ईसाई धर्म
पछाडि

मत्ती 27

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1एकाबिहानै सबै मुख्य पुजारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे।

2तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए।

3जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीस वटा चाँदीका सिक्‍काहरू मुख्य पुजारीहरू र प्रधानहरूलाई फर्काइदियो,

4अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तिनीहरूले जवाफ दिए, “हामीलाई यसको के मतलब? यो त तिम्रो जिम्मेवारी हो।”

5यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, र झुण्डिएर मर्‍यो।

6मुख्य पुजारीहरूले ती सिक्‍काहरू टिपेर भने, “यसलाई ढुकुटीमा हाल्न उचित हुँदैन; किनकि यो रगतको मोल हो।”

7तसर्थ तिनीहरूले त्यस पैसाले परदेशीहरूका लागि गाड्ने ठाउँ भनेर कुमालेको जमिन किन्‍ने निर्णय गरे।

8यसैकारण आजको दिनसम्म नै यसलाई रगतको जमिन भनिन्छ।

9तब यर्मिया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “तिनीहरूले इस्राएलीहरूद्वारा उहाँको मोल भनेर तोकेका चाँदीका तीस वटा सिक्‍काहरू लिए,

10अनि प्रभुले मलाई आदेश दिनुभएअनुसार तिनीहरूले त्यसलाई कुमालेको जमिन किन्‍न प्रयोग गरे।”

11येशू राज्यपालको अगि उभिनुभयो, र राज्यपालले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैँले भन्‍नुभयो।”

12जब उहाँलाई मुख्य पुजारीहरू र प्रधानहरूले दोष लगाए, उहाँले कुनै जवाफ दिनुभएन।

13तब पिलातसले उहाँलाई सोधे, “तिनीहरूले तिम्रो विरुद्धमा दिएका साक्षीहरू के तिमी सुन्दैनौ?”

14तर येशूले कुनै पनि अभियोगको जवाफ नदिनुभएको देखेर राज्यपाल अति छक्‍क परे।

15निस्तार चाडको समयमा भीडले चाहेबमोजिम एक जना कैदीलाई छोडिदिने राज्यपालको चलन थियो।

16त्यस बेला तिनीहरूसित बारब्बा नाम भएको एक जना कुख्यात कैदी थियो।

17जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूका लागि मैले कसलाई छोडिदिएको चाहन्छौ? बारब्बालाई कि ख्रीष्‍ट भनिने येशूलाई?”

18किनकि तिनीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भनी तिनलाई थाहा थियो।

19पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: “यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राति मैले सपनामा तिनको कारण धेरै कष्‍ट भोगेकी छु।”

20तर मुख्य पुजारीहरू र प्रधानहरूले बारब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिन माग गर्न भीडलाई उक्साए।

21राज्यपालले सोधे, “दुई जनामा म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए, “बारब्बालाई।”

22पिलातसले सोधे, “त्यसो भए ख्रीष्‍ट भनिने येशूलाई म के गरूँ?” तिनीहरूले जवाफ दिए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”

23पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”

24जब पिलातसले आफ्नो केही सीप नलागेको, बरु अझ खैलाबैला मच्‍चिन सक्ने देखे, तब तिनले पानी लिए, र भीडको सामु आफ्ना हात धुँदै भने, “म यस मानिसको रगतदेखि निर्दोष छु। यसको जिम्मा तिमीहरूकै हो।”

25सबै जनाले जवाफ दिए, “उसको रगत हामी र हाम्रा सन्तानमाथि परोस्।”

26तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तर तिनले येशूलाई कोर्रा लगाउन लगाए, र उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए।

27तब राज्यपालका सिपाहीहरूले येशूलाई प्रेटोरियममा लगे, र सबै पल्टनलाई उहाँको चारैतिर भेला गराए।

28तिनीहरूले उहाँको वस्त्र फुकालेर सिन्दूरे रङ्गका वस्त्रहरू लगाइदिए।

29अनि तिनीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाए, र उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अगि घुँडा टेकेर उहाँलाई अपमान गर्दै भने, “यहूदीहरूका राजाको जय!”

30तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा घरी-घरी हिर्काए।

31उहाँलाई अपमान गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए; र उहाँलाई उहाँकै वस्त्र लगाइदिएपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।

32तिनीहरू बाहिर जाँदै गर्दा तिनीहरूले साइरिनीवासी सिमोनलाई भेट्टाए; अनि तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए।

33तिनीहरू गलगथा अर्थात् खप्परे भनिने ठाउँमा आइपुगे।

34त्यहाँ तिनीहरूले येशूलाई पित्त मिसाइएको दाखमद्य पिउन दिए; तर चाख्नुभएपछि उहाँले त्यो पिउन अस्वीकार गर्नुभयो।

35तिनीहरूले उहाँलाई क्रूसमा टाँगिसकेपछि उहाँका वस्त्रहरू चिट्ठा हालेर आपसमा बाँडे।

36अनि तिनीहरू त्यहाँ बसेर उहाँलाई पहरा दिन थाले।

37उहाँको शिरको मास्तिर तिनीहरूले उहाँको विरुद्धमा लेखिएको यो दोषपत्र टाँगे: यो यहूदीहरूको राजा येशू हो।

38त्यति बेला दुई डाँकुहरू पनि उहाँसित क्रूसमा टाँगिएका थिए—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि।

39त्यस ठाउँबाट भएर हिँड्नेहरूले आफ्ना शिर हल्‍लाउँदै उहाँलाई अपमान गरेर

40यसो भने, “ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने, आफैँलाई बचा! तँ परमेश्‍वरको पुत्र होस् भने क्रूसबाट ओर्लेर तल आइज!”

41त्यसरी नै मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूले पनि उहाँको अपमान गरे।

42तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई चाहिँ बचाउन सक्दैन! यो इस्राएलको राजा हो! अहिले यो क्रूसबाट तल ओर्ली आओस्, तब हामी यसलाई विश्‍वास गर्नेछौँ।

43यसले परमेश्‍वरमाथि भरोसा राखेको छ। यदि परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले यसलाई अहिले नै मुक्त गरून्, किनकि यसले ‘म परमेश्‍वरका पुत्र हुँ’ भनेको छ।”

44यसरी नै उहाँसित क्रूसमा टाँगिने डाँकुहरूले पनि उहाँलाई धेरै अपमान गरे।

45बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।

46दिउँसो तीन बजेतिर येशू ठूलो सोरमा कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”

47त्यहाँ उभिनेहरूमध्ये कतिले जब यो सुने, तब तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदैछ।”

48तीमध्ये एक जनाले तुरुन्तै दौडेर गई एउटा स्पन्ज लियो। उसले त्यसलाई सिर्कामा चोपेर एउटा निगालोमा राखेर पिउन भनी येशूलाई दियो।

49अरूले भने, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ कतै एलिया आएर यिनलाई बचाउँछन् कि।”

50येशू चर्को सोरले फेरि कराउनुभयो; त्यसपछि उहाँले आफ्नो प्राण त्याग्नुभयो।

51त्यस बेला मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। पृथ्वी हल्‍लियो अनि चट्टानहरू फुटे।

52चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे।

53तिनीहरू चिहानबाट बाहिर निस्किआए, र येशू पुनर्जीवित भएपछि तिनीहरू पवित्र सहरमा गए र धेरै मानिसहरूकहाँ देखा परे।

54जब येशूलाई पहरा दिने त्यो सेनापति र ऊसँग हुने अरूहरूले त्यो भुइँचालो र अरू घटनाहरू देखे, तब तिनीहरू अत्यन्त डराएर भने, “निश्‍चय उहाँ परमेश्‍वरका पुत्र हुनुहुँदोरहेछ!”

55त्यहाँ धेरै स्त्रीहरू थिए, जसले टाढैबाट हेरिरहेका थिए। तिनीहरू उहाँको खाँचोमा सेवा गर्नलाई गालीलदेखि नै येशूको पछि लागेका थिए।

56तीमध्ये मरियम मग्दलिनी, याकोब र योसेफकी आमा मरियम र जब्दीका छोराहरूकी आमा थिइन्।

57साँझ परेपछि अरिमथियाका योसेफ नाम भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए।

58तिनले पिलातसकहाँ गएर येशूको लास मागे, र पिलातसले तिनलाई त्यो दिइयोस् भन्‍ने हुकुम गरे।

59अनि योसेफले लास लगे, र मलमलको सफा लुगाले बेह्रे,

60अनि आफ्नै नयाँ चिहानमा राखे, जुन चट्टान खोपेर बनाइएको थियो। तिनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड्याइदिएर तिनी गए।

61त्यहाँ चिहानको सामु मरियम मग्दलिनी र अर्की मरियम बसिरहेका थिए।

62अर्को दिन, अर्थात् तयारीको दिनको भोलिपल्ट मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ गए।

63तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ।

64यसकारण तेस्रो दिनसम्म चिहानलाई सुरक्षित राख्ने हुकुम दिनुहोस्। नत्रता त्यसका चेलाहरूले आएर उसको शरीर चोरेर लैजालान्, र मानिसहरूलाई ‘उहाँ जीवित भई उठ्नुभएको छ’ भन्लान्। यो अन्तिम धोकाचाहिँ पहिलोभन्दा अझ खराब हुनेछ।”

65पिलातसले जवाफ दिए, “केही पहरेदारहरू लैजाओ, र चिहानलाई तिमीहरूले जानेअनुसार सुरक्षित राख।”

66यसकारण तिनीहरू गए, र ढुङ्गामा छाप लगाएर पहरेदारहरूलाई राखेर चिहानलाई सुरक्षित बनाए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath