लूका 24
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हप्ताको पहिलो दिन, एकाबिहानै ती स्त्रीहरू आफूले तयार पारेका सुगन्धित मसलाहरू लिएर चिहानमा गए।
2तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए।
3तर जब तिनीहरूभित्र पसे, तिनीहरूले प्रभु येशूको शरीर पाएनन्।
4यस विषयमा तिनीहरू अलमल परिरहेकै बेला, बिजुली चम्केजस्तो चम्किलो लुगा पहिरेका दुई जना एक्कासि तिनीहरूका अगि उभिए।
5ती स्त्रीहरूले भयभीत भएर आफ्ना अनुहार भुइँतिर झुकाए, तर ती मानिसहरूले भने, “जीवित व्यक्तिलाई मृतकहरूका बीचमा तिमीहरू किन खोज्दछौ?
6उहाँ यहाँ हुनुहुन्न। उहाँ जीवित हुनुभएको छ! उहाँ तिमीहरूसँग गालील प्रदेशमा हुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ:
7‘मानिसको पुत्र पापीहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा फेरि जीवित भई उठ्नु आवश्यक छ।’ ”
8तब तिनीहरूले उहाँका वचन सम्झे।
9चिहानबाट फर्केर आएपछि तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई भने।
10प्रेरितहरूलाई यी कुराहरू भन्नेहरूमा मरियम मग्दलिनी, योअन्ना, याकोबकी आमा मरियम र तिनीहरूसँग भएका अरू स्त्रीहरू थिए।
11तर प्रेरितहरूले ती स्त्रीहरूका कुरामा विश्वास गरेनन्, किनकि तिनीहरूका कुरा प्रेरितहरूलाई व्यर्थको जस्तै लाग्यो।
12तर पत्रुस उठे, र चिहानतिर दगुरे। निहुरेर हेर्दा तिनले त्यहाँ मलमलका कपडाका पट्टीहरू मात्र देखे; अनि के भएको हो भन्ने कुरामा उनी अचम्म मान्दै फर्के।
13अब त्यही दिन तिनीहरूमध्ये दुई जना यरूशलेमबाट करिब एघार किलोमिटर टाढामा पर्ने इम्माउस भनिने एउटा गाउँतिर गइरहेका थिए।
14तिनीहरू आपसमा त्यहाँ घटेका सबै कुराहरूका विषयमा बातचित गर्दैथिए।
15तिनीहरूले आपसमा यिनै कुराहरूका विषयमा बातचित र बहस गरिरहेकै बेला, येशू स्वयम् त्यहाँ आएर तिनीहरूकै साथसाथ हिँड्नुभयो।
16तर तिनीहरूले उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए।
17उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू मलिन अनुहार पार्दै टक्क अडिए।
18तिनीहरूमध्येका क्लेओपास नाम भएका एक जनाले उहाँलाई सोधे, “के तपाईं यरूशलेममा आउने एक मात्र आगन्तुक हुनुहुन्छ, जसलाई यी दिनहरूमा त्यहाँ के घटनाहरू भए भन्ने थाहा छैन?”
19उहाँले सोध्नुभयो, “के कुरा?” तिनीहरूले जवाफ दिए, “नासरतको येशूको विषयमा, उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो। अनि परमेश्वर र सबै मानिसहरूका सामु वचन र कर्ममा शक्तिमान् हुनुहुन्थ्यो।
20मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे,
21तर हामीले त इस्राएलको राज्य छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भन्ने आशा गरेका थियौँ। यी सबै कुराहरू छोडेर यी घटनाहरू भएको आज तीन दिन भयो।
22त्यसपछि पनि हामीहरूमध्येका कोही स्त्रीहरूले हामीलाई छक्कै पारे। तिनीहरू आज एकाबिहानै चिहानमा गए,
23तर उहाँको शरीर भेट्टाएनन्। तिनीहरू हामीकहाँ आएर तिनीहरूले उहाँ जीवित हुनुहुन्छ भन्ने स्वर्गदूतहरूको एउटा दर्शन देखेको कुरा सुनाए।
24त्यसपछि हाम्रा साथीहरूमध्ये कोही चिहानमा गए। अनि ती स्त्रीहरूले भनेजस्तै नै भेट्टाए, तर तिनीहरूले उहाँलाई देखेनन्।”
25उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कस्ता अबुझ रहेछौ, र अगमवक्ताहरूले बोलेका सबै कुरा विश्वास गर्न तिमीहरूका हृदय कति सुस्त रहेछ!
26के ख्रीष्टले यी सबै कष्टहरू भोग्न र त्यसपछि आफ्नो महिमामा प्रवेश गर्नुपर्ने आवश्यक थिएन र?”
27अनि मोशा र अगमवक्ताहरूबाट सुरु गरेर उहाँले सम्पूर्ण धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका सबै कुराहरूको अर्थ तिनीहरूलाई व्याख्या गरिदिनुभयो।
28तिनीहरू जुन गाउँमा गइरहेका थिए, त्यसको नजिकै आइपुगेपछि येशू उहाँ अझै पर जान खोज्नुभयो।
29तर तिनीहरूले उहाँलाई कर गर्दै बिन्ती गरे, “हामीसँग नै बस्नुहोस्; किनकि अब साँझ पर्दैछ। अनि दिन पनि ढल्किसकेको छ।” तब तिनीहरूसँगै बस्न उहाँ भित्र पस्नुभयो।
30जब उहाँ तिनीहरूसँगै टेबुलमा हुनुहुन्थ्यो, तब उहाँले रोटी लिएर परमेश्वरलाई धन्यवाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो।
31त्यस बेला तिनीहरूका आँखा खोलिए, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँ तिनीहरूका दृष्टिबाट ओझेल हुनुभयो।
32तिनीहरूले आपसमा भने, “के उहाँ बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा, र हाम्रा निम्ति धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”
33तिनीहरू उठे, र तुरुन्तै यरूशलेम फर्के। त्यहाँ तिनीहरूले एघार जना र तिनीहरूसँग हुनेहरूलाई एकैसाथ भेला भएका भेटे।
34अनि तिनीहरूलाई भने, “यो सत्य रहेछ! प्रभु जीवित पारिनुभएको र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।”
35त्यसपछि ती दुई जनाले बाटोमा के भएको थियो र उहाँले रोटी भाँच्नुहुँदा कसरी येशूलाई तिनीहरूले चिने, सो विषयमा बताए।
36तिनीहरूले यसैको बारेमा कुरा गर्दागर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!”
37तिनीहरूले एउटा भूत देखेको झैँ भनी ठानेर तिनीहरू विचलित भए, र डराए।
38उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन विचलित हुन्छौ? तिमीहरूका मनमा किन शङ्का उब्जन्छ?
39मेरा हातहरू र खुट्टाहरू हेर; म नै हुँ! मलाई छोएर हेर, तिमीहरूले अहिले ममा देखेजस्तै मासु र हाड त कुनै भूतको हुँदैन।”
40यसरी भनिसकेपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टाहरू देखाउनुभयो।
41अनि जब आनन्द र आश्चर्यले गर्दा तिनीहरूले उहाँको कुरा अझै पनि विश्वास गरेनन्, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरूसँग यहाँ केही खानेकुरा छ?”
42तिनीहरूले उहाँलाई पकाएको माछाको एक टुक्रा दिए।
43अनि उहाँले त्यो लिनुभयो र तिनीहरूकै सामु खानुभयो।
44उहाँले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूसँगै हुँदा मैले तिमीहरूलाई भनेको कुरा यही हो: मोशाको व्यवस्था, अगमवक्ताहरू र भजनहरूका पुस्तकमा मेरा विषयमा लेखिएका हरेक कुरा पूरा हुनैपर्छ।”
45त्यसपछि तिनीहरूले धर्मशास्त्रका कुराहरू बुझ्न सकून् भनेर उहाँले तिनीहरूका समझ खोलिदिनुभयो।
46उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ: ख्रीष्टले दुःख भोग्नेछ र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नेछ।
47अनि यरूशलेमदेखि सुरु गरेर सबै राष्ट्रहरूमा उहाँको नाममा पाप क्षमाको पश्चात्तापको प्रचार हुनेछ।
48तिमीहरू यिनै कुराहरूका साक्षी छौ।
49मेरा पिताले प्रतिज्ञा गर्नुभएको कुरा म तिमीहरूकहाँ पठाउनेछु, तर माथिबाट आउने शक्तिले सुसज्जित नभएसम्म यही सहरमा बसिरहो।”
50येशूले तिनीहरूलाई यरूशलेमको बाहिर बेथानीको नजिकै लानुभयो। अनि उहाँले आफ्नो हात उचाल्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो।
51तिनीहरूलाई आशीर्वाद दिइरहनुहुँदा उहाँ तिनीहरूबाट अलग हुनुभयो र माथि स्वर्गमा उठाइलगिनुभयो।
52अनि तिनीहरूले उहाँलाई दण्डवत् गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के।
53अनि परमेश्वरको प्रशंसा गर्दै निरन्तर मन्दिरमा रहन लागे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath