ईसाई धर्म
पछाडि

मत्ती 8

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब येशू डाँडाबाट ओर्लेर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई पछ्यायो।

2कुष्‍ठरोग लागेको एउटा मानिस आएर उहाँको अगि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”

3येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” अनि तुरुन्तै त्यो आफ्नो कुष्‍ठरोगबाट निको भइहाल्यो।

4तब येशूले त्यसलाई भन्‍नुभयो, “यो कुरा कसैलाई नभन्‍नू, तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ। अनि तिनीहरूलाई साक्षीका लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।”

5जब येशू कफर्नहुममा आउनुभयो, तब एक जना सेनापतिले उहाँकहाँ आएर सहायता मागे।

6तिनले भने, “हे प्रभु, मेरो सेवक घरमा पक्षघातको रोगले धेरै कष्‍ट पाइरहेको छ।”

7येशूले तिनलाई भन्‍नुभयो, “म आउनेछु र त्यसलाई निको पार्नेछु।”

8तब सेनापतिले जवाफ दिए, “हे प्रभु, तपाईं मेरो छानामुनि आउनुहुने योग्यको म छैनँ; तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ।

9किनकि म आफैँ पनि अधिकारमुनि रहने मानिस हुँ। अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु, र त्यो जान्छ; अनि अर्कोलाई ‘आइज’ भन्छु, र त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्’ भन्छु, र त्यसले त्यो गर्छ।”

10यो सुनेर येशू आश्‍चर्यचकित हुनुभयो, र आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, मैले इस्राएलीहरू कसैमा पनि यति ठूलो विश्‍वास पाएको छैनँ।

11म तिमीहरूलाई भन्दछु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्। अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकोबसित भोजमा बस्‍नेछन्।

12तर परमेश्‍वरको राज्यमा हुनुपर्ने सन्तानचाहिँ बाहिरको अन्धकारमा फालिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।”

13तब येशूले त्यस सेनापतिलाई भन्‍नुभयो, “जाऊ! तिमीले जस्तो हुनेछ भनी विश्‍वास गरेका थियौ, त्यस्तै हुनेछ।” अनि तिनको सेवक त्यसै बेला निको भइहाल्यो।

14जब येशू पत्रुसको घरमा आउनुभयो, तब उहाँले पत्रुसकी सासू ज्वरोले थलिएर ओछ्यानमा पस्रिएकी देख्नुभयो।

15उहाँले तिनको हात छुनुभयो, र ज्वरोले तिनलाई छोडिहाल्यो; अनि उठेर तिनले उहाँको सेवा गरिन्।

16जब साँझ पर्‍यो, दुष्‍ट आत्मा लागेका धेरैजनालाई उहाँकहाँ ल्याइयो; अनि उहाँले वचनद्वारा ती आत्माहरूलाई धपाइदिनुभयो, र सबै रोगीहरूलाई निको पार्नुभयो।

17यसरी यशैया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “उहाँले हाम्रा कमजोरीहरू लिनुभयो, अनि हाम्रा रोगहरू उठाइलानुभयो।”

18आफ्नो चारैतिर भीडलाई देखेर येशूले आफ्ना चेलाहरूलाई तालको पारिपट्टि जाने आज्ञा दिनुभयो।

19तब एक जना व्यवस्थाको शिक्षकले उहाँकहाँ आएर यसो भने, “हे गुरु, तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।”

20येशूले जवाफ दिनुभयो, “फ्याउराहरूका ओडार छन् र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।”

21अर्को चेलाले उहाँलाई भने, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।”

22तर येशूले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्।”

23तब उहाँ डुङ्गामा चढ्नुभयो र उहाँका चेलाहरूले उहाँलाई पछ्याए।

24अचानक तालमा डरलाग्दो आँधीबेहरी चल्यो। अनि त्यसका छालहरूले डुङ्गालाई ढाक्यो; तर येशू निदाइरहनुभएको थियो।

25चेलाहरूले गएर यसो भन्दै उहाँलाई उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्! हामी डुब्न लागेका छौँ!”

26अनि उहाँले जवाफ दिनुभयो, “हे अल्पविश्‍वासी हो, तिमीहरू किन डराउँछौ?” तब उहाँ उठ्नुभयो, र बतास र छालहरूलाई हकार्नुभयो, र बतास पूर्ण रूपले थामियो।

27ती मानिसहरू छक्‍क परेर भने, “यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरू समेतले यिनको आज्ञा मान्दा रहेछन्।”

28जब येशू गदरिनीहरूको मुलुकको अर्को ठाउँमा आइपुग्नुभयो, तब त्यहाँ चिहानबाट भूत लागेका दुई मानिसहरू उहाँलाई भेट्न आए। तिनीहरू यति हिंसक थिए कि कोही पनि त्यो बाटो भएर जान सक्दैनथियो।

29तिनीहरूले चिच्याउँदै यसो भने, “हे परमेश्‍वरका पुत्र, तपाईं हामीबाट के चाहनुहुन्छ? के तपाईं तोकिएको समयभन्दा अगि नै हामीलाई सताउन आउनुभएको हो?”

30त्यस ठाउँदेखि केही टाढा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेका थिए।

31ती भूतआत्माहरूले येशूसित यसरी बिन्ती गरे, “यदि तपाईंले हामीलाई निकालेर खेद्नुहुन्छ भने हामीलाई सुँगुरको त्यस बगालभित्र जाने अनुमति दिनुहोस्।”

32अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ!” र तिनीहरू निस्केर सुँगुरहरूमा पसे। तब सम्पूर्ण बगाल भिरबाट हुर्रिँदै गएर तालमा खसे, र पानीमा डुबेर मरे।

33अनि सुँगुर चराउनेहरू भागेर सहरमा पुगे, र त्यो भूत लागेको मानिसलाई के भएको थियो, ती सबै कुरा मानिसहरूलाई बताइदिए।

34तब सहरका सारा मानिसहरू नै गएर येशूलाई भेटे। जब तिनीहरूले उहाँलाई भेटे, तब उहाँलाई त्यस क्षेत्रबाट गइहाल्न भनी बिन्ती गरे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath