ईसाई धर्म
पछाडि

मत्ती 22

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1येशूले फेरि तिनीहरूसित दृष्‍टान्तहरूमा बोल्दै यसो भन्‍नुभयो:

2“स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना पुत्रका विवाहको लागि एउटा भोज तयार गरे।

3तिनले आफ्ना सेवकहरूलाई भोजमा निम्तो पाएकाहरूलाई बोलाउन पठाए; तर तिनीहरूले आउन अस्वीकार गरे।

4“तब तिनले अझ बढी सेवकहरू पठाए र भने, ‘ती निम्ता गरिएकाहरूलाई मैले मेरो भोज तयार पारेको छु भनी भन: मोटा-मोटा पशुहरू मारेर व्यञ्जन तयार गरिएका छन्; अनि सबै थोक तयार छन्। विवाहको भोजमा आओ।’

5“तर ती कसैले पनि ध्यान दिएनन्; अनि एउटा आफ्नो खेततिर र अर्कोचाहिँ आफ्नो व्यापारतिर गइहाले।

6अरू बाँकी रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे र मारे।

7राजा अति रिसाए, र तिनले आफ्ना सेनाहरू पठाए, र ती हत्याराहरूलाई नाश पारिदिए, र तिनीहरूका सहरहरू जलाइदिए।

8“तब तिनले आफ्ना सेवकहरूलाई भने, ‘विवाहको भोज त तयार छ, तर ती निम्त्याइएकाहरू आउन योग्यका ठहरिएनन्।

9यसकारण सडकका कुनाहरूतिर जाओ, र जसलाई भेट्टाउँछौ, त्यसलाई भोजमा आउन निम्तो देओ।’

10यसकारण ती सेवकहरू सडकतिर गए, र के असल के खराब, भेटेजति सबै मानिसहरूलाई जम्मा गरेर ल्याए; अनि विवाहको घर पाहुनाहरूले भरियो।

11“तर जब राजा ती पाहुनाहरूलाई हेर्न भित्र आए, त्यहाँ तिनले विवाहको वस्त्र नलाएको एक जना मानिसलाई देखे।

12तिनले सोधे, ‘ए साथी, तिमी विवाहको वस्त्रविना कसरी भित्र आयौ?’ त्यो मानिस निरुत्तर भयो।

13“तब राजाले कर्मचारीहरूलाई भने, ‘यसका हातखुट्टा बाँधेर बाहिर अँध्यारोमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’

14“किनकि बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।”

15त्यसपछि फरिसीहरू बाहिर गइहाले र येशूलाई उहाँकै कुरामा कसरी फसाऔँ भनेर योजना बनाए।

16तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसित उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ, र तपाईंले साँचो गरी परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्‍न; किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्‍न।

17तब हामीलाई तपाईंको विचार भन्‍नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?”

18येशूले तिनीहरूका दुष्‍ट अभिप्राय जानेर भन्‍नुभयो, “ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ?

19कर तिर्दा प्रयोग गरिने सिक्‍का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए।

20अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? र यो छाप कसको हो?”

21“सिजरको,” तिनीहरूले जवाफ दिए। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जे कुरा सिजरको हो, त्यो सिजरलाई देओ, र जे कुरा परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।”

22जब तिनीहरूले यो सुने, तिनीहरू छक्‍क परे, र उहाँलाई छोडेर गइहाले।

23त्यही दिन पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ एउटा प्रश्न लिएर आए।

24तिनीहरूले भने, “हे गुरु, मोशाले हामीलाई भनेका थिए, यदि कुनै मानिस बालबच्‍चा नभईकन मर्‍यो भने उसको भाइले त्यस विधवालाई विवाह गरेर उसका लागि बालबच्‍चा जन्माउनुपर्छ।

25अब हाम्रो बीचमा सात भाइहरू थिए। पहिलोले विवाह गर्‍यो, तर ऊ मर्‍यो; अनि उसका बालबच्‍चा नभएकोले उसले आफ्नी पत्नीलाई भाइका निम्ति छोड्नुपर्‍यो।

26त्यही घटना दोस्रो भाइसित, तेस्रो भाइसित र सातौँसम्म नै घट्यो।

27अन्त्यमा त्यो स्त्री पनि मरी।

28अब पुनरुत्थानमा त्यो स्त्री सात जनामध्ये कसकी पत्नी हुनेछे? किनकि त्यसको विवाह ती सबैसँग भएको थियो।”

29येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्‍वरको शक्तिलाई नजानेकाले भ्रममा परेका छौ।

30पुनरुत्थानमा मानिसहरू न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्।

31तर मरेकाहरूको पुनरुत्थानको विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, के तिमीहरूले पढेका छैनौ?

32‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर, र याकोबका परमेश्‍वर हुँ।’ उहाँ मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ।”

33जब भीडहरूले यो सुने, तिनीहरू उहाँका शिक्षामा छक्‍क परे।

34येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने सुनेर फरिसीहरू एकसाथ भेला भए।

35तीमध्ये एक जना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गरे:

36“हे गुरु, व्यवस्थामा सबैभन्दा महान् आज्ञा कुनचाहिँ हो?”

37येशूले जवाफ दिनुभयो: “ ‘परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’

38यही नै पहिलो र सबैभन्दा महान् आज्ञा हो।

39अनि दोस्रो पनि उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूले आफ्ना छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’

40सबै व्यवस्था र अगमवक्ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्।”

41फरिसीहरू एकसाथ भेला भएका बेलामा येशूले तिनीहरूलाई सोध्नुभयो,

42“तिमीहरू ख्रीष्‍टको विषयमा के विचार गर्छौ? उनी कसका पुत्र हुन्?” तिनीहरूले जवाफ दिए, “दावीदका पुत्र।”

43उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए दावीदले आत्माद्वारा बोल्दैगर्दा उहाँलाई कसरी ‘प्रभु’ भने? किनकि तिनी भन्छन्,

44“ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’

45यदि दावीदले उहाँलाई ‘प्रभु’ भन्छन् भने कसरी उहाँ तिनका पुत्र हुन सक्छन्?”

46यसको जवाफमा कसैले एक शब्द पनि भन्‍न सकेन। त्यस दिनदेखि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath