ईसाई धर्म
पछाडि

गन्ती 31

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहले मोशालाई भन्‍नुभयो,

2“इस्राएलीहरूका खातिर मिद्यानीहरूसँग बदला लिनू। त्यसपछि तँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्।”

3यसकारण मोशाले मानिसहरूलाई भने, “मिद्यानीहरूका विरुद्ध याहवेहको बदलाको लडाइँ लड्नका निम्ति तिमीहरूका केही मानिसहरूलाई हातहतियारले सुसज्जित गराओ।

4इस्राएलीहरूका प्रत्येक कुलबाट एक-एक हजार मानिसहरूलाई लडाइँ गर्न पठाओ।”

5यसकारण इस्राएली वंशबाट प्रत्येक बाह्र कुलबाट एक हजारको हिसाबले लडाइँका निम्ति सुसज्जित पारिएका बाह्र हजार मानिसहरू खटाइए।

6मोशाले तिनीहरूलाई प्रत्येक कुलबाट एक-एक हजारलाई लडाइँमा पठाए। तिनीहरूसँग पुजारी एलाजारका छोरा पीनहास पनि थिए। पीनहासले आफूसँग पवित्रस्थानका सामग्रीहरू र सङ्केत दिनका लागि तुरहीहरू लगे।

7याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले मिद्यानीहरूका विरुद्धमा लडाइँ गरे, र सबै पुरुषहरूलाई मारे।

8तिनीहरूका हातबाट मर्नेहरूमध्ये मिद्यानका पाँच राजाहरू अर्थात् एवी, रेकेम, सूर, हूर र रेवा थिए। तिनीहरूले बओरका छोरा बालामलाई पनि तरवारले मारे।

9इस्राएलीहरूले मिद्यानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई बन्दी बनाए र मिद्यानीहरूका बथान, बगाल र सरसामानहरू लुटको मालझैँ लिएर गए।

10तिनीहरूले मिद्यानीहरू बसोबास गरेका सबै सहरहरू र छाउनीहरूलाई जलाइदिए।

11तिनीहरूले लुटेका र कब्जा गरेका सबै मालसामानहरू, मानिसहरू र पशुहरू सबै लगे।

12अनि कैदीहरू, कब्जा गरेका र लुटेका मालसामानहरूलाई मोशा, पुजारी एलाजार र इस्राएली समुदायकहाँ ल्याए। त्यस बेला तिनीहरूको छाउनी यरीहोदेखि पारि यर्दन नदीको किनार मोआबको मैदानमा थियो।

13मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवाहरू तिनीहरूलाई भेट गर्न छाउनीबाहिर आए।

14लडाइँबाट फर्केर आएका सेनाका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसँग मोशा रिसाए।

15मोशाले तिनीहरूलाई सोधे, “के तिमीहरूले सबै स्त्रीहरूलाई जीवितै रहन दियौ?”

16यी तिनीहरू नै थिए, जसले पोर पर्वतको घटनामा बालामको सल्‍लाह सुनेर इस्राएलीहरूलाई याहवेहको विरुद्धमा तर्केर जान उक्साएका थिए। यसैकारण याहवेहका मानिसहरूलाई विपत्तिले प्रहार गरेको थियो।

17अब सबै केटाहरूलाई र पुरुषहरूसँग सहवास गरेका हरेक स्त्रीहरूलाई पनि मार।

18तर कुनै मानिससँग सहवास नभएका हरेक कन्याहरूलाई चाहिँ तिमीहरूले आफ्ना निम्ति जीवित राख।

19यदि जजसले मानिसलाई मारेको छ, अर्थात् मारिएको कसैलाई छोएको छ भने तिमीहरू छाउनीबाहिर सात दिनसम्म बस्‍नुपर्छ। तेस्रो र सातौँ दिनमा तिमीहरूले आफैँलाई र तिमीहरूका कैदीहरूलाई शुद्ध पार्नुपर्छ।

20तिमीहरूले लगाएका हरेक वस्त्र र छालाले अथवा बाख्राको रौँले अथवा काठले बनिएका हरेक कुरालाई शुद्ध पार।

21त्यसपछि पुजारी एलाजारले लडाइँमा जाने सेनाहरूलाई भने, “याहवेहले मोशालाई दिनुभएको नियमअनुसार यो आवश्यक छ:

22सुन, चाँदी, काँसो, फलाम, टिन, सिसा,

23र आगोले नष्‍ट नहुने सबै कुरालाई आगोभित्र हालेर निकाल्नू र त्यो शुद्ध हुनेछ। तर त्यसलाई शुद्ध पार्ने पानीले पनि शुद्ध पारिनुपर्छ। अनि आगोले नष्‍ट हुने जुनसुकै थोकलाई चाहिँ पानीद्वारा शुद्ध पार्नू।

24सातौँ दिनमा आफ्ना लुगाहरू धुनू, र तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र आउन सक्नेछौ।”

25याहवेहले मोशालाई भन्‍नुभयो,

26“तैँले, पुजारी एलाजार र समुदायका मुखियाहरूले कैद गरेर ल्याइएका सबै मानिसहरू र पशुहरू गन्ती गर्नू।

27लुटिएका मालहरू लडाइँमा जाने सेनाहरू र बाँकी रहेका समुदायको बीचमा बराबरी बाँड्नू।

28लडाइँमा युद्ध गर्ने सेनाहरूबाट याहवेहका सलामीको निम्ति चाहे मानिस होस्, अथवा गाईबस्तु, गधा, भेडा र बाख्राहरू होस्; हरेक कुराको पाँच सयबाट एउटा अलग गर्नू।

29तिनीहरूबाट उठेको सलामीको आधा भागबाट याहवेहको भेटीको रूपमा पुजारी एलाजारलाई दिनू।

30इस्राएलीहरूको आधा भागबाट मानिसहरू, गाईबस्तु, गधा, भेडा, बाख्रा अथवा अरू सबै पशुहरू, त्यसको प्रत्येक पचासबाट एउटा गरेर अलग गर्नू। ती अलग गरिएका कुराहरू याहवेहको समागम पालको रेख-देखको जिम्मामा रहेका लेवीहरूलाई दिनू।”

31यसकारण याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै मोशा र पुजारी एलाजारले गरे।

32सेनाहरूले लुटेका सामानहरूमा बाँकी रहेका कुराहरू यही थियो: 6,75,000 भेडाहरू,

3372,000 गाईबस्तु,

3461,000 गधाहरू,

35र कुनै मानिससँग सहवास नगरेका 32,000 स्त्रीहरू।

36लडाइँमा युद्ध गर्ने सेनाहरूको आधा भाग यस्तो थियो: 3,37,500 भेडाहरू,

37जसमा याहवेहका निम्ति सलामीचाहिँ 675 भेडाहरू थिए;

3836,000 गाईबस्तुहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 72 वटा थिए;

3930,500 गधाहरू थिए, जसमा याहवेहका निम्ति सलामीचाहिँ 61 वटा थिए;

4016,000 मानिसहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 32 वटा थिए।

41मोशालाई याहवेहले आज्ञा गर्नुभएझैँ याहवेहको भागको सलामी पुजारी एलाजारलाई दिए।

42मोशाले सेनाहरूको भागबाट छुट्याएका इस्राएलीहरूको भागको आधा,

43अर्थात् समुदायको आधा भागचाहिँ 3,37,500 भेडा थिए;

4436,000 गाईबस्तु,

4530,500 गधा,

46र 16,000 मानिस थिए।

47इस्राएलीहरूको आधा भागबाट याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै तिनले मानिसहरू र पशुहरूबाट प्रत्येक पचासबाट एक-एक अलग गरे। अनि ती सबै लेवीहरूलाई दिए, जो याहवेहको समागम पालको रेख-देखको जिम्मावाल थिए।

48त्यसपछि सेनाहरूका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू मोशाकहाँ गए।

49अनि तिनीहरूले मोशालाई भने, “तपाईंका सेवकहरूले हाम्रो जिम्मामा रहेका सेनाहरूलाई गनेका छन्। अनि एक जना पनि हराएको छैन।

50यसकारण हामी प्रत्येकले पाएका सुनका चीजहरू अर्थात् बाला, चुरा, छाप-औँठी, कुण्डल र सिक्रीमाला याहवेहको सामु हामीले आफ्ना प्रायश्‍चितको लागि याहवेहका निम्ति भेटीको रूपमा ल्याएका छौँ।”

51मोशा र पुजारी एलाजारले तिनीहरूबाट सुन अर्थात् सबै गहनाहरू स्वीकार गरे।

52मोशा र एलाजारले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूबाट याहवेहका निम्ति उपहारको रूपमा चढाएका सबै सुनको तौल 16,750 शेकेल थियो।

53हरेक सेनाले लुटको सर-सामान आफ्नै निम्ति लिएका थिए।

54मोशा र पुजारी एलाजारले हजार-हजारका र सय-सयका सेनापतिहरूबाट सुन स्वीकार गरे। अनि त्यसलाई याहवेहको सामु इस्राएलीहरूका निम्ति एउटा सम्झनाको रूपमा भेट हुने पालभित्र ल्याए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath