ईसाई धर्म
पछाडि

मर्कूस 6

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1येशू त्यहाँबाट निस्केर आफ्ना चेलाहरूसित आफू हुर्केको सहरमा जानुभयो।

2शब्बाथ दिन आएपछि उहाँले सभाघरमा सिकाउन लाग्नुभयो; अनि उहाँलाई सुन्‍नेहरू धेरै जना छक्‍क परे। तिनीहरूले सोधे, “यस मानिसले यी कुराहरू कहाँबाट पाए? यसलाई दिइएको यो कस्तो बुद्धि हो? यसले गरेका यी अचम्मका कामहरू उल्‍लेखनीय छन्?

3के यो सिकर्मी होइन? के यो मरियमको छोरा, र याकोब, योसेफ, यहूदा र सिमोनको दाजु होइन? के यसका बहिनीहरू यहाँ हामीसित छैनन्?” अनि तिनीहरू उहाँसित चिढिए।

4तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आफ्नै सहरमा, आफ्नै नातेदारहरूको बीचमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन”

5उहाँले त्यहाँ केही बिरामीहरूमाथि हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै अचम्मका कामहरू गर्न सक्नुभएन।

6उहाँ तिनीहरूका अविश्‍वास देखेर छक्‍क पर्नुभयो। येशूले बाह्र जना चेलाहरूलाई पठाउनुभएको त्यसपछि येशू चारैतिर सिकाउँदै एउटा गाउँदेखि अर्को गाउँमा जानुभयो।

7तब उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई जना गरेर पठाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो।

8उहाँका आदेशहरू यस्ता थिए: “यात्राका लागि एउटा लहुरोबाहेक केही पनि नलिनू; न रोटी, न थैली, न पटुकामा पैसा।

9जुत्ता लगाउनू, तर दुईसरो लुगा नबोक्नू।

10जब तिमीहरू कुनै घरमा पस्छौ, तिमीहरूले त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस।

11अनि यदि कुनै ठाउँमा तिमीहरूलाई स्वागत हुँदैन वा तिमीहरूका कुरा सुनिँदैन भने तिमीहरू त्यो ठाउँ छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति आफ्ना पैतालाको धुलोसमेत टक्टक्याइदेओ।”

12तिनीहरू गए, र मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे।

13तिनीहरूले धेरै भूतहरू धपाए, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।

14राजा हेरोदले येशूको विषयमा सुने; किनकि उहाँको नाम चारैतिर प्रचलित भएको थियो। कतिले भन्दैथिए, “बप्‍तिस्मा दिने यूहन्‍ना मरेकाहरूबाट जीवित भएछन्, त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।”

15अनि अरूले भने, “तिनी एलिया हुन्।” अनि अझै अरूले यसो भनी दाबी गरे, “तिनी उहिलेका अगमवक्ताहरूमध्ये एक जना अगमवक्ता हुन्।”

16जब हेरोदले यो सुने, तिनले भने, “मैले शिर कटाएको मानिस यूहन्‍ना मरेकोबाट जीवित भएको छ।”

17किनकि हेरोद आफैँले यूहन्‍नालाई पक्रन र बाँधेर झ्यालखानामा हाल्ने आदेश दिएका थिए; किनभने तिनले आफ्नै भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यसो गरेका थिए; जसलाई तिनले विवाह गरेका थिए।

18किनकि यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नै भाइकी पत्नी राख्नु तपाईंलाई उचित छैन।”

19यसकारण हेरोदियासले यूहन्‍नामाथि इबी पालिराखेकी थिइन्; अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्।

20हेरोद यूहन्‍नादेखि डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए; किनकि तिनी एक धर्मी र पवित्र मानिस हुन् भनेर तिनले जान्दथे। जब हेरोदले यूहन्‍नाका कुरा सुन्थे, तब तिनी साह्रै विचलित हुन्थे, तर पनि तिनको कुरा सुन्‍न मन पराउँथे।

21आखिरमा अनुकूल समय आयो। आफ्नो जन्मदिनमा हेरोदले आफ्ना उच्‍च पदाधिकारीहरू, सेनाका सेनापतिहरू र गालील प्रदेशका प्रमुख व्यक्तिहरूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे।

22तब हेरोदियासकी छोरी भित्र आएर नाची; अनि उसले हेरोद र तिनका भोजमा आएका पाहुनाहरूलाई खुशी पारी। राजाले त्यस केटीलाई भने, “तिमी जे चाहन्छ्यौ, सो मसित माग, म तिमीलाई दिनेछु।”

23अनि तिनले शपथ खाएर उसलाई वचन दिए, “तिमीले जे माग्छ्यौ, सो म तिमीलाई दिनेछु, मेरो आधा राज्यसम्म पनि दिनेछु।”

24त्यसले गएर आफ्नी आमालाई सोधी, “म के मागूँ?” तिनले जवाफ दिइन्, “बप्‍तिस्मा दिने यूहन्‍नाको शिर।”

25त्यो केटी तुरुन्तै हतारिँदै भित्र राजाकहाँ गएर यो बिन्ती चढाई: “तपाईंले अहिल्यै बप्‍तिस्मा दिने यूहन्‍नाको शिर मलाई यस थालमा दिनुहोस् भन्‍ने म चाहन्छु।”

26राजा अत्यन्तै दुःखित भए; तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उसलाई इन्कार गर्ने इच्छा गरेनन्।

27यसकारण तिनले तुरुन्तै जल्‍लादलाई यूहन्‍नाको शिर ल्याउनू भनेर आज्ञा दिई पठाए। त्यो मानिस गयो, र झ्यालखानामा यूहन्‍नाको शिर काट्यो,

28अनि तिनको शिर एउटा थालमा ल्यायो। तिनले त्यो त्यस केटीलाई दिए; अनि उसले त्यो आफ्नी आमालाई दिई।

29यो सुनेर यूहन्‍नाका चेलाहरू आए; र तिनको लास लगेर चिहानमा राखे।

30प्रेरितहरू येशूको वरिपरि भेला भए, र आफूले गरेका र आफूले सिकाएका सबै कुराहरू बताए।

31मानिसहरू आवतजावत गरेका कारण उहाँहरूले खानसमेत मौका पाउनुभएको थिएन। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मसित एकान्त ठाउँमा हिँड, र केही बेर विश्राम गर।”

32यसकारण उहाँहरू अलग्गै एउटा डुङ्गामा चढेर पर एउटा एकान्त ठाउँमा जानुभयो।

33तर धेरैले उहाँहरूलाई जाँदै गर्नुभएको देखेर उहाँहरूलाई चिनिहाले; अनि सबै सहरहरूबाट आएकाहरू पैदलै दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे।

34जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। उहाँले तिनीहरूलाई देखेर टिठ्याउनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैँ थिए। यसकारण उहाँले तिनीहरूलाई धेरै कुराहरू सिकाउन थाल्नुभयो।

35त्यस बेला दिन ढल्किसकेको थियो। त्यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र समय धेरै ढिलो भइसकेको छ।

36यी मानिसहरूलाई पठाइदिनुहोस्, ताकि तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर आफ्ना लागि केही खानेकुराहरू किनून्।”

37तर उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले उहाँलाई भने, “त्यसका लागि छ महिनाभन्दा बढीको ज्याला चाहिन्छ! के हामी गएर रोटीको लागि यति धेरै खर्च गरेर तिनीहरूलाई खान दिएको तपाईं चाहनुहुन्छ र?”

38उहाँले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्? जाओ, गएर हेर।” तिनीहरूले पत्ता लगाएर भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्।”

39तब येशूले सबै मानिसलाई झुण्ड-झुण्ड बनाएर हरियो चउरमा बसून् भनी आज्ञा दिनुभयो।

40यसकारण तिनीहरू सय-सय र पचास-पचासको झुण्ड बनाएर बसे।

41ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो।

42तिनीहरू सबैले पेटभरि खाए।

43अनि चेलाहरूले उब्रेका टुक्राहरू जम्मा पार्दा रोटी र माछाले बाह्र डालाभरि उठाए।

44ती खानेहरूमा पुरुषहरू मात्रै पाँच हजार थिए।

45तुरुन्तै येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढाएर उहाँभन्दा पहिल्यै बेथसेदामा जान लगाउनुभयो। अनि आफूले चाहिँ भीडलाई बिदा दिनुभयो।

46तिनीहरूबाट बिदा भएपछि उहाँ प्रार्थना गर्नलाई एउटा पहाडमा जानुभयो।

47त्यस बेला रात परिसकेको थियो। डुङ्गा तालको माझमा थियो, र उहाँचाहिँ एकलै किनारमा हुनुहुन्थ्यो।

48उहाँले चेलाहरूलाई डुङ्गा खियाउनका लागि खूबै परिश्रम गरिरहेका देख्नुभयो; किनकि बतास तिनीहरूको विपरीतबाट चलिरहेको थियो। अनि बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। उहाँले तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा,

49जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत हो भनी ठानेर जोडले चिच्याए;

50किनकि तिनीहरू उहाँलाई देखेर भयभीत भए। तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साहस गर! म नै हुँ; नडराओ।”

51तब उहाँ तिनीहरूसित डुङ्गामा चढ्नुभयो, र बतास थामियो। तिनीहरू अत्यन्तै छक्‍क परे;

52किनकि तिनीहरूले ती रोटीहरूको विषयमा अझै बुझेका थिएनन्; तिनीहरूका हृदय कठोर भएको थियो।

53उहाँहरू पारि तर्नुभएपछि गनेसरेतमा आइपुग्नुभयो, र डुङ्गा किनारमा लगाउनुभयो।

54उहाँहरू डुङ्गाबाट निस्कनसाथ येशूलाई मानिसहरूले चिनिहाले।

55तिनीहरू सारा प्रदेशभरि दगुरे, र उहाँ जहाँ-जहाँ हुनुहुन्छ भनी सुने, त्यहाँ-त्यहाँ रोगीहरूलाई ओछ्यानमा बोकेर लगे।

56अनि उहाँ जुनसुकै ठाउँ अर्थात् गाउँहरू, सहरहरू र बस्तीहरूमा जानुहुन्थ्यो, तिनीहरूले रोगीहरूलाई सार्वजनिक स्थलहरूमा राखिदिन्थे। तिनीहरूले उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऊन् भनी उहाँलाई बिन्ती गरे; अनि जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath