मत्ती 25
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“त्यस समय स्वर्गको राज्य दश जना कन्याहरूजस्तो हुनेछ, जसले आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए।
2तीमध्ये पाँच जना निर्बुद्धिहरू र पाँच जना बुद्धिमतीहरू थिए।
3ती निर्बुद्धिहरूले बत्तीहरू त लगे, तर तेल लगेनन्।
4तर ती बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीहरूसित भाँडोमा तेल पनि लगे।
5दुलहाले आउन ढिलो गरेकाले तिनीहरू सबैलाई निन्द्रा लाग्न थाल्यो, र भुसुक्क निदाए।
6“मध्यरातमा एउटा आवाज सुनियो: ‘लौ दुलहा यहाँ आइपुगेका छन्! उनलाई भेट्न निस्किआओ!’
7“तब सबै कन्याहरू उठे, र आफ्ना बत्तीहरू ठिक पारे।
8ती निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका तेलबाट केही देओ; किनकि हाम्रा बत्तीहरू निभ्दैछन्।’
9“तिनीहरूले जवाफ दिए, ‘हुँदैन, सायद हामी र तिमीहरू दुवैका लागि यो प्रशस्त नहोला। बरु तेल बेच्नेहरूकहाँ जाओ, र आफ्ना लागि केही किन।’
10“तर जब तिनीहरू तेल किन्न निस्के, तब दुलहा आइपुगिहाले। ती तयार रहेका कन्याहरू तिनीसित विवाहको भोजमा प्रवेश गरिहाले। अनि ढोका बन्द भयो।
11“पछिबाट ती अरू पनि आए, र भने, ‘प्रभु! हे प्रभु! हाम्रा लागि ढोका खोलिदिनुहोस्!’
12“तर तिनले जवाफ दिए, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’
13“यसकारण जागा रहो; किनकि त्यो दिन र समय तिमीहरू जान्दैनौ।
14“फेरि, स्वर्गको राज्य यात्रामा जान लागेको त्यो मानिसजस्तो हो, जसले आफ्ना सेवकहरूलाई बोलाएर तिनीहरूलाई आफ्ना सम्पत्तिको जिम्मा दिए।
15तिनीहरूका योग्यताअनुसार तिनले एउटालाई पाँच झोला सुनका सिक्का, अर्कोलाई दुई झोला सुनका सिक्का र अर्कोलाई एक झोला सुनका सिक्का दिए। त्यसपछि तिनी आफ्ना यात्रामा लागे।
16पाँच झोला सुनका सिक्का पाउने मानिस तुरुन्तै गएर आफ्नो पैसा काममा लगायो र अरू पाँच झोला सुन कमायो।
17दुई झोला सुनका सिक्का पाउनेले पनि त्यसै गरी अरू दुई झोला कमायो।
18तर एक झोला सुनका सिक्का पाउने मानिस गयो, र भुइँमा खनेर उसका मालिकको धनसम्पत्ति लुकायो।
19“धेरै समय बितेपछि ती सेवकहरूका मालिक फर्किआए, र तिनीहरूसित हिसाब मागे।
20पाँच झोला सुनका सिक्का पाउने मानिसले अरू पाँच ल्यायो। उसले भन्यो, ‘हजुर, तपाईंले मलाई पाँच झोला सुनका सिक्का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच झोला सुन कमाएँ।’
21“त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
22“दुई झोला सुनका सिक्का पाउने मानिस पनि आयो। त्यसले भन्यो, ‘हजुर, तपाईंले मलाई दुई झोला सुनका सिक्का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई झोला सुन कमाएँ।’
23“त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
24“त्यसपछि एक झोला सुनको सिक्का पाउने मानिस आयो। त्यसले भन्यो ‘मालिक, म जान्दछु कि तपाईं नरोपेको ठाउँमा कटनी गर्नुहुने र बिउ नछरेको ठाउँमा बटुल्नुहुने कठोर मानिस हुनुहुन्छ।
25तसर्थ म डराएँ, र गएर तपाईंको सुन भुइँमा लुकाएर राखेँ। हेर्नुहोस्, तपाईंको त्यो सुन यहाँ छ।’
26“त्यसका मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे सेवक! मैले नछरेको ठाउँमा म कटनी गर्छु, र बिउ नरोपेको ठाउँमा बटुल्छु भन्ने तँलाई थाहा थियो?
27त्यसो भए, तैँले मेरो धनसम्पत्ति साहुकहाँ राख्नु पर्नेथियो, र म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउनेथिएँ।
28“ ‘त्यसबाट त्यो सुनको सिक्काको झोला लेओ, र जससित दश झोला छ, त्यसलाई देओ।
29किनकि जससित छ, त्यसलाई अरू दिइनेछ, र त्यससित प्रशस्त हुनेछ। जससित छैन, त्यससित भएको पनि खोसिनेछ।
30अनि त्यस बेकामे सेवकलाई बाहिरको अन्धकारमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’
31“जब मानिसको पुत्र आफ्नो महिमामा सबै दूतहरूसित आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ।
32सारा राष्ट्रहरू उसको अगि भेला गराइनेछन्; अनि गोठालाले बाख्राहरूबाट भेडाहरू अलग गरेझैँ, उसले मानिसहरूलाई एक-अर्कादेखि अलग गर्ने।
33उसले भेडाहरूलाई आफ्नो दाहिनेतिर र बाख्राहरूलाई आफ्नो देब्रेतिर राख्नेछ।
34“तब आफ्ना दाहिनेतिरका मानिसहरूलाई राजाले भन्नेछन्, ‘आओ, मेरा पिताका धन्य जनहरू हो, संसारको उत्पत्तिदेखि तिमीहरूका लागि तयार पारिएको राज्यको, तिमीहरू उत्तराधिकारी होओ।
35किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खानेकुरा दियौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउने कुरा दियौ। म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गर्यौ,
36मलाई वस्त्रको खाँचो थियो, र तिमीहरूले मलाई पहिर्यायौ। म बिरामी थिएँ, र तिमीहरू मलाई हेर्न आयौ। म झ्यालखानामा थिएँ, र तिमीहरू मलाई भेट्न आयौ।’
37“तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौँ र खुवायौँ, अथवा तिर्खाएका देख्यौँ र पिउन दियौँ?
38हामीले तपाईंलाई कहिले परदेशी देख्यौँ, र भित्र स्वागत गर्यौँ अथवा वस्त्रको अभावमा पहिर्यायौँ?
39हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौँ, र तपाईंलाई भेट्न गयौँ?’
40“राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
41“तब तिनले आफ्ना देब्रेतिरकाहरूलाई भन्नेछन्, ‘हे श्रापितहरू हो, मबाट टाढा भएर शैतान र त्यसका दूतहरूका लागि तयार पारिएको अनन्तको आगोमा जाओ।
42किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खान दिएनौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउन दिएनौ।
43म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गरेनौ। मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्याएनौ। म बिरामी र झ्यालखानामा थिएँ, र तिमीहरूले मेरो हेरचाह गरेनौ।’
44“तिनीहरूले पनि जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका अथवा तिर्खाएका, अथवा परदेशी, अथवा वस्त्रको खाँचोमा पर्नुभएको, अथवा बिरामी अथवा झ्यालखानामा देख्यौँ, र तपाईंलाई सहायता दिएनौँ?’
45“उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई जे गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’
46“तब तिनीहरू अनन्तको दण्डमा, तर धर्मी जनहरू अनन्तको जीवनमा प्रवेश गर्नेछन्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath