ईसाई धर्म
पछाडि

मत्ती 9

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1येशू डुङ्गामा चढ्नुभयो, र वारिपट्टि तरेर आफ्नै सहरमा आउनुभयो।

2केही मानिसहरूले ओछ्यानमा पस्रिरहेको एक जना पक्षघातीलाई उहाँकहाँ ल्याए। जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, तब उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “हे छोरा, साहस गर, तिम्रा पापहरू क्षमा भएका छन्।”

3यो देखेर व्यवस्थाका केही शिक्षकहरूले मनमनै यसो भन्‍न लागे, “यस मानिसले ईश्‍वरनिन्दा गरिरहेको छ।”

4तिनीहरूका विचार थाहा पाएर येशूले भन्‍नुभयो, “तिमीहरू किन आफ्ना हृदयमा दुष्‍ट विचारहरूलाई ठाउँ दिन्छौ?

5के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ र हिँड’ भन्‍नु?

6तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।”

7अनि त्यो मानिस उठ्यो र घर गयो।

8जब भीडले त्यो देखे, तिनीहरू भयभीत भए: अनि परमेश्‍वरले मानिसलाई यस्तो शक्ति दिनुभएकोमा उहाँको प्रशंसा गरे।

9येशू जब त्यहाँबाट अगि बढ्नुभयो, तब उहाँले मत्ती नाम भएका एक जना मानिसलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे, र उहाँको पछि लागे।

10येशू मत्तीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू र पापीहरू आए, र उहाँ र उहाँका चेलाहरूसित खाए।

11जब फरिसीहरूले यो देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे, “तिमीहरूका गुरु किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?”

12यो सुनेर येशूले भन्‍नुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ।

13अब जाऊ, र यसको अर्थ के रहेछ, सिक: ‘म बलिदान होइन, तर दया चाहन्छु।’ किनकि म धर्मीहरूलाई होइन; तर पापीहरूलाई बोलाउन आएको हुँ।”

14तब यूहन्‍नाका चेलाहरू आएर उहाँलाई सोधे, “हामी र फरिसीहरू प्रायजसो उपवास बस्छौँ, तर तपाईंका चेलाहरूचाहिँ किन बस्दैनन्?”

15येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी विलाप गर्न सक्छन्? तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, तब तिनीहरू उपवास बस्‍नेछन्।

16“कसैले पनि पुरानो कपडामा नयाँ कपडाको टालोले टाल्दैन; किनकि नयाँ टालो खुम्चिन्छ र पुरानोबाट च्यात्तिएर जान्छ; अनि त्यो वस्त्र फाटेर झन् नराम्रो हुन्छ।

17न त मानिसहरूले पुरानो मशकमा नयाँ दाखमद्य हाल्छन्। यदि तिनीहरूले त्यसो गरे भने छालाहरू फुट्छन्। अनि दाखमद्य पोखिन्छ र मशक नष्‍ट हुनेछ। त्यसो हुन नदिन तिनीहरूले नयाँ दाखमद्य नयाँ मशकमै हाल्नुपर्दछ र दुवै जोगिन्छन्।”

18येशूले यी कुराहरू भनिरहनुहुँदा एक जना शासकले उहाँकहाँ आएर उहाँको अगि घुँडा टेकेर भने, “मेरी छोरी भर्खरै मरी, तर तपाईं आएर त्यसमाथि आफ्नो हात राखिदिनुहोस्, र त्यो बाँच्नेछे।”

19येशू उठेर तिनीसित जानुभयो, र उहाँका चेलाहरू पनि उहाँसँगै गए।

20ठिक त्यसै बेला बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री उहाँको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई।

21त्यसले मनमनै यसो भनी, “यदि मैले उहाँको वस्त्र मात्र छुन पाएँ भने म निको हुनेछु।”

22येशू पछिल्तिर फर्कनुभयो, र त्यसलाई देख्नुभयो। उहाँले भन्‍नुभयो, “हे छोरी, साहस गर, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” अनि त्यो स्त्री त्यसै बेला निको भई।

23जब येशू त्यस शासकको घरमा पस्‍नुभयो, उहाँले शोक धुनको बाँसुरी बजाउनेहरू र कोलाहल गर्नेहरूका भीडलाई देख्नुभयो।

24अनि भन्‍नुभयो, “बाहिर जाओ। केटी मरेकी छैन, तर निदाएकी मात्र छे।” तर तिनीहरूले उहाँको कुरालाई हाँसोमा उडाइदिए।

25भीडलाई बाहिर निकालेपछि उहाँ भित्र पस्‍नुभयो। अनि त्यस केटीको दाहिने हात समात्नुभयो; अनि त्यो केटी उठी।

26यो कुराको खबर त्यस मुलुकभरि फैलियो।

27येशू जब त्यहाँबाट अगि बढ्नुभयो, दुई जना दृष्‍टिविहीन मानिसहरूले यसो भन्दै उहाँलाई पछ्याए, “हे दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”

28जब उहाँ घरभित्र पस्‍नुभयो, ती दृष्‍टिविहीन मानिसहरू उहाँकहाँ आए; अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “म यसो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरूले जवाफ दिए, “गर्छौँ प्रभु।”

29तब उहाँले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूको विश्‍वासअनुसार तिमीहरूलाई होस्।”

30अनि तिनीहरूका आँखा खुले। येशूले तिनीहरूलाई यसरी कडा चेतावनी दिनुभयो, “यो कुरा कसैले थाहा नपाओस्।”

31तर तिनीहरू गइहाले; अनि उहाँको बारेमा सारा मुलुकभरि खबर फिँजाए।

32उहाँहरू जाँदै गर्नुहुँदा एक जना भूत लागेको र बोल्न नसक्ने मानिसलाई उहाँकहाँ ल्याइयो।

33अनि जब भूत निकालियो, तब त्यो बोल्न नसक्ने मानिस बोल्यो र भीडले छक्‍क पर्दै भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन।”

34तर फरिसीहरूले भने, “यिनले त भूतहरूको शासकको सहायताले भूतहरू धपाउँछन्।”

35येशूले सबै सहरहरू अनि गाउँहरूमा, तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार घोषणा गर्दै अनि रोग र बिरामीहरू निको पार्दै जानुभयो।

36भीडहरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैँ हैरान र असहाय भएका थिए।

37अनि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्।

38त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath