ईसाई धर्म
पछाडि

मत्ती 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए।

2अनि सोधे, “यहूदीहरूका राजा भएर जो जन्मनुभएको छ, उहाँ कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौँ, र हामी उहाँलाई दण्डवत् गर्न आएका छौँ।”

3त्यस बेला जब राजा हेरोदले यो सुने, तिनी र यरूशलेममा भएका सबै आत्तिए।

4अनि तिनले सबै मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए। अनि ख्रीष्‍टको जन्म कहाँ हुनुपर्ने हो भनी सोधे।

5तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्:

6“ ‘तर यहूदा प्रदेशमा भएको, ए बेथलेहेम, तँ कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनस्; किनकि तँबाट एक जना शासक आउनुहुनेछ, जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’ ”

7तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्‍क बोलाएर तारा देखा परेको ठिक समय पत्ता लगाए।

8अनि तिनले तिनीहरूलाई बेथलेहेममा पठाएर यसो भने, “जाओ, र होसियारीसाथ बालकलाई खोज। तिमीहरूले उहाँलाई भेट्टाउनसाथ मलाई भन, र म पनि गएर उहाँलाई दण्डवत् गर्नेछु।”

9राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे। अनि तिनीहरूले पूर्वमा देखेका त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अगि-अगि लाग्यो।

10जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए।

11घरभित्र आइपुगेपछि तिनीहरूले बालकलाई आफ्नी आमा मरियमको साथमा देखे। अनि तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब तिनीहरूले आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए।

12त्यस रात हेरोदकहाँ नजानू भन्‍ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के।

13अनि तिनीहरू गइसकेपछि प्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्टमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीँ बस। किनकि हेरोदले बालकलाई मार्नका लागि खोज्नेछ।”

14यसकारण तिनी उठे, बालक र तिनकी आमालाई लिएर राति नै इजिप्टतिर प्रस्थान गरे,

15जहाँ तिनीहरू हेरोदको मृत्यु नहोउन्जेलसम्म रहे। अनि यसरी परमेश्‍वरले आफ्ना अगमवक्ताद्वारा भन्‍नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।”

16जब हेरोदले आफू ज्योतिषीहरूद्वारा ठगिएको थाहा पाए, तब तिनी धेरै रिसाए। अनि ज्योतिषीहरूद्वारा ठिक पत्ता लगाइएको समयअनुसार बेथलेहेम र त्यसका सिमानामा भएका दुई वर्ष र त्यस मुनिका सबै बालकहरूलाई मार्ने आदेश दिए।

17तब यर्मिया अगमवक्ताद्वारा भनिएको यो वचन पूरा भयो:

18“रामामा एउटा आवाज सुनियो, रुवाइ र ठूलो विलाप, राहेल आफ्ना बालकहरूका निम्ति रोएकी, र तिनी शान्त हुन नमानेकी; किनकि तिनीहरू अब रहेनन्।”

19हेरोदको मृत्युपछि प्रभुका एउटा दूत इजिप्टमा सपनामा योसेफकहाँ देखा परे,

20अनि भने, “उठ, बालक र तिनकी आमालाई लिएर इस्राएलको देशमा जाऊ। किनकि बालकको प्राण लिन चाहनेहरू मरिसकेका छन्।”

21यसैले तिनी उठे; बालक र तिनकी आमालाई साथमा लिएर इस्राएलको देशमा गए।

22तर जब तिनले हेरोदको ठाउँमा तिनका छोरा अर्खिलाउसले यहूदियामा राज्य गर्दैछन् भन्‍ने सुने, तब तिनी त्यहाँ जान डराए। तब सपनामा चेतावनी पाएर तिनी गालीलको इलाकामा गए।

23तिनी नासरत भन्‍ने सहरमा गएर बसे। यसरी अगमवक्ताहरूद्वारा भनिएको कुरा पूरा भयो: “उहाँ नासरी कहलाइनुहुनेछ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath