नहेम्याह 13
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यस दिन मानिसहरूले सुन्ने गरी मोशाको पुस्तक चर्को आवाजमा पढियो; अनि त्यसमा यस्तो लेखिएको भेट्टाइयो: कुनै पनि अम्मोनी अथवा मोआबीलाई परमेश्वरको समुदायमा कहिल्यै प्रवेश गराउनुहुँदैन।
2किनकि तिनीहरूले इस्राएलीहरूलाई भोजन र पानी दिएनन्; तर तिनीहरूलाई श्राप दिन भनी बालामलाई रकम दिएर बोलाएका थिए। तरै पनि हाम्रा परमेश्वरले त्यस सरापलाई आशिष्मा परिवर्तन गरिदिनुभयो।
3मानिसहरूले यो व्यवस्था सुनेपछि तिनीहरूले विदेशी मूलका सबै मनिसहरूलाई इस्राएलबाट निकालिदिए।
4यसअगि पुजारी एल्यासीबलाई परमेश्वरको भवनको भण्डार कोठाहरूको जिम्मावाल बनाइएको थियो। तिनको तोबियाहसँग घनिष्ठ सम्बन्ध थियो।
5एल्यासीबले तोबियाहलाई एउटा ठूलो कोठा व्यवस्था गरिदिएका थिए, जहाँ पहिले अन्नबलिहरू, धूप र मन्दिरका सामानहरू र लेवीहरूका, सङ्गीतकारहरू र द्वारपालहरूका निम्ति तोकिएका अन्नका नयाँ दाखमद्यका र जैतुन तेलका दशांशहरूको साथमा पुजारीहरूका निम्ति भेटीहरू राखिन्थे।
6तर यी सबै कुराहरू हुँदै गर्दा मचाहिँ यरूशलेममा थिइनँ; किनकि बेबिलोनका राजा अर्तसास्तको बत्तीसौँ वर्षमा म राजाकहाँ फर्किगएको थिएँ। केही समयपछि मैले राजाबाट अनुमति मागेँ,
7र म यरूशलेममा फर्किआएँ। तब एल्यासीबले तोबियाहलाई परमेश्वरको भवनका चोकमा एउटा कोठा दिएर दुष्ट काम गरेको कुरा मैले थाहा पाएँ।
8मलाई यो कुरा एकदमै मन परेन, र मैले तोबियाहका घरका सबै सामानहरू कोठाबाट बाहिर फ्याँकिदिएँ।
9मैले कोठाहरू शुद्ध गर्ने आदेश दिएँ, र त्यस कोठामा परमेश्वरको भवनका सरसामानहरू, अन्नबलि र धूप राख्न लगाएँ।
10मैले लेवीहरूलाई तोकिएका भागहरू नदिएको र सेवाको जिम्मामा रहेका लेवीहरू र सङ्गीतकारहरू आफ्नै खेतहरूतिर फर्किगएका थाहा पाएँ।
11यसकारण अधिकृतहरूलाई हप्काएँ, र तिनीहरूलाई सोधेँ, “परमेश्वरको घरको अवहेलना किन गरिएको?” तब मैले तिनीहरूलाई एकसाथ भेला पारेँ, र तिनीहरूलाई आ-आफ्ना काममा नियुक्त गरेँ।
12सारा यहूदाका मानिसहरूले अन्न, नयाँ दाखमद्य र जैतुन तेलका दशांशहरू भण्डारमा ल्याए।
13मैले पुजारी शेलेम्याहलाई, शास्त्री सादोकलाई, र पदायाह नाउँका लेवीलाई भण्डारको जिम्मा दिएँ; अनि हानान जक्कूरका छोरा, मत्तन्याहका नातिलाई तिनीहरूको सहायक बनाएँ; किनकि यी मानिसहरू विश्वासयोग्य थिए। तिनीहरूलाई आफ्ना लेवी दाजुभाइहरूलाई आवश्यक सर-सामान बाँडिदिने जिम्मेवारी दिइएको थियो।
14हे मेरा परमेश्वर, मलाई यो कुराको निम्ति स्मरण गर्नुहोस्, र मैले मेरा परमेश्वरका घर र त्यसका सेवाका निम्ति अति विश्वासयोग्यतासाथ जे गरेको छु, त्यो आफ्नो स्मरणबाट नमेट्नुहोस्।
15ती दिनहरूमा मैले यहूदाका मानिसहरूलाई शब्बाथ दिनमा दाखको कोल पेलिरहेका र अन्न जम्मा गरेर, दाखमद्य, अङ्गुर, नेभारा र अरू किसिमका भारीहरू गधाहरूमा लदाएका देखेँ। तिनीहरूले ती सबै कुरा शब्बाथमा यरूशलेम ल्याउने गर्थे। यसकारण तिनीहरूलाई शब्बाथमा खानेकुरा बेचेको कारण मैले चेतावनी दिएँ।
16यरूशलेममा बस्ने टायरका मानिसहरूले माछाहरू र सबै किसिमका व्यापारका सामानहरू यरूशलेममा ल्याए, र शब्बाथ दिनमा यहूदाका मानिसहरूलाई बेचिरहेका थिए।
17मैले यहूदाका अधिकारीहरूलाई हप्काएँ, र तिनीहरूलाई भनेँ, “तिमीहरूले शब्बाथ दिनलाई अपवित्र पार्दै यो कस्तो दुष्ट काम गरिरहेका छौ?
18के तिमीहरूका पुर्खाहरूले यस्तै काम गरेनन् र? त्यसकारण हाम्रा परमेश्वरले हामीमाथि र यस सहरमाथि सबै विपत्तिहरू ल्याउनुभएको होइन र? अब तिमीहरूले शब्बाथ दिनलाई अपवित्र पारेर इस्राएलमाथि उहाँको क्रोध बढाइरहेका छौ।”
19जब शब्बाथको दिन अगि यरूशलेमका मूलढोकाहरूमा साँझको अँध्यारोको छाया पर्न थाल्यो, तब मैले शब्बाथ नबितेसम्म ढोकाहरू बन्द गर्न र नखोल्न आदेश दिएँ। मैले शब्बाथ दिनमा कुनै पनि भारी भित्र ल्याउन नसकून् भनेर मूलढोकामा मेरा आफ्ना केही मानिसहरूलाई खटाएँ।
20एक-दुई पटक व्यापारीहरू र सबै किसिमका सामान बेच्नेहरू यरूशलेमबाहिर नै रात बिताए।
21तर मैले तिनीहरूलाई चेतावनी दिएर भनेँ, “तिमीहरू किन पर्खालको छेउमा रात बिताउँछौ? यदि तिमीहरूले फेरि पनि यसै गर्यौ भने म तिमीहरूलाई कारबाही गर्नेछु।” त्यस दिनदेखि उसो तिनीहरू शब्बाथको दिनमा आउन छोडे।
22त्यसपछि मैले लेवीहरूलाई आफैँ शुद्ध हुन, र शब्बाथ दिनलाई पवित्र राख्न मूलढोकामा आएर पहरा दिन आज्ञा दिएँ। हे मेरा परमेश्वर, यसको लागि पनि मलाई स्मरण गर्नुहोस्, र तपाईंको अचुक प्रेमअनुसार ममाथि कृपा देखाउनुहोस्।
23यसबाहेक मैले ती दिनहरूमा यहूदाका मानिसहरूले अश्दोद, अम्मोनी र मोआबीहरूबाट स्त्रीहरूलाई विवाह गरिरहेका भेट्टाएँ।
24तिनीहरूका आधा सन्तानले अश्दोदका अथवा अरू जातिका भाषाहरू बोल्थे, तर तिनीहरूले यहूदाको भाषा बोल्न जान्दैनथिए।
25मैले तिनीहरूलाई हप्काएँ, र सरापको भागीदार बनाएँ। मैले केही मानिसहरूलाई पिटेँ; अनि तिनीहरूका केश उखेलिदिएँ। मैले तिनीहरूलाई परमेश्वरको नाममा शपथ खान लगाएर भनेँ, “तिमीहरूले आफ्ना छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिनेछैनौँ, न त तिमीहरूले आफ्ना छोराहरूका निम्ति अथवा आफ्नै निम्ति तिनीहरूका छोरीहरू विवाह गरेर ल्याउँनेछौ।
26के यस्तै विवाहको कारण इस्राएलका राजा सोलोमनले पाप गरेका थिएनन् र? धेरै जातिहरूका बीचमा तिनीजस्ता राजा अरू कोही थिएनन्। तिनलाई तिनका परमेश्वरले प्रेम गर्नुहुन्थ्यो, र परमेश्वरले तिनलाई सारा इस्राएलमाथि राजा बनाउनुभयो; तर तिनलाई समेत विदेशी स्त्रीहरूले पाप गर्न लगाए।
27के अब तिमीहरूले पनि विदेशी स्त्रीहरूसित विवाह गरेर हाम्रा परमेश्वरप्रति अविश्वासयोग्य भएर यस्ता सबै दुष्टता गरिरहेका कुरा हामीले सुन्ने?”
28प्रधान पुजारी एल्यासीबका एक जना छोरा यहोयादाचाहिँ होरोनी सन्बलतका जुवाइँ थिए। मैले त्यसलाई त्यहाँबाट निकालिदिएँ।
29हे मेरा परमेश्वर, तिनीहरूले पुजारी पदलाई, पुजारी र लेवीको करारलाई अशुद्ध पारेका कारण तिनीहरूलाई स्मरण गर्नुहोस्।
30यसकारण मैले पुजारीहरू र लेवीहरूलाई हरेक विदेशी कुराहरूबाट शुद्ध पारेँ; अनि तिनीहरू हरेकलाई तिनीहरूका आ-आफ्ना काम सुम्पिदिएँ।
31मैले तोकिएको समयको लागि काठको दान र अगौटे फलको व्यवस्था पनि गरिदिएँ। हे मेरा परमेश्वर, असल कुराका निम्ति मलाई सम्झनुहोस्!
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath