नहेम्याह 8
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1सबै मानिसहरू एउटै मनको झैँ भएर पानी मूलढोकाको सामुको चोकमा भेला भए। तिनीहरूले व्यवस्थाका शिक्षक एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउन लगाए, जुन व्यवस्था याहवेहले इस्राएलीहरूका निम्ति आज्ञा गर्नुभएको थियो।
2यसैले पुजारी एज्राले सातौँ महिनाको पहिलो दिनमा पुरुषहरू र स्त्रीहरू र बुझ्न सक्ने सबै केटाकेटीहरू भेला भएका ठाउँमा सारा समुदायको सामु त्यो व्यवस्थाको पुस्तक ल्याए।
3तिनले पानी मूलढोकाको सामु पुरुषहरू र स्त्रीहरू, र बुझ्न सक्ने केटाकेटीहरूको उपस्थितिमा बिहान घाम उदाएको समयदेखि दिउँसोसम्म चर्को आवाजमा व्यवस्थाको पुस्तक पढेर सुनाए। सबै मानिसहरूले व्यवस्थाको पुस्तकमा ध्यान दिए।
4शिक्षक एज्रा काठले बनिएको अग्लो मञ्चमाथि उभिए। तिनको छेउमा दाहिनेपट्टि मत्तीत्याह, शेमा, अनायाह, उरियाह, हिल्किय्याह र मासेयाह; अनि देब्रेतिर पदायाह, मिशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम थिए।
5एज्राले व्यवस्थाको पुस्तक खोले। सबै मानिसहरूले तिनलाई देख्न सक्थे; किनकि तिनी मानिसहरूभन्दा अग्लो मञ्चमा उभिएका थिए। तिनले त्यो व्यवस्थाको पुस्तकलाई खोल्दा सबै मानिसहरू उभिए।
6एज्राले याहवेह महान् परमेश्वरलाई प्रशंसा गरे; अनि सबै मानिसहरूले आफ्ना हातहरू उचालेर यसो भन्दै प्रतिक्रिया दिए, “आमेन! आमेन!” त्यसपछि तिनीहरू भुइँसम्म घोप्टो परेर याहवेहलाई दण्डवत् गरे।
7येशूआ, बानी, शेरेबियाह, यामीन, अक्कूब, शब्बतै, होदिय्याह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान र पलायाहः यी लेवीहरूले त्यहाँ मानिसहरू उभिरहेकै बेला मानिसहरूलाई व्यवस्थाको अर्थ बुझाइदिए।
8तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढे; अनि पढेको कुरा स्पष्ट हुने गरी अर्थ लगाइदिए, ताकि जे पढिएको थियो, सो मानिसहरूले बुझ्न सकून्।
9तब राज्यपाल नहेम्याह, पुजारी र व्यवस्थाका शिक्षक एज्रा र लेवीहरू, जसले तिनीहरू सबैलाई निर्देशन दिँदै यसो भने, “यो दिन याहवेह तिमीहरूका परमेश्वरको निम्ति पवित्र छ। विलाप नगर र नरोऊ।” किनकि व्यवस्थाका वचन सुनेर सबै मानिसहरू रोइरहेका थिए।
10नहेम्याहले भने, “गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।”
11लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्त गराए, “शान्त हुनुहोस्, किनकि यो एउटा पवित्र दिन हो, शोक नगर्नुहोस्।”
12तब सबै मानिसहरू खान, पिउन र आफूसँग भएको भोजनको केही भाग नभएकाहरूलाई पठाइदिन, र अति हर्षको साथ उत्सव मनाउन गइहाले। किनकि तिनीहरूलाई बुझाइएका कुरा अब तिनीहरूले बुझेका थिए।
13महिनाको दोस्रो दिन सबै परिवारका अगुवाहरू, पुजारीहरू र लेवीहरूको साथमा व्यवस्थाका वचनहरू ध्यानसित बुझ्न शिक्षक एज्राकहाँ गए।
14याहवेहले मोशाद्वारा आज्ञा दिनुभएको व्यवस्थामा तिनीहरूले यस्तो लेखिएको भेट्टाए, सातौँ महिनाको चाडमा इस्राएलीहरू छाप्रोमा बस्नुपर्छ।
15तिनीहरूले आफ्ना सहरहरूमा र यरूशलेममा यो वचन घोषणा गरेर फैलाउनुपर्छ भन्ने कुरा पनि लेखिएको भेट्टाए: “पहाडी इलाकाहरूमा गएर जैतुन, जङ्गली जैतुनका रूखहरू, मेहदी, खजूर र छाया दिने रूखहरूबाट छाप्रो बनाउन हाँगाहरू ल्याओ”।
16यसकारण मानिसहरू निस्केर बाहिर गए, र ती हाँगाहरू लिएर आए। अनि तिनीहरूले आ-आफ्नो निम्ति घरको छानामाथि, तिनीहरूका आँगनहरूमा र परमेश्वरको भवनका चोकहरूमा पानी मूलढोकाको छेउको चोकमा र एफ्राइमको मूलढोकाको छेउमा अस्थायी छाप्राहरू बनाए।
17कैदबाट फर्किआउने सारा समुदायले अस्थायी छाप्राहरू बनाए, र त्यसमा बसे। नूनका छोरा यहोशूको समयदेखि उसो इस्राएलीहरूले यसरी यो उत्सव मनाएका थिएनन्। त्यसैले तिनीहरू धेरै खुशी थिए।
18प्रत्येक दिन चाडको पहिलो दिनदेखि अन्तिम दिनसम्म एज्राले परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढे। तिनीहरूले सात दिनसम्म चाड मनाए, र आठौँ दिनमा विधिअनुसार पवित्र सभा राखे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath