मत्ती 12
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यस बेला येशू शब्बाथ दिनमा अन्नका खेतबारीहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएका थिए। अनि तिनीहरूले अन्नका केही बालाहरू टिपेर खान थाले।
2यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले शब्बाथ दिनमा उचित नहुने काम गरिरहेका छन्।”
3उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले पढेका छैनौ? दावीदले आफू र आफ्ना साथीहरू भोकाएका बेला के गरेका थिए?
4तिनी परमेश्वरको भवनभित्र पसे, र तिनी र तिनका साथीहरूले परमेश्वरलाई अर्पण गरिएको रोटी खाए, जुन रोटी केवल पुजारीहरूले मात्र खान उचित थियो; तर अरूको लागि उचित थिएन।
5अथवा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ? शब्बाथ दिनमा मन्दिरभित्र भएका पुजारीहरूले त्यस दिनलाई अपवित्र तुल्याउँछन्, तैपनि निर्दोष नै रहन्छन्?
6म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् यहाँ कोही एक जना हुनुहुन्छ।
7यदि तिमीहरूले यो कुरा अर्थात् ‘म बलिदान होइन, तर दया चाहन्छु’ भन्ने बुझेका भए, तिमीहरूले निर्दोषलाई दोषी ठहराउने थिएनौ।
8किनकि मानिसको पुत्र शब्बाथ दिनको पनि प्रभु हो।”
9त्यस ठाउँदेखि अगि बढ्दै उहाँ तिनीहरूका सभाघरमा जानुभयो।
10त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो। येशूलाई दोष लगाउने कारण भेट्टाउनलाई तिनीहरूले उहाँलाई सोधे, “के शब्बाथमा निको पार्नु उचित छ?”
11उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरूको एउटा भेडा छ; अनि त्यो शब्बाथ दिनमा खाडलभित्र खस्यो भने के तिमीहरूले त्यसलाई समातेर बाहिर निकाल्नेछैनौ र?
12मानिस भेडाभन्दा कति मूल्यवान् हुन्छ! यसकारण शब्बाथ दिनमा असल गर्नु उचित हुन्छ।”
13तब उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात सीधा पसार।” त्यसले सीधा पसार्यो, र त्यसको हात अर्कोजस्तै निको भयो।
14तर फरिसीहरू बाहिर गइहाले; अनि येशूलाई कसरी मार्ने भनी षड्यन्त्र रच्न थाले।
15त्यो कुरा थाहा पाएर येशू त्यस ठाउँबाट गइहाल्नुभयो। एउटा ठूलो भीड उहाँका पछि लागे; र उहाँले तिनीहरूका सबै बिरामीहरूलाई निको पार्नुभयो।
16अनि उहाँ को हुनुहुन्छ त्यो कसैलाई नभन्नू भनी चेतावनी दिनुभयो।
17यो यशैयाबाट भनिएको कुरा पूरा हुनलाई थियो:
18“यिनी मेरा सेवक हुन्, जसलाई मैले चुनेको छु, जसलाई म प्रेम गर्छु, जससँग म प्रसन्न छु; म मेरो आत्मा तिनीमाथि राख्नेछु, अनि तिनले राष्ट्रहरूलाई न्यायको घोषणा गर्नेछन्।
19तिनले झगडा गर्नेछैनन्, न त चिच्याउनेछन्; तिनको सोर सडकतिर कसैले पनि सुन्नेछैन।
20चोट परेको निगालोलाई तिनले भाँच्नेछैनन्, अनि धुवाँ आउँदैगरेको सलेदोलाई तिनले निभाउनेछैनन्, जबसम्म तिनले न्यायलाई विजयसम्म पुर्याउँदैनन्।
21तिनकै नाममा राष्ट्रहरूले आफ्ना आशा राख्नेछन्।”
22तब तिनीहरूले उहाँकहाँ एक जना भूत लागेको मानिसलाई ल्याए, जो दृष्टिविहीन थियो, र बोल्न पनि सक्दैनथियो; अनि येशूले त्यसलाई निको पार्नुभयो, र त्यसले देख्न र बोल्न पनि सक्यो।
23ती सबै मानिसहरू छक्क पर्दै भने, “के यिनी नै दावीदका पुत्र होइनन् र?”
24तर जब फरिसीहरूले यो सुने, तब तिनीहरूले भने, “यसले त केवल भूतहरूको शासक बालजिबुलद्वारा मात्रै भूतहरू धपाउँछ।”
25येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “आपसमा फाटो भएको प्रत्येक राज्य नष्ट भएर जान्छ, र प्रत्येक सहर र परिवार आपसमा विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन।
26यदि शैतानले शैतानलाई धपाउँछ भने त्यो आफ्नै विरुद्धमा विभाजित भएको हुन्छ; तब त्यसको राज्य कसरी टिक्न सक्छ?
27यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका मानिसहरूले चाहिँ कसको शक्तिद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्।
28तर यदि म परमेश्वरको आत्माले भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ।
29“अथवा फेरि, कसैले घरको बलियो मानिसलाई पहिला नबाँधि कसरी उसको घरमा पसेर उसका सबै थोकहरू लैजान सक्ला र? तर उसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ।
30“जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ।
31यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन।
32कसैले मानिसको पुत्रको विरुद्धमा केही बोल्यो भने त्यसलाई क्षमा गरिनेछ; तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई न यस समयमा, न त आउने समयमा नै क्षमा गरिनेछ।
33“रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, र त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ।
34हे सर्पका सन्तान हो, तिमीहरू दुष्ट भईकन कसरी केही कुरालाई असल भन्न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
35असल मानिसले आफ्नो असल भण्डारबाट असल कुराहरू निकाल्छ, र दुष्ट मानिसले आफ्नो दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ।
36तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ।
37किनकि तिम्रा आफ्नै बोलीहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा आफ्नै बोलीहरूले तिमी दोषी ठहरिनेछौ।”
38एक दिन केही फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँलाई भने, “हे गुरु, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौँ।”
39उहाँले जवाफ दिनुभयो, “दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ! तर यसलाई अगमवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।
40किनकि जसरी योना एउटा विशाल माछाको पेटमा तीन दिन र तीन रात रहेका थिए, त्यसरी नै मानिसको पुत्र पनि पृथ्वीभित्र तीन दिन र तीन रात रहनेछ।
41न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरेका थिए; तर हेर योनाभन्दा महान् एक जना यहाँ छन्।
42न्यायको समयमा दक्षिणकी रानी यस पुस्तासित खडा भएर यस पुस्तालाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्नलाई पृथ्वीको पल्लो छेउदेखि आएकी थिइन्, तर हेर सोलोमनभन्दा महान् एक जना यहाँ छन्।
43“जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ; र त्यसले भेट्टाउँदैन।
44तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’ जब त्यो आइपुग्छ, त्यसले त्यो घर खाली, सफा गरिएको र सुव्यवस्थित पाउँछ।
45त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्ट अरू सात आत्माहरूलाई आफूसित लिएर आउँछ, र ती सबै भित्र गएर त्यहीँ बस्छन्। अनि त्यो मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ। यस दुष्ट पुस्तालाई पनि यस्तै हुनेछ।”
46येशू भीडसित बोलिरहनुहुँदा उहाँकी आमा र भाइहरू उहाँसित कुरा गर्नलाई बाहिर उभिएका थिए।
47कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू तपाईंसँग कुरा गर्नका लागि बाहिर उभिरहेका छन्।”
48उहाँले तिनलाई जवाफ दिनुभयो, “मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?”
49तब चेलाहरूतिर देखाएर उहाँले भन्नुभयो, “मेरा आमा र भाइहरू यिनीहरू नै हुन्।
50किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्छ, उही नै मेरो भाइ, बहिनी र आमा हुन्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath