ईसाई धर्म
पछाडि

मीका 7

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1मलाई कस्तो दुर्गति आइलागेको छ! म दाखबारीमा ग्रीष्म ऋतुको फल बटुल्ने मानिसजस्तै छु; खानलाई कुनै अङ्‌गुरको झुप्पा नै छैन; मैले चाहेको पहिलो नेभाराको फल एउटै पनि छैन।

2धर्मी मानिसहरू देशबाट नष्‍ट भइसकेका छन्; धर्मी एउटै पनि बाँकी छैन। हरेक मानिस हत्या गर्न ढुकिबस्छन्; तिनीहरू एक-अर्कालाई पासो थाप्छन्।

3दुवै हातहरू दुष्‍ट काम गर्न सिपालु छन्; शासकहरूले उपहारको माग गर्छन्, न्यायकर्ताहरू न्यायालयमा घूस लिन्छन्; शक्तिशालीहरू आफूले इच्छा लागेअनुसारको हुकुम चलाउँछन्; तिनीहरू सबै जना मिलेर षड्यन्त्र रच्दछन्।

4तिनीहरूमा सबैभन्दा असल मानिस पनि तीखो काँडाजस्तै छ, सबैभन्दा सोझो पनि झाडीको काँडाभन्दा खराब छ। परमेश्‍वरले तिमीहरूलाई भेट गर्ने समय आएको छ; तिमीहरूका पहरेदारहरूका चेतावनीको आवाज आएको छ। अहिले तिमीहरूको अन्योलको समय हो।

5तिमीहरू आफ्नो छिमेकीमाथि भरोसा नगर; न त मित्रमाथि नै विश्‍वास गर। आफ्नो अँगालोमा सुत्ने पत्नीसँग बोल्दासमेत होसियार भएर बोल।

6किनकि छोराले आफ्नो बुबालाई अनादर गर्छ, छोरी आफ्नै आमाको विरुद्धमा उठ्छे; बुहारी आफ्नै सासूको विरुद्धमा— मानिसका शत्रुहरू आफ्नै घरका सदस्यहरू हुन्छन्।

7तर मचाहिँ याहवेहमा आशा लिएर प्रतीक्षा गर्छु; म मेरो उद्धारकर्ता परमेश्‍वरलाई पर्खन्छु; मेरा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुहुनेछ।

8हे मेरो शत्रु, मेरो खिसी नगर्! म लडेको छु, तर पनि म खडा हुनेछु। म अन्धकारमा छु, तर पनि याहवेह मेरा निम्ति ज्योति हुनुहुनेछ।

9किनकि मैले उहाँको विरुद्धमा पाप गरेको छु, जबसम्म उहाँले मेरा निम्ति मुद्दा लड्नुहुन्‍न, र मेरो अधिकार स्थापित गर्नुहुन्‍न, तबसम्म म याहवेहको क्रोधलाई सहनेछु। उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ; म उहाँको धार्मिकतालाई हेर्नेछु।

10त्यसपछि मेरा शत्रुले यो देख्नेछन्, र तिनीहरू लज्जित हुनेछन्, जसले मलाई यसो भनेकी थिई, “याहवेह तेरो परमेश्‍वर कहाँ छन्?” मेरो आँखाले त्यसको पतन देख्नेछ; अहिले पनि त्यो गल्‍लीहरूमा हिलोजस्तै खुट्टामुनि कुल्चिइन्छे।

11तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन, तिमीहरूका सिमानाहरू बढाउने दिन आउनेछ।

12त्यस दिन मानिसहरू तिमीहरूकहाँ आउनेछन्; अश्शूर र इजिप्टका सहरहरूबाट इजिप्टदेखि लिएर यूफ्रेटिस नदिसम्मका र टाढा-टाढाका समुद्रदेखि लिएर टाढा-टाढाका पर्वतसम्मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्।

13तिमीहरूका बासिन्दाहरूका दुष्‍ट कामहरूका परिणामको कारणले गर्दा पृथ्वी उजाड हुनेछ।

14तपाईंका प्रजाहरूलाई आफ्नो लहुरो लिएर चराउनुहोस्; तपाईंको उत्तराधिकारका भेडाका बगाललाई चराउनुहोस्, जो एकलै वनमा, कार्मेल पर्वतको मलिलो खर्कमा बस्छन्। तिनीहरूलाई पहिलेका दिनहरूमा जस्तै बाशान र गिलादमा गएर चर्न दिनुहोस्।

15“तिमीहरू इजिप्टबाट निस्केर आएका दिनहरूमा जस्तै म तिनीहरूलाई मेरा अद्‌भुत कार्यहरू देखाउनेछु।”

16राष्ट्रहरूले देख्नेछन् र लज्जित हुनेछन्। तिनीहरूका पूरै शक्ति काम नलाग्ने हुनेछन्। तिनीहरूका हातहरूले आफ्ना मुख छोप्नेछन्, र तिनीहरूका कानहरू बहिरा हुनेछन्।

17तिनीहरूले सर्पले जस्तै र जमिनमा घस्रने प्राणीहरूले जस्तै धुलो चाट्नेछन्। तिनीहरू थरथर काम्दै आफ्ना गुफाहरूबाट निस्केर आउनेछन्; तिनीहरू याहवेह हाम्रा परमेश्‍वरकहाँ डरसहित फर्कनेछन्, र तिनीहरू उहाँसँग डराउनेछन्।

18तपाईंजस्तो परमेश्‍वर को छ र? जसले उहाँका उत्तराधिकारका बाँकी रहेकाहरूको पाप क्षमा गर्नुहुन्छ, र अपराधहरू बिर्सिदिनुहुन्छ। तपाईं सधैँभरि रिसाइरहनुहुन्‍न, तर अटुट प्रेम देखाउनमा प्रसन्‍न हुनुहुन्छ।

19तपाईंले हामीमाथि फेरि दया देखाउनुहुनेछ; हाम्रा पापहरूलाई तपाईंले खुट्टामुनि कुल्चनुहुनेछ; अनि हाम्रा सबै अधर्महरू समुद्रको गहिराइमा फालिदिनुहुनेछ।

20जसरी तपाईंले धेरै अगिका दिनहरूमा हाम्रा पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको थियो, त्यसरी नै तपाईं याकोबप्रति विश्‍वासयोग्य रहनुहुनेछ, र अब्राहामलाई अचुक प्रेम देखाउनुहुनेछ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath