ईसाई धर्म
पछाडि

नहूम 3

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1रक्तपातले भरिएको सहरलाई धिक्‍कार! जो झूटले भरिएको छ, र लुटपाटका धनले भरिएको छ। जो पीडितबाट कहिल्यै मुक्त छैन!

2कोर्राहरूको आवाज, चक्‍काहरूको गडगडाहट, घोडाहरूको दौड र रथहरू थर्केका आवाज!

3युद्धका घोडचढीहरूको हमला, चम्किला तरवारहरू र टल्किने भालाहरू! मारिएका धेरै-धेरै छन्; लासहरूका रासमाथि रास, अनगन्ती मृत शरीरहरू, मानिसहरू लासहरूमा ठेस खाँदै हिँड्छन्—

4यी सबै त्यस वेश्याको कामुकताको कारणले गर्दा हो; त्यो टुनामुनाद्वारा लोभ्याउने मालिक्नी हो, जसले आफ्नो वेश्यावृत्तिद्वारा राष्ट्रहरूलाई र आफ्नो तन्त्रमन्त्रले जातिहरूलाई दास बनाउँथी।

5“म तेरो विरुद्धमा छु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “मुखैसम्म म तेरा फरिया उचाल्नेछु। म तेरो नाङ्गोपना राष्ट्रहरूलाई र तेरो लाज राज्यहरूलाई देखाउनेछु।

6म तँलाई घिनलाग्दो फोहोरले ढाक्नेछु, म तँलाई घृणित व्यवहार गर्नेछु, र तँलाई मानिसहरूका सामु तमाशा ठहराउनेछु।

7तँलाई देख्नेहरू सबै तँबाट तर्केर भाग्नेछन्, र भन्‍नेछन्, ‘निनवे ध्वस्त भएको छ। त्यसका निम्ति कसले विलौना गर्ला?’ तँलाई सान्त्वना दिने व्यक्ति मैले कहाँ भेट्टाउँला?”

8के तँ नील नदीका किनारामा अवस्थित चारैपट्टि पानीले घेरिएको इजिप्टको राजधानी थेबेसभन्दा असल छस्? त्यसको सुरक्षा नील नदी थियो; अनि पानी सहरको पर्खालजस्तै थियो।

9कूश र इजिप्ट त्यसको असीम शक्ति थिए; पूत र लिबिया त्यसका मित्र राष्ट्रहरू थिए।

10तापनि त्यसलाई कैदमा लगियो, र त्यो निर्वासनमा गयो। त्यसका स-साना बालबच्‍चाहरू सडकका कुना-कुनामा पछारी-पछारी मारिए। त्यसका अगुवाहरूमाथि चिट्ठा हालियो, र त्यसका सबै अगुवाहरूलाई साङ्लाहरूले बाँधिए।

11तँ निनवे पनि मात्तिनेछेस्; तँ लुकेर भाग्नेछस्, र शत्रुहरूबाट बच्न शरण खोजी गर्नेछस्।

12तेरा सबै बलिया किल्‍लाहरू नेभाराका रूखहरूजस्तै, पाकेका पहिलो फलले भरिएका छन्; जब ती बोटहरूलाई हल्‍लाइन्छ, तब ती नेभाराहरू खानेहरूका मुखैमा झर्दछन्।

13तेरा सेनाका दलहरूलाई हेर्, ती सबै बेसहारा स्त्रीहरूजस्ता मात्र छन्! तेरा देशका मूलढोकाहरू तेरा शत्रुहरूका निम्ति उदाङ्गै खोलिएका छन्; तिनका गजबारहरू आगोले भस्म पारेको छ।

14शत्रुको घेराबन्दीमा पर्नुअगि आफ्ना निम्ति पानी भरेर राख्; आफ्ना प्रतिरक्षालाई बलियो पार्! माटो मुछेर तयार गर्; हिलो माटोलाई कुल्चीमिल्ची पार्, र इँटाको साँचाहरू मर्मत गर्!

15त्यहाँ तँलाई आगोले जलाएर भस्म पार्नेछ; तरवारले तँलाई टुक्रा-टुक्रा पार्नेछ; तिनीहरूले तँलाई सलहले जस्तै स्वाहा पार्नेछन्। फट्याङ्ग्राले जस्तो आफ्नो संख्या बढा; सलहले जस्तै आफ्नो अनगन्ती संख्या बढा!

16तैँले आफ्ना व्यापारीहरूको संख्या आकाशका अनगन्ती ताराहरू जत्तिकै बढाएको छस्; तर सलहले झैँ तिनीहरूले देशलाई नाङ्गो पार्छन्, र त्यसपछि तिनीहरू उडेर जान्छन्।

17तेरा पहरेदारहरू सलहहरूजस्ता छन्, तेरा अधिकारीहरू सलहहरूका बथानजस्ता छन्, जो जाडोमा भित्ताहरूमा टाँसिएर बस्छन्; तर जब घाम उदाउँछ, तिनीहरू उडेर टाढा जान्छन्, र ती कहाँ जान्छन्, सो कसैले जान्दैन।

18हे अश्शूरको राजा, तेरा गोठालाहरू निदाउँछन्; तेरा भारदारहरू आराम गर्नलाई ढल्किन्छन्। तेरा मानिसहरू पर्वतहरूहुँदो छरपस्ट छन्। तिनीहरूलाई एकसाथ जम्मा गर्ने कोही पनि छैन।

19कुनै पनि कुराले तँलाई निको पार्न सक्दैन; तेरो चोट प्राणघातक छ। जसले तेरो बारेमा सुन्छन्, तेरो पतनमा आफ्नो हातले ताली बजाउँछन्; किनकि तेरो कहिल्यै अन्त्य नहुने क्रूरता कसले भोगेको छैन र?

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath