ईसाई धर्म
पछाडि

गन्ती 10

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहले मोशालाई भन्‍नुभयो:

2“पिटिएको चाँदीका दुई वटा तुरही बना। अनि समुदायलाई एकसाथ भेला गराउन र पालबाट प्रस्थान गराउनका लागि तिनलाई प्रयोग गर्।

3जब दुवै तुरही फुकिन्छन्, तब सारा इस्राएली समुदाय भेट हुने पालको प्रवेशद्वारमा तँकहाँ भेला होऊन्।

4यदि एउटै मात्र तुरही फुकियो भने अगुवाहरू, अर्थात् इस्राएली कुलका अगुवाहरू तँकहाँ भेला होऊन्।

5जब तुरहीको पहिलो आवाज फुकिन्छ, तब पूर्वपट्टिका छाउनीका कुलहरू प्रस्थान गरून्।

6जब तुरही दोस्रोपल्ट फुकिन्छ, दक्षिणपट्टिका छाउनीहरूमा भएकाहरू प्रस्थान गरून्। त्यो आवाजचाहिँ प्रस्थान गर्ने सङ्केत हुनेछ।

7समुदायलाई भेला गराउँदा फुक्ने तुरहीको आवाज, पालबाट प्रस्थान हुँदा फुक्ने तुरहीको साङ्केतिक आवाजझैँ नहोस्।

8“पुजारी हारूनका छोराहरूले तुरहीहरू फुकून्। यो तिमीहरू र तिमीहरूका भावी पुस्ताहरूका निम्ति अनन्तको विधि हुनेछ।

9जब तिमीहरू आफ्नै देशमा तिमीहरूमाथि अत्याचार गर्ने शत्रुसँग लडाइँ गर्न जान्छौ, तब तुरहीहरू फुक्नू। तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्झनुहुनेछ, र शत्रुहरूबाट छुटाउनुहुनेछ।

10त्यसरी नै तिमीहरूले आनन्द मनाउने समयहरूमा अर्थात् तिमीहरूका तोकिएका चाडहरूमा र औँसीका चाडहरूमा तिमीहरूका होमबलिहरू र मेलबलिहरूको समयमा पनि तिमीहरूले तुरहीहरू फुक्नू। अनि ती याहवेहको सामु तिमीहरूका सम्झनाको निम्ति हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।”

11इजिप्टबाट प्रस्थान गरेको दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा, जब साक्षी पाटीको समागम पालबाट बादल हट्यो,

12तब इस्राएलीहरू सीनैको मरुभूमिबाट प्रस्थान गरे। अनि पारानको मरुभूमिमा बादल नअडिएसम्म एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गरिरहे।

13याहवेहले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरूले यो पहिलोपल्ट यात्रा सुरु गरे।

14यहूदाको दल आफ्नो छाउनीबाट आफ्नो झण्डा लिएर पहिले हिँडे। तिनीहरूका अगुवा अम्मीनादाबका छोरा नहशोन थिए।

15इस्साखारको कुलको दल सूआरका छोरा नथनिएलको जिम्मामा थियो।

16अनि जबूलूनको कुलको दल हेलोनका छोरा एलिआबको जिम्मामा थियो।

17त्यसपछि समागम पाल उठाइयो; अनि गेर्शोनी र मरारीहरूले त्यसलाई बोकेर अगि हिँडे।

18त्यसपछि रूबेनको छाउनीको दल आफ्नो झण्डामुनि हिँडे। शदेऊरका छोरा एलिसूरचाहिँ यस दलका अगुवा थिए।

19शिमियोन कुलको दलको अगुवा सूरीशद्दैका छोरा शलूमीएल थिए।

20अनि गाद कुलको दलको अगुवा, देउएलका छोरा एल्यासाप थिए।

21त्यसपछि कहातीहरूले पवित्र चीजहरू बोकेर हिँडे। तिनीहरू आइपुग्नुभन्दा अगि समागम पाल खडा गरिसक्नुपर्ने थियो।

22त्यसपछि एफ्राइमको छाउनीको दल आफ्नो झण्डा लिएर अगि बढे। अम्मीहूदका छोरा एलिशामा दलका अगुवा थिए।

23मनश्शे कुलको दलको अगुवा, पदासूरका छोरा गमलिएल थिए।

24अनि बेन्यामीन कुलको दलमाथिको अगुवा गिदोनीका छोरा अबीदान थिए।

25अन्त्यमा सबै दलहरूका पछाडि दानको कुलको दल रक्षादलको रूपमा आफ्नो झण्डा लिएर अगाडि बढे। अम्मीशद्दैका छोरा अहीएजेर यसका अगुवा थिए।

26आशेरको कुलको दलका अगुवा ओक्रानका छोरा पगीएल थिए।

27अनि नप्‍ताली कुलको दलको अगुवा एनानका छोरा अहीएर थिए।

28इस्राएलीहरू प्रस्थान गर्दा हिँड्नुपर्ने पङ्‌क्ति यही थियो।

29मोशाले आफ्ना मिद्यानी ससुरा रूएलका छोरा होबाबलाई भने, “हामी त्यस ठाउँमा जाँदैछौँ, जुन ‘म तिमीहरूलाई दिनेछु’ भनी याहवेहले हामीलाई भन्‍नुभएको थियो। तपाईं पनि हामीसँगै आउनुहोस्। हामी तपाईंसँग राम्रो व्यवहार गर्नेछौँ। किनकि याहवेहले इस्राएललाई असल कुराहरूका निम्ति प्रतिज्ञा गर्नुभएको छ।”

30तब होबाबले तिनलाई भने, “होइन, म जानेछैनँ। म आफ्नै देश र आफ्नै कुटुम्बकहाँ फर्कनेछु।”

31तर मोशाले होबाबलाई भने, “बिन्ती छ, दया गरी हामीलाई नछोड्नुहोस्। हामीले उजाडस्थानमा कहाँ पाल टाग्नुपर्छ भनी तपाईं जान्‍नुहुन्छ। अनि तपाईं हाम्रा निम्ति बाटो देखाउने आँखा बन्‍न सक्नुहुन्छ।

32यदि तपाईं हामीसँग आउनुभयो भने याहवेहले हामीलाई दिनुहुने सबै असल कुराहरू तपाईंसँग बाँड्‌नेछौँ।”

33यसरी तिनीहरू याहवेहको पर्वतबाट हिँडे। अनि तीन दिनसम्म यात्रा गरे। तिनीहरूले कहाँ रोकिनुपर्ने हो, र आराम गर्ने ठाउँ कहाँ हो, सो भेट्टाउनका निम्ति त्यस तीन दिनसम्म याहवेहको करारको सन्दुक बोक्नेहरू तिनीहरूका अगि-अगि गए।

34जब तिनीहरू पालबाट दिउँसो अगि बढ्थे, तब याहवेहको बादल तिनीहरूमाथि रहन्थ्यो।

35जब करारको सन्दुक बोक्नेहरू अगि बढ्थे, तब मोशाले यसो भन्थे, “हे याहवेह, उठ्नुहोस्! तपाईंका शत्रुहरू छरपस्ट होऊन्; तपाईंका विरोधीहरू तपाईंका सामुबाट भागून्!”

36जब करारको सन्दुक बिसाइन्थ्यो, तब मोशाले यसो भन्थे, “हे याहवेह, इस्राएलका गन्ती गर्न नसकिने हजारौँ-हजारकहाँ फर्केर आउनुहोस्!”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath