यो मर्यो भने,
21अर्थात् शत्रुताको कारण त्यसले उसलाई हिर्कायो, र त्यो मर्यो भने त्यो मानिस हत्यारा हो। त्यसलाई मृत्युदण्ड दिनैपर्छ। रगतको बदला लिनेले त्यस हत्यारालाई भेट्नेबित्तिकै मार्नैपर्छ।
22“ ‘तर यदि कसैले कसैलाई अनजानमा घचेट्दा मर्यो अथवा केही कुरा हानिपठाउँदा लागेर त्यो मर्यो भने,
23अर्थात् दुश्मनी नभएको र हानि गर्न नचाहेको व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्यो भने,
24समुदायले ज्यानमारा र रगतको बदला लिने व्यक्तिको बीचमा यस नियमअनुसार न्याय गर्नुपर्छ।
25समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिनेको हातबाट छुटाएर, त्यो अगि जहाँ भागेको थियो, त्यसलाई त्यही शरण-नगरमा पठाओस्। त्यो ज्यानमारा पवित्र तेलले अभिषेक गरिएको प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यहीँ रहोस्।
26“ ‘तर यदि त्यो दोषी व्यक्ति कुनै समयमा आफू भागेर गएको शरण-नगरको सिमानादेखि बाहिर गयो भने,
27र रगतको बदला लिनेले त्यसलाई बाहिर फेला पारेर त्यसलाई मार्यो भने त्यो त्यस हत्याको दोषी हुनेछैन।
28किनभने त्यो दोषी व्यक्ति प्रधान पुजारीको मृत्यु नभएसम्म आफ्नो शरण-नगरमा बस्नुपर्थ्यो। अनि प्रधान पुजारीको मृत्यु भएपछि मात्र त्यो आफ्नो घरमा फर्कन सक्थ्यो।
29“ ‘तिमीहरू जहाँ बसे तापनि तिमीहरू र तिमीहरूका भावी पुस्ताका निम्ति यो नियम लागू हुनेछ।
30“ ‘कुनै व्यक्तिले कसैको हत्या गर्यो भने त्यसलाई साक्षीहरूको गवाहीद्वारा मात्र मृत्युदण्ड दिनू। तर केवल एक जना साक्षीको गवाहीबाट कसैलाई मृत्युदण्ड नदिनू।
31“ ‘मृत्युदण्ड पाउन लायकको हत्याराको जीवनको छुटकाराको मोल स्वीकार नगर्नू। उसलाई मृत्युदण्ड दिनैपर्छ।
32“ ‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट छुटकाराको मोल स्वीकार नगर्नू; ताकि प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यो फर्केर आउन र आफ्नो घरमा बस्न नपाओस्।
33“ ‘तिमीहरू बसेको ठाउँलाई दूषित नपार्नू। हत्याले देशलाई दूषित पार्छ, र हत्याराको मृत्युको रगतबाहेक हत्या भएको देशका निम्ति अरू कुनै पनि कुराले प्रायश्चित गर्न सकिँदैन।
34तिमीहरू बसेको र मैले बास गरेको देशलाई अशुद्ध नपार्नू। किनकि म याहवेह इस्राएलीहरूको बीचमा बास गर्दछु।’ ”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath