लूका 7
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1येशूले मानिसहरूलाई यी सबै कुराहरू भनिसकेपछि उहाँ कफर्नहुममा आउनुभयो।
2त्यहाँ एक जना सेनापतिको सेवक, जो तिनको प्यारो थियो; त्यो बिरामी भएर मर्नै लागेको थियो।
3ती सेनापतिले जब येशूको बारेमा सुने, तब तिनले यहूदीहरूका केही प्रधानहरूलाई येशूसमक्ष उहाँ आएर तिनको सेवकलाई निको पारिदिनुहुन बिन्ती गर्न पठाए।
4तिनीहरूले येशूकहाँ आएर उहाँलाई आग्रहपूर्वक बिन्ती गरे, “यी मानिस तपाईंले यो काम गरिदिन योग्यका छन्,
5किनकि तिनले हाम्रो जातिलाई प्रेम गर्दछन् र तिनले हाम्रा सभाघर पनि बनाइदिएका हुन्।”
6अनि येशू तिनीहरूसँग जानुभयो। उहाँ घर नजिकै आइपुग्नुभएपछि सेनापतिले आफ्ना मित्रहरूलाई उहाँकहाँ यसो भन्न पठाए: “प्रभु, दुःख नउठाउनुहोस्; किनकि तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको पनि म छैनँ।
7त्यसकारण म आफैँलाई पनि तपाईंकहाँ आउनसक्ने योग्यको ठानिनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ।
8किनकि म आफैँ पनि अधिकारमुनि रहने मानिस हुँ। अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा,’ भन्छु, र त्यो जान्छ। अनि अर्कोलाई ‘आइज,’ भन्छु; र त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्,’ भन्छु, र त्यसले त्यो गर्छ।”
9यो सुनेपछि येशू तिनीसँग आश्चर्यचकित हुनुभयो, र आफूलाई पछ्याइरहेका भीडतिर फर्केर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले यस्तो ठूलो विश्वास इस्राएलीहरूमा पनि देखेको छैनँ।”
10त्यसपछि पठाइएका ती मानिसहरू घरतिर फर्के। अनि सेवकलाई निको भइसकेको भेट्टाए।
11त्यसपछि चाँडै येशू नाइन भनिने एउटा सहरमा जानुभयो। उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँको साथमा गए।
12उहाँ सहरको ढोकानिर पुग्नुहुँदा एउटा मृत व्यक्तिलाई सहरबाहिर लगिँदैथियो—जो आफ्नी विधवा आमाको एउटै मात्र छोरा थियो। सहरको एउटा ठूलो भीड ती विधवाको साथमा थियो।
13प्रभुले तिनलाई देखेपछि उहाँ तिनीप्रति दयालु हुनुभयो र भन्नुभयो, “नरोऊ।”
14त्यसपछि उहाँले गएर अरथीलाई छुनुभयो; र ती बोक्नेहरू टक्क अडिए। अनि उहाँले भन्नुभयो, “ए जवान, म तिमीलाई भन्दछु, उठ!”
15तब त्यो मृत व्यक्ति उठेर बस्यो; त्यो बोल्न थाल्यो। येशूले त्यसलाई त्यसकी आमाको जिम्मा लगाउनुभयो।
16तिनीहरू सबै भयभीत भएर परमेश्वरलाई प्रशंसा गर्दै भने, “हाम्रा बीचमा एक जना महान् अगमवक्ता प्रकट भएका छन्। परमेश्वर आफ्ना मानिसहरूलाई सहायता गर्न आउनुभएको छ।”
17येशूको विषयमा यो खबर सारा यहूदिया प्रदेश र वरिपरिका सम्पूर्ण इलाकाभरि फैलियो।
18यूहन्नाका चेलाहरूले तिनलाई यी सबै कुराको खबर दिए। तीमध्ये दुई जनालाई बोलाएर,
19तिनले प्रभुकहाँ यसो भनी सोध्न पठाए, “जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अझै कसैको प्रतीक्षा गरौँ?”
20ती मानिसहरू येशूकहाँ आएर भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई तपाईंकहाँ यसो भनी सोध्न पठाएका छन्, ‘जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौँ?’ ”
21ठिक त्यही समयमा येशूले रोगीहरू, बिरामीहरू र दुष्ट आत्मा लागेकाहरूलाई निको पार्नुभयो; र धेरै दृष्टिविहीनहरूलाई दृष्टि दिनुभयो।
22त्यसपछि उहाँले ती मानिसहरूलाई जवाफ दिनुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौँ, त्यो यूहन्नालाई बताओ: दृष्टिविहीनहरूले दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कुष्ठरोग लागेकाहरू निको हुन्छन्, बहिराहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन् र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।
23त्यो धन्यको हो, जसको विश्वास मबाट हट्दैन।”
24यूहन्नाका मानिसहरू गएपछि येशूले भीडलाई यूहन्नाको विषयमा भन्न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्लाएको निगालोलाई?
25यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई हेर्न? होइन, महङ्गो लुगा लगाउनेहरू र विलासितामा रहनेहरू त दरबारमा हुन्छन्।
26तर तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्ताभन्दा पनि महान्लाई।
27यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’
28म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा कोही पनि बप्तिस्मा दिने यूहन्नाभन्दा महान् छैन; तापनि परमेश्वरको राज्यमा सानोभन्दा सानो पनि तिनीभन्दा महान् हुन्छ।”
29(सबै मानिसहरू, कर उठाउनेहरूसमेत, सबै जनाले येशूको यो वचन सुनेर परमेश्वरको मार्ग ठिक छ भनी स्वीकार गरे; किनकि तिनीहरूले यूहन्नाद्वारा बप्तिस्मा पाएका थिए।
30तर फरिसीहरू र व्यवस्थाका विद्वान्हरूले परमेश्वरको अभिप्रायलाई अस्वीकार गरे; किनकि तिनीहरूले यूहन्नाद्वारा बप्तिस्मा पाएका थिएनन्।)
31येशूले भन्नुभयो, “अब यस पुस्ताका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू केजस्ता छन्?
32तिनीहरू त बजारमा बसेर एक-अर्कालाई यसो भन्ने बालकहरूजस्ता छन्: “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ, हामीले शोकको गीत गायौँ, तर तिमीहरू रोएनौ।’
33जब बप्तिस्मा दिने यूहन्ना आए, न तिनले रोटी खान्थे, न त दाखमद्य नै पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भनी भन्दछौ।
34मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिमीहरू भन्छौ, ‘हेर, यो घिचुवा र पियक्कड, र कर उठाउनेहरू र पापीहरूको मित्र!’
35तर बुद्धि ठिक हो भन्ने कुरा उसको सबै सन्तानले नै प्रमाणित गर्छन्।”
36एक जना फरिसीले येशूलाई आफूसँग भोजनका लागि निम्तो दिए। उहाँ ती फरिसीको घरमा गएर खान बस्नुभयो।
37जब त्यस सहरमा पापमय जीवन बिताइरहेकी एउटी स्त्रीले येशू ती फरिसीको घरमा भोजनमा बस्नुभएको छ भन्ने सुनी, तब सिङ्गमरमरको एउटा भाँडोमा अत्तर लिएर ऊ त्यहाँ आई।
38अनि उहाँको पछिल्तिरबाट उहाँका पाउनिर उभिएर रुँदै उसले उहाँका पाउ आफ्नो आँसुले भिजाउन थाली। त्यसपछि उसले आफ्नै कपालले उहाँका पाउहरू पुछी। अनि चुम्बन गर्दै ती पाउहरूमा अत्तर घसी।
39उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, “यदि यिनी अगमवक्ता हुँदाहुन् त यिनलाई कसले छुँदैछ, र यो कस्ती चरित्रकी स्त्री हो भनी थाहा पाउनेथिए; किनकि यो त पापी स्त्री हो।”
40येशूले तिनलाई जवाफ दिनुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्नु छ।” तिनले भने, “गुरुज्यू, भन्नुहोस्।”
41“एउटा साहूबाट दुई जनाले ऋण लिएका थिए: एक जनाले पाँच सय र अर्कोले पचास दिनार।
42तिनीहरू कसैसँग ऋण तिर्नलाई केही पनि थिएन; त्यसैले तिनले ती दुवै जनाका ऋण माफी गरिदिए। अब लौ भन, ती दुईमध्ये कुन चाहिँले तिनलाई बढी प्रेम गर्ला?”
43सिमोनले जवाफ दिए, “मेरो विचारमा बढी ऋण माफी पाउनेले।” येशूले भन्नुभयो, “तिमीले ठिक विचार गर्यौ।”
44तब त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो, “यस स्त्रीलाई देख्छौ? म तिम्रो घरमा आएँ। तिमीले मलाई पाउ धुने पानी दिएनौ। तर यसले त आफ्नो आँसुले मेरा पाउ भिजाएर आफ्नै केशले पुछेकी छ।
45तिमीले मलाई चुम्बन गरेनौ; तर यस स्त्रीले त म घरभित्र आएदेखि मेरा पाउहरूमा चुम्बन गर्न छोडेकी छैन।
46तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा पाउहरूमा अत्तर नै खन्याएकी छे।
47त्यसकारण म तिमीलाई भन्दछु, यसका धेरै पापहरू क्षमा भएका छन्; किनकि यसले बढी प्रेम देखाएकी छे। तर जसलाई थोरै मात्र क्षमा गरिन्छ, त्यसले थोरै नै प्रेम गर्दछ।”
48त्यसपछि येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन्।”
49तब अरू पाहुनाहरूले आपसमा भन्न लागे, “पाप पनि क्षमा दिने यिनी को हुन्?”
50येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ; अब शान्तिसाथ जाऊ!”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath