मत्ती 20
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“स्वर्गको राज्य एक जना जमिनको मालिकजस्तै हो, जो आफ्ना दाखबारीका लागि खेतालाहरू खोज्न बिहानै निस्क्यो।
2तिनीहरूलाई दिनको एक दिनार ज्याला दिन राजी भयो, र तिनीहरूलाई दाखबारीमा काम गर्न पठायो।
3“करिब बिहान नौ बजेतिर तिनी बाहिर गयो, र बजारमा कतिलाई केही नगरी उभिरहेका देख्यो।
4उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर; अनि जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु।’
5अनि तिनीहरू गए। “ऊ फेरि दिउँसो बाह्र बजेतिर र करिब दिउँसोको तीन बजेतिर बाहिर गयो; अनि त्यसै गर्यो।
6अनि बेलुकाको पाँच बजेतिर ऊ बाहिर गयो, र अझ अरूलाई त्यसै उभिरहेका देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘तिमीहरू यहाँ केही नगरी किन दिनभरि उभिरहेका छौ?’
7“तिनीहरूले जवाफ दिए, ‘हामीलाई कसैले काममा लगाएनन्।’ “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर।’
8“जब साँझ पर्यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाऊ, र काममा सबैभन्दा पछि आउनेहरूदेखि सुरु गरेर पहिले आएकाहरूसम्म सबैलाई तिनीहरूको ज्याला देऊ।’
9“बेलुका पाँच बजेतिर काममा लगाइएका खेतालाहरू पनि आए, र हरेकले एक-एक दिनार पाए।
10तसर्थ जब ती पहिला काममा लगाइएकाहरू आए, तब तिनीहरूले बढी पाउने आशा राखेका थिए; तर तिनीहरू हरेकले पनि एक-एक दिनार नै ज्याला पाए।
11जब तिनीहरूले आ-आफ्ना ज्याला पाए, तब तिनीहरू जमिनको मालिकसित गुनासो गर्न थाले।
12तिनीहरू गएर यसो भने, ‘यी पछि आएका काममा लगाइएका मानिसहरूले त एक घण्टाजति मात्र काम गरेका छन्, तर हामीले दिनभरि काम गरेका छौँ, र दिनको चर्को घाम सहेका छौँ। तर तपाईंले हामीसित तिनीहरूलाई बराबर तुल्याउनुभएको छ।’
13“तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, ‘मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमी दिनको एक दिनारको हिसाबले काम गर्न राजी भएका थिएनौ र?
14तिम्रो ज्याला लिएर जाऊ। म यस ढिलो काममा आउने मानिसलाई पनि तिमीलाई दिएको जति नै दिन चाहन्छु।
15मेरो आफ्नै रकमलाई म जे गर्न चाहन्छु, त्यो गर्ने अधिकार मलाई छैन र? अथवा के म दयालु भएकोमा तिमी ईर्ष्या गर्छौ?’
16“यसकारण पछिल्ला हुनेहरू पहिला हुनेछन्, र पहिला हुनेहरू पछिल्ला हुनेछन्।”
17जब येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, तब उहाँले साथमा बाह्र जनालाई एकातिर लगेर तिनीहरूलाई भन्नुभयो,
18“हामी यरूशलेमतर्फ जाँदैछौँ; अनि मानिसको पुत्रलाई मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्;
19अनि उसलाई गैरयहूदीहरूका हातमा गिल्ला गर्न, कोर्रा लगाउन र क्रूसमा चढाउनको लागि दिनेछन्; अनि ऊ तेस्रो दिनमा फेरि जीवित भई उठ्नेछ!”
20तब जब्दीका छोराहरूकी आमा आफ्ना छोराहरूको साथमा येशूकहाँ आइन्, र घुँडा टेकेर उहाँसँग बिन्ती गर्न लागिन्।
21उहाँले सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?” उनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा मेरा यी दुई छोराहरूमध्ये एउटा तपाईंको दाहिनेतिर, र अर्कोचाहिँ देब्रेतिर बस्न पाउने मन्जुरी दिनुहोस्।”
22येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले के माग्दै छौ, त्यो जान्दैनौ। के मैले पिउन लागेको कष्टको कचौरा तिमीहरू पिउन सक्छौ?” अनि तिनीहरूले, “हामी सक्छौँ” भनी जवाफ दिए।
23येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले अवश्य मेरो कचौराबाट पिउनेछौ, तर मेरो दाहिने अथवा देब्रेतिर बस्नदिने अधिकारचाहिँ मेरो होइन। यी ठाउँहरू तिनीहरूका लागि हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।”
24जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू ती दुई भाइहरूसित रिसाए।
25येशूले तिनीहरूलाई एकसाथ बोलाएर भन्नुभयो, “गैरयहूदीहरूका शासकहरूले तिनीहरूमाथि शासन गर्दछन्, र तिनीहरूका उच्च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन् भनी तिमीहरू जान्दछौ।
26तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन। बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ।
27अनि तिमीहरूमध्ये जो श्रेष्ठ हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनैपर्छ।
28यसरी नै मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।”
29येशू र उहाँका चेलाहरूले जब यरीहो छोड्नुभयो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो।
30दुई जना दृष्टिविहीन मानिसहरू बाटोको छेउमा बसिरहेका थिए; अनि जब येशू त्यहाँबाट जाँदैहुनुहुन्छ भन्ने तिनीहरूले सुने, तब तिनीहरू यसो भन्दै कराए, “हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”
31भीडले तिनीहरूलाई चुप लागून् भनेर हकारे, तर तिनीहरू झन् चर्को सोरमा कराए, “हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”
32येशू रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, “म तिमीहरूका निम्ति के गरूँ भनी तिमीहरू चाहन्छौ?”
33तिनीहरूले जवाफ दिए, “हे प्रभु, हामीले आफ्नो दृष्टि पाऔँ।”
34येशू तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका आँखा छोइदिनुभयो। तुरुन्तै तिनीहरूले आफ्नो दृष्टि पाइहाले, र उहाँलाई पछ्याए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath