ईसाई धर्म
पछाडि

गन्ती 21

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब दक्षिणमा बस्‍ने आरादका कनानी राजाले इस्राएलीहरू अतारीम जाने बाटो भएर आउँदैछन् भन्‍ने सुने, तब तिनले इस्राएलीहरूमाथि आक्रमण गरेर केही मानिसहरूलाई पक्रेर बन्दी बनाए।

2तब इस्राएलीहरूले याहवेहसँग यस्तो भाकल गरे: “यदि तपाईंले यी मानिसहरूलाई हाम्रो हातमा सुम्पिदिनुभयो भने हामी तिनीहरूका सहरहरू पूर्ण रूपले नष्‍ट पारिदिनेछौँ।”

3याहवेहले इस्राएलीहरूको बिन्ती सुन्‍नुभयो। अनि ती कनानीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले एदोमीहरू र तिनीहरूका सहरहरूलाई पूर्ण रूपले नष्‍ट पारिदिए। अनि त्यस ठाउँको नाम होर्मा राखियो।

4तिनीहरूले होर पर्वतबाट लाल समुद्रतिरको बाटो भएर एदोमको प्रान्तलाई फेरो मार्दै यात्रा सुरु गरे। तर बाटोमा इस्राएली मानिसहरू अधैर्य भए।

5तिनीहरूले परमेश्‍वरको र मोशाको विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तपाईंले हामीलाई इजिप्टबाट उजाडस्थानमा मर्नलाई किन ल्याउनुभयो? यहाँ खानेकुरा केही छैन; र पानी पनि छैन! अनि यस तुच्छ भोजनले हामी वाक्‍क भइसक्यौँ!”

6तब याहवेहले तिनीहरूको बीचमा विषालु सर्पहरू पठाइदिनुभयो। सर्पहरूले मानिसहरूलाई डसे; र धेरै इस्राएलीहरू मरे।

7ती मानिसहरू मोशाकहाँ आएर बिन्ती गरे, “हामीले याहवेह र तपाईंको विरुद्धमा बोलेर पाप गरेका छौँ। याहवेहले यी सर्पहरू हामीबाट हटाइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।” यसकारण मोशाले मानिसहरूका निम्ति प्रार्थना गरिदिए।

8याहवेहले मोशालाई भन्‍नुभयो, “एउटा सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिनू; तब सर्पले डसेका जो कोहीले काँसोको सर्पलाई हेर्छ, त्यो जीवित रहनेछ।”

9यसकारण मोशाले एउटा काँसोको सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिए। त्यसपछि जब कसैलाई सर्पले डस्थ्यो, तब त्यसले काँसोको सर्पलाई हेर्थ्यो, र त्यो बाँच्थ्यो।

10इस्राएलीहरू अगि बढ्दै गए, र ओबोतमा छाउनी हाले।

11त्यसपछि तिनीहरू ओबोतबाट हिँडे। अनि मोआबको सामु पूर्वतिरको सूर्य उदय हुने ठाउँतिर उजाडस्थानमा भएको इये-अबारीममा छाउनी हाले।

12त्यहाँबाट तिनीहरू अगि बढ्दै गए। अनि जेरेदको बेँसीमा छाउनी हाले।

13तिनीहरू त्यहाँबाट पनि हिँडे। अनि एमोरीहरूको प्रान्तसम्म फैलिएको उजाडस्थानस्थित अर्नोनको किनारमा छाउनी हाले। अर्नोनचाहिँ मोआब र एमोरीहरूको बीचमा मोआबको सिमानामा पर्दछ।

14त्यसैकारण याहवेहका युद्धहरूको पुस्तकमा यसो लेखिएको छ: “सूपामा भएको याहेब सहर, अर्नोनका बेँसीहरू

15र बेँसीका भिरालाहरू, जो आरको सहरतिर लाग्दछन् र मोआबको सिमानासम्म पुगेका छन्।”

16त्यहाँबाट तिनीहरू बेअरको त्यस इनारसम्म अगि बढे, जहाँ याहवेहले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई एकसाथ भेला गर्, र म तिनीहरूलाई पानी दिनेछु।”

17तब इस्राएलीहरूले यो गीत गाए: “ए इनार, फुटेर निस्की! यसको विषयमा गीत गा,

18जसलाई राजकुमारहरूले खनेका थिए, जसलाई कुलिन व्यक्तिहरूले खनेका थिए, जसलाई ती कुलिन व्यक्तिहरूका राजदण्ड र लहुरोले खनेका थिए।” त्यसपछि तिनीहरू उजाडस्थानबाट मत्तानातर्फ अगि बढे,

19अनि मत्तानाबाट नहलीएलमा, नहलीएलबाट बामोतमा आइपुगे।

20अनि बामोतबाट मोआबको बेँसी पिसगाको टाकुरामा आइपुगे, जहाँबाट उजाडभूमि देख्न सकिन्छ।

21इस्राएलले एमोरीहरूका राजा सीहोनकहाँ यसो भन्‍नलाई सन्देश वाहकहरू पठाए:

22“हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी कुनै खेत अथवा दाखबारीतिर फर्कनेछैनौँ अर्थात् कुनै इनारबाट पानी पिउनेछैनौँ। हामी तपाईंको सिमानाबाट भएर पार नभएसम्म राजाको मूलबाटो भएर यात्रा गर्नेछौँ।”

23तर सीहोनले आफ्नो सिमानाबाट भएर इस्राएलीहरूलाई छिरेर जान दिएनन्। तिनले आफ्नो सारा सेनालाई जम्मा गरे। अनि उजाडस्थानमा इस्राएलीहरूका विरुद्धमा मोर्चा बाँधे। जब तिनी यहस सहरमा आइपुगे, तब तिनीहरूले इस्राएलीहरूसँग युद्ध गरे।

24तर इस्राएलीहरूले राजालाई तरवारले मारे। अनि अर्नोनदेखि यब्बोकसम्म तिनको देश कब्जा गरे। तैपनि अम्मोनीहरूको सिमानासम्म मात्र कब्जा गरे; किनभने अम्मोनीहरूको सिमाना बलियो किल्‍ला भएको थियो।

25इस्राएलले एमोरीहरूका सबै सहरहरू कब्जा गरे, र ती सहरहरूमा बसोबास गरे। हेश्बोन र त्यसका छेउछाउका सबै बस्तीहरूमा समेत बसोबास गर्न थाले।

26हेश्बोनचाहिँ एमोरीहरूका राजा सीहोनको सहर थियो, जसले मोआबका अगिल्‍ला राजाको विरुद्धमा युद्ध गरेर तिनको सम्पूर्ण देश अर्नोनसम्मै लिएका थिए।

27त्यसैकारण कविहरूले यसो भन्छन्: “हेश्बोनमा आओ, र यो सहर पुनर्निर्माण होस्; सीहोनको सहर पुनर्स्थापित होस्।

28“हेश्बोनबाट आगो निस्केर गयो; सीहोनको सहरबाट एउटा ज्वाला निस्क्यो। यसले मोआबको आर सहरलाई भस्म पार्‍यो। अर्नोनका शिखरमा बस्‍नेहरूलाई भस्म पार्‍यो।

29ए मोआब, धिक्‍कार छ तँलाई! ए कमोशका मानिसहरू नष्‍ट पारिएका छौ! कमोशले आफ्ना छोराहरूलाई भगुवाझैँ, र आफ्नी छोरीहरूलाई कैदीझैँ गरेर एमोरीहरूको राजा सीहोनलाई दिएको छ।

30“तर हामीले हेश्बोनीहरूलाई जितेका छौँ; हेश्बोनचाहिँ दीबोन सहरसम्मै नष्‍ट पारिएको छ। हामीले तिनीहरूलाई नोपाहसम्मै ध्वंस पारिदिएका छौँ, जुनचाहिँ मेदेबासम्म फैलिएको छ।”

31यसरी इस्राएलीहरू एमोरीहरूको देशमा बसोबास गरे।

32मोशाले याजेरमा जासुस गर्न मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका चारैतिरका बस्तीहरू कब्जा गरे। अनि त्यहाँ भएका एमोरीहरूलाई पनि धपाइदिए।

33त्यसपछि तिनीहरू फर्केर बाशानतिरको बाटो भएर उक्ले। अनि बाशानका राजा ओग इस्राएलीहरूसँग युद्ध गर्न आफ्ना सारा सेना लिएर एद्रई सहरमा मोर्चा बाँधेर निस्के।

34याहवेहले मोशालाई भन्‍नुभयो, “त्यससँग नडरा; किनकि मैले त्यसलाई, त्यसका सबै सेनालाई र त्यसको देशसमेत तेरो हातमा सुम्पिदिएको छु। तैँले त्यसलाई हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै गर्नू।”

35यसकारण इस्राएलीहरूले राजालाई, तिनका छोराहरू र सारा सेनाहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल एकैसाथ मारे। अनि तिनीहरूको देशलाई कब्जा गरे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath