मत्ती 18
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यस समयमा चेलाहरूले येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?”
2उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो,
3र भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ।
4यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ;
5अनि जसले यसरी एउटा बालकलाई मेरो नाममा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ।
6“यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने त्यसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रको गहिराइमा डुबाइएको भए असल हुनेथियो।
7पाप गर्न लगाउने कुराहरूको लागि यस संसारलाई धिक्कार! किनभने यस्ता कुराहरू अवश्य आउँछन्; तर धिक्कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्!
8तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।
9अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।
10“होसियार रहो, तिमीहरूबाट यी सानाहरूमध्ये एउटा पनि हेला नहोऊन्। किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतले सधैँ स्वर्गमा हुने मेरा पिताको अनुहार हेर्दछन्।
11किनकि मानिसको पुत्र हराएकालाई बचाउन आएको हो।
12“तिमीहरूलाई के लाग्छ? यदि कुनै मानिसका एक सय भेडाहरू छन्, र तीमध्ये एउटा बाटो बिराएर गयो भने उसले उनान्सयलाई पहाडमा छोडेर त्यस बाटो बिराएर जाने एउटालाई खोज्न जाँदैन र?
13म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यो भेट्टाएपछि बाटो नबिराउने ती उनान्सयभन्दा त्यस एउटाप्रति ऊ आनन्दित हुनेछ।
14यसकारण यी सानाहरूमध्ये एउटै पनि नहराओस् भन्ने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले इच्छा गर्नुहुन्छ।
15“यदि तिम्रो सहविश्वासीले तिम्रो विरुद्धमा पाप गर्यो भने सीधै तिमीले उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले उसलाई जित्यौ।
16तर यदि उसले सुनेन भने आफ्नो साथमा अरू एक वा दुई जनालाई लैजाऊ र ‘दुई वा तीन साक्षीहरूद्वारा हरेक कुरा पक्का भएको होस्।’
17यदि उसले तिनीहरूका कुरा पनि मानेन भने मण्डलीलाई यो भनिदेऊ। तर उसले मण्डलीको कुरा पनि मानेन भने तिमीले तिनीप्रति गैरयहूदीहरू र कर उठाउनेहरूप्रति झैँ व्यवहार गर।
18“म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ।
19“साँच्चै, म तिमीहरूलाई फेरि भन्दछु, पृथ्वीमा यदि तिमीहरूमध्ये दुई जनाले एकमत भएर जे माग्छौ, त्यो तिमीहरूका निम्ति स्वर्गमा हुनुहुने मेरा पिताद्वारा दिइनेछ।
20किनकि जहाँ दुई वा तीन जना मेरो नाममा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।”
21तब पत्रुसले येशूकहाँ आएर सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गर्दा मैले उसलाई कति पटक क्षमा गरूँ? के सातपल्ट?”
22येशूले जवाफ दिनुभयो, “म तिमीलाई भन्दछु, सातपल्ट होइन, तर सात गुणा सत्तरी पल्ट।
23“यसकारण स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना सेवकहरूबाट हिसाब लिने इच्छा गरे।
24तिनले जब त्यसो गर्न थाले, तब दश हजार झोला सुनका सिक्का ऋण लिएको मानिसलाई तिनीकहाँ ल्याइयो।
25उसले तिर्न नसकेको कारण त्यस मालिकले त्यो ऋण तिर्नका लागि त्यो मानिस, उसकी पत्नी, उसका बालबच्चाहरू र ऊसँग भएका सबै थोक बेचियोस् भन्ने हुकुम दिए।
26“त्यस सेवकले तिनको अगि घुँडा टेकेर बिन्ती गर्यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’
27त्यस सेवकको मालिकले त्यसमाथि दया गरेर त्यो ऋण माफी गरिदिए, र त्यसलाई जान दिए।
28“तर त्यो सेवक गयो, र ऊसँग काम गर्ने एउटा सेवकलाई भेट्टायो, जससित उसको एक सय चाँदीका सिक्का ऋण थियो। उसले त्यसलाई पक्रेर त्यसको घोक्रो अँठ्यायो अनि ‘मेरो ऋण तिरिहाल्’ भनेर माग गर्यो।
29“ऊसँग काम गर्ने त्यस सेवकले उसको अगि घुँडा टेकेर बिन्ती गर्यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’
30“तर उसले अस्वीकार गर्यो। अनि गएर त्यसले ऋण नतिरुन्जेल त्यस मानिसलाई झ्यालखानामा हालिदियो।
31तर जे घटना भएको थियो, त्यो अरू सेवकहरूले देखेपछि तिनीहरू अति दुःखित भए, र गएर जे भएको थियो, त्यो कुरा आफ्ना मालिकलाई भनिदिए।
32“तब त्यस मालिकले त्यस सेवकलाई भित्र बोलाएर भने, ‘तँ दुष्ट सेवक, तैँले मसित क्षमा मागेको कारण मैले तेरा सबै ऋण माफ गरिदिएँ।
33मैले तँमाथि दया देखाएझैँ, के तैँले पनि आफ्नो सङ्गी-सेवकप्रति दया देखाउनुपर्ने थिएन र?’
34रिसमा त्यस मालिकले त्यसलाई सम्पूर्ण ऋण नतिरेसम्म कष्ट पाउनलाई झ्यालखानाका अधिकारीहरूकहाँ सुम्पिदिए।
35“तिमीहरूले पनि आफ्ना सहविश्वासीलाई हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूप्रति यस्तै व्यवहार गर्नुहुनेछ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath