ईसाई धर्म
पछाडि

मत्ती 26

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब येशूले यी सबै कुराहरू बोलिसक्नुभयो, तब उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,

2“तिमीहरूलाई थाहा भएझैँ निस्तार चाड आउन अब दुई दिन मात्र छ, र मानिसको पुत्रलाई क्रूसमा चढाइनको लागि सुम्पिइनेछ।”

3तब मुख्य पुजारीहरू र जनताका प्रधानहरू, कैयाफा नाम भएका प्रधान पुजारीको महलमा भेला भए।

4तिनीहरूले येशूलाई छल गरेर पक्रने र मार्ने षड्यन्त्र गरे।

5तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूमा दङ्गा मच्‍चिन्छ।”

6येशू बेथानीमा सिमोन नाम भएका कुष्‍ठरोगीको घरमा हुनुहुँदा,

7एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् अत्तर लिएर आइन्, र उहाँ खान बस्‍नुभएको बेला उहाँको शिरमाथि खन्याइन्।

8जब चेलाहरूले यो देखे, तिनीहरू रिसाए। तिनीहरूले भने, “यसलाई किन खेर फालेको?

9यो अत्तर धेरै दाममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।”

10त्यो थाहा पाएर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यस स्त्रीलाई किन सताउँछौ? त्यसले मेरो लागि एउटा असल काम गरेकी छिन्।

11गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, तर तिमीहरूले मलाई त सधैँ पाउनेछैनौ।

12जबकि यसले यो अत्तर मेरो शरीरमा खन्याएर मलाई गाड्नका निम्ति तयारी गरिन्।

13म तिमीहरूलाई साँच्‍चै भन्दछु, संसारभरि जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ; यस स्त्रीले जे कुरा गरेकी छिन्, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।”

14त्यसपछि बाह्र जनामध्येको एक जना, जसलाई यहूदा इस्करियोत पनि भनिन्छ, ऊ मुख्य पुजारीहरूकहाँ गयो,

15र सोध्यो, “यदि मैले येशूलाई तपाईंहरूका हातमा सुम्पिदिएँ भने तपाईंहरूले मलाई के दिनुहुन्छ?” तब तिनीहरूले उसको लागि तीस वटा चाँदीका सिक्‍काहरू दिए।

16त्यस बेलादेखि यहूदाले उहाँलाई पक्राइदिनलाई मौका खोज्न लाग्यो।

17अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आएर सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्‍ने तपाईं चाहनुहुन्छ?”

18उहाँले जवाफ दिनुभयो, “सहरमा कुनै मानिसकहाँ जाओ र उनलाई भन, ‘गुरुले यसो भन्‍नुभएको छ: मेरो तोकिएको समय नजिकै छ। म मेरा चेलाहरूसित तिम्रो घरमा निस्तार चाड मान्‍नेछु।’ ”

19चेलाहरूले येशूले तिनीहरूलाई आज्ञा गर्नुभएबमोजिम गरे; र निस्तार चाडको भोज तयार गरे।

20जब साँझ पर्‍यो, येशू बाह्रै जनासित टेबुलमा खाइरहनुभएको थियो।

21उहाँहरूले खाइरहनुभएको बेला उहाँले यसो भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”

22तिनीहरू अति दुःखी भए, र एकपछि अर्को गर्दै तिनीहरूले उहाँलाई भने, “प्रभु, कतै त्यो म त होइनँ?”

23येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसले मलाई धोका दिनेछ।

24मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्‍कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।”

25तब उहाँलाई धोका दिने यहूदाले भन्यो, “हे गुरु, कतै त्यो म त होइनँ?” येशूले जवाफ दिनुभयो, “तिमी आफैँले भन्यौ।”

26जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो; अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ र खाओ; यो मेरो शरीर हो।”

27त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।

28यो करारको मेरो रगत हो, जो धेरैको पापहरूको क्षमाका लागि बहाइन्छ।

29म तिमीहरूलाई भन्दछु, जुन दिन म तिमीहरूसित मेरा पिताको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ, तबसम्म म यस दाखको रसबाट पिउनेछैनँ।”

30एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।

31तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आजै राति मेरो कारणले तिमीहरू सबै जना पछि हट्नेछौ; किनकि यसरी लेखिएको छ: “ ‘म गोठालोलाई प्रहार गर्नेछु, र बगालका भेडाहरू तितरबितर हुनेछन्।’

32तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।”

33पत्रुसले जवाफ दिए, “यदि तपाईंको कारण सबैले त्यागे तापनि मचाहिँ कहिल्यै त्याग्नेछैनँ।”

34येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, आज राति नै भाले बास्‍नुअगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”

35तर पत्रुसले भने, “म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यही प्रकारले भने।

36तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीँ बस!”

37उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, र उहाँ दुःखित र व्याकुल हुन थाल्नुभयो।

38तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!”

39अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”

40तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ?

41जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।”

42उहाँ दोस्रोपल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।”

43जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो; किनकि तिनीहरूका आँखा लोलाएका थिए।

44यसकारण उहाँले तिनीहरूलाई छोडेर एकपल्ट फेरि गएर उही शब्दहरू दोहोर्‍याउँदै प्रार्थना गर्नुभयो।

45तब उहाँ चेलाहरूकहाँ फर्किआएर तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ।

46उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”

47उहाँ बोलिरहनुभएकै बेला, बाह्र जनामध्ये एक जना यहूदा आइपुग्यो। ऊसँग मुख्य पुजारीहरू र जनताका प्रधानहरूद्वारा पठाइएका ठूलो भीड तरवार र लाठाहरू लिएर आएको थियो।

48त्यस विश्‍वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्रनू।”

49यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो।

50येशूले त्यसलाई भन्‍नुभयो, “मित्र, तिमी जे गर्न आएका हौ, त्यो गरिहाल।” तब ती मानिसहरू अगि बढेर येशूलाई पक्रे, र हिरासतमा लिए।

51यो देखेर येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुत्यो, र प्रधान पुजारीको सेवकलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।

52येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार फेरि म्यानमै राख; किनकि जसले तरवार चलाउँछ, त्यो तरवारद्वारा नै नष्‍ट हुनेछ।

53तिमीलाई कस्तो लाग्छ, के म आफ्ना पितासित बिन्ती गर्दा, उहाँले मलाई झट्टै बाह्र पल्टनभन्दा बढी दूतहरू पठाइदिन सक्नुहुन्‍न र?

54तर यदि मैले त्यसो गरेँ भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्‍ने कुरा कसरी पूरा हुने त?”

55त्यस बेला येशूले त्यस भीडलाई भन्‍नुभयो, “के म एउटा राजद्रोहको अगुवाइ गरिरहेको छु र? अनि तपाईंहरू मलाई पक्रन तरवार र लाठाहरू लिएर आउनुभयो? म त दिनहुँ मन्दिरको चोकमा सिकाउँदै बस्थेँ, र तपाईंहरूले मलाई पक्रनुभएन।

56तर अगमवक्ताहरूले लेखेका कुराहरू पूरा हुनलाई नै यी सबै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोडेर भागे।

57येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ व्यवस्थाका शिक्षकहरू र प्रधानहरू भेला भएका थिए।

58तर पत्रुसचाहिँ उहाँलाई टाढैबाट पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। तिनी भित्र पसेर के हुँदोरहेछ भनी हेर्नलाई सिपाहीहरूसित बसे।

59मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा झूटा प्रमाणहरू खोजिरहेका थिए।

60तर धेरै झूटा साक्षीहरू अगि सरेर आए, तापनि तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जनाले अगि सरेर

61घोषणा गरे, “यस मानिसले भन्यो, ‘म परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा फेरि बनाउन सक्छु।’ ”

62तब प्रधान पुजारी उठेर येशूलाई भने, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?”

63तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, “म जीवित परमेश्‍वरको नाममा भन्दछु: तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस् भने हामीलाई भन्।”

64येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्‍नुभयो, तर म तपाईंहरू सबैलाई भन्दछु: भविष्यमा तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसिरहेको, र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।”

65तब प्रधान पुजारीले आफ्नो वस्त्रहरू च्यातेर भने, “यसले ईश्‍वरनिन्दा गरेको छ! अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? हेर्नुहोस्, अहिले तपाईंहरूले ईश्‍वरनिन्दा सुनिहाल्नुभयो।

66तपाईंहरू के विचार गर्नुहुन्छ?” तब तिनीहरूले जवाफ दिए, “यो मृत्युदण्डको योग्य छ।”

67तब तिनीहरूले उहाँको अनुहारमा थुके, मुक्‍का लगाए। अरूले थप्पड लगाएर

68भने, “हे ख्रीष्‍ट, हामीलाई अगमवाणी गरेर भन्, तँलाई हिर्काउने को हो?”

69अब पत्रुस बाहिर चोकमा बसिरहेका थिए। अनि एउटी सेविका तिनी भएको ठाउँमा आई, र भनी, “गालीलका येशूसित तिमी पनि थियौ।”

70तर तिनले सबैको सामु यो कुरा इन्कार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म केही जान्दिनँ।”

71तब तिनी ढोकाबाहिर गए, जहाँ तिनलाई अर्की सेविकाले देखी र त्यसले त्यहाँ भएका मानिसहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसित थियो।”

72तिनले शपथ खाएर फेरि इन्कार गरे, “म यस मानिसलाई चिन्दिनँ।”

73केही बेरपछि त्यहाँ उभिनेहरूले पत्रुसकहाँ गएर भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीचालीले त्यही भन्छ।”

74तब तिनले आफूलाई धिक्‍कार्दै शपथ खाएर तिनीहरूलाई भने, “म यस मानिसलाई चिन्दै चिन्दिनँ।” तब तत्कालै भाले बास्यो।

75अनि पत्रुसले तिनलाई येशूले यसो भन्‍नुभएको यो वचन सम्झे, “भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath