ईसाई धर्म
पछाडि

मर्कूस 12

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1येशू तिनीहरूसित दृष्‍टान्तहरूमा बोल्न थाल्नुभयो: “एक जना मानिसले एउटा दाखबारी लगाए। तिनले त्यसको चारैतिर एउटा पर्खाल लगाए। कोलको लागि एउटा खाडल खने, र एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्‍कामा दिएर यात्रामा निस्के।

2कटनीको समयमा तिनले ती मोहीहरूबाट दाखबारीको फलको केही भाग ल्याउन भनेर एउटा सेवकलाई तिनीहरूकहाँ पठाए।

3तर तिनीहरूले त्यसलाई पक्रेर पिटे, र त्यसलाई खाली हात फर्काए।

4तब तिनले अर्को सेवकलाई तिनीहरूकहाँ पठाए; तिनीहरूले त्यस मानिसलाई टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे।

5तिनले फेरि अर्कोलाई पठाए, तर त्यसलाई चाहिँ तिनीहरूले मारे। तिनले अरू धेरैलाई पठाए; जसमध्ये कतिलाई तिनीहरूले पिटे र कतिलाई चाहिँ मारे।

6“अब पठाउनको लागि तिनीसित एउटै मात्र छोरा थियो, जसलाई तिनले प्रेम गर्थे। अन्त्यमा तिनले यसो भन्दै उनलाई पठाए, ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्।’

7“तर ती मोहीहरूले आपसमा भने, ‘यो त हकवाला हो; हामी यसलाई मारौँ, र सम्पत्तिको हक हाम्रो हुनेछ।’

8यसरी तिनीहरूले त्यसलाई लगेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए।

9“अब त्यस दाखबारीका मालिकले के गर्लान्? तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।

10के तिमीहरूले धर्मशास्त्रको यो खण्ड पढेका छैनौ? “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य ढुङ्गा भयो;

11यो प्रभुबाट भएको हो, र यो हाम्रा दृष्‍टिमा आश्‍चर्यको छ।’ ”

12तब तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले; किनकि उहाँले त्यो दृष्‍टान्त तिनीहरूका विरुद्धमा भन्‍नुभएको हो भनी तिनीहरूले बुझे; तर तिनीहरू भीडसित डराए, र तिनीहरू उहाँलाई छोडेर गइहाले।

13केही समयपछि तिनीहरूले येशूलाई उहाँको वचनमा पक्रनको लागि केही फरिसी र हेरोदीहरूलाई उहाँकहाँ पठाए।

14तिनीहरूले उहाँकहाँ आएर भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्‍न, किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्‍न; तर तपाईंले साँचो गरी परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। सिजरलाई कर तिर्नु उचित छ कि छैन?

15हामीले तिर्नुपर्छ कि पर्दैन?” तर येशूले तिनीहरूको कपट बुझ्नुभयो, र उहाँले सोध्नुभयो, “तिमीहरू किन मलाई फसाउने कोसिस गर्दैछौ? मकहाँ एउटा रोमी सिक्‍का ल्याओ, र मलाई त्यो हेर्न देओ।”

16तिनीहरूले सिक्‍का ल्याए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? अनि यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए।

17तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जे सिजरको हो, त्यो सिजरलाई देओ, र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।” अनि तिनीहरू उहाँसित छक्‍क परे।

18तब पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू एउटा प्रश्न लिएर उहाँकहाँ आए।

19तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, यदि कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई छोडेर मर्‍यो भने त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्‍न गरिदिनुपर्छ।

20अब कुनै परिवारमा सात भाइ थिए। पहिलोले विवाह गर्‍यो, र सन्तान नभई मर्‍यो।

21अनि दोस्रोले त्यस विधवासित विवाह गर्‍यो, तर ऊ पनि सन्तान नभई मर्‍यो। यस्तै स्थिति तेस्रोको पनि भयो।

22वास्तवमा ती सातै जनाको सन्तान भएन। अन्त्यमा त्यो स्त्री पनि मरी।

23यसैले अब पुनरुत्थानमा त्यो कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।”

24येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्‍वरको शक्तिलाई नजानेकाले के तिमीहरू भ्रममा त छैनौ?

25जब मुर्दाहरू स्वर्गमा जीवित भई उठ्छन्, तब तिनीहरूले न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्।

26अब मुर्दाहरू जीवित भई उठ्ने विषयमा के तिमीहरूले मोशाको पुस्तकमा त्यस पोथ्राको विवरणमा कसरी परमेश्‍वरले तिनलाई ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर, र याकोबका परमेश्‍वर हुँ’ भनेर भन्‍नुभएको पढेका छैनौ?

27उहाँ मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ। तिमीहरू गम्भीर भूलमा परेका छौ!”

28व्यवस्थाका शिक्षकहरूमध्ये एक जना आए, र तिनीहरूका वाद-विवाद सुने। येशूले तिनीहरूलाई ठिक जवाफ दिनुभएको देखेर त्यसले उहाँलाई सोध्यो, “सबै आज्ञाहरूमा कुनचाहिँ सबैभन्दा मुख्य हो?”

29येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्य आज्ञा यो हो: ‘हे इस्राएल, सुन! परमप्रभु हाम्रा परमेश्‍वर, एक मात्र परमेश्‍वर हुनुहुन्छ।

30परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण मनले र सम्पूर्ण बलले प्रेम गर।’

31दोस्रोचाहिँ यो हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’ यीभन्दा ठूला आज्ञा अरू छैनन्।”

32त्यस मानिसले जवाफ दियो, “ठिक भन्‍नुभयो, गुरुज्यू। तपाईंले ठिक कुरा भन्‍नुभएझैँ, परमेश्‍वर एक हुनुहुन्छ, र उहाँबाहेक अरू कोही छैन।

33उहाँलाई सम्पूर्ण हृदयले, सम्पूर्ण समझले र सम्पूर्ण बलले प्रेम गर्नु, र आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नुचाहिँ सबै होमबलि र बलिदानहरूभन्दा मुख्य कुरा हो।”

34जब त्यसले बुद्धिमानीसाथ जवाफ दिएको येशूले देख्नुभयो, उहाँले त्यसलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्यदेखि धेरै टाढा छैनौ।” अनि त्यस बेलादेखि उसो कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।

35मन्दिरका चोकहरूमा येशूले सिकाइरहनुहुँदा सोध्नुभयो, “ख्रीष्‍ट दावीदका पुत्र हुन् भनी व्यवस्थाका शिक्षकहरूले कसरी भन्दछन्?

36दावीद आफैँले पवित्र आत्माद्वारा यसरी घोषणा गरे: “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’

37दावीद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?” ठूलो भीडले उहाँको कुरा आनन्दसाथ सुने।

38येशूले सिकाउँदै भन्‍नुभयो, “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्। बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्,

39र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्।

40तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।”

41भेटी चढाउने ठाउँको सामु गएर येशू बस्‍नुभयो र भीडले मन्दिरको दानपेटीमा पैसा हालिरहेका हेर्नुभयो। धेरै धनी मानिसहरूले धेरै मात्रामा रकम चढाइरहेका थिए।

42तर एउटी गरिब विधवा आएर धेरै कम मूल्य भएको तामाका दुई साना सिक्‍का चढाई।

43तब आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर येशूले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस गरिब विधवाले दानपेटीमा अरू सबैले भन्दा बढी चढाएकी छे।

44तिनीहरू सबैले आफ्ना प्रशस्त धनबाट चढाएका छन्, तर यस स्त्रीले त आफ्नो गरिबीबाट सबै थोक, आफ्नो जीविका चलाउने खर्चसमेत नै चढाएकी छे।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath