लूका 22
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1अब अखमिरी रोटीको निस्तार भनिने चाड नजिकै थियो।
2मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले कसरी येशूलाई मार्ने भनी केही उपाय खोजिरहेका थिए, तर तिनीहरू मानिसहरूदेखि डराउँथे।
3तब शैतान बाह्र जनामध्ये इस्करियोत भनिने यहूदाभित्र पस्यो।
4अनि त्यो मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका अधिकारीकहाँ गयो। त्यसले येशूलाई कसरी पक्राइदिन सक्छु भनेर तिनीहरूसित छलफल गर्यो।
5यसमा तिनीहरू खुशी भए, र त्यसलाई पैसा दिन राजी भए।
6त्यो तिनीहरूसँग सहमत भयो। अनि भीड नभएको बेलामा येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।
7त्यसपछि अखमिरी रोटीको चाडको दिन आयो, जुन दिनमा निस्तार चाडको थुमा बलिदान चढाइनुपर्थ्यो।
8येशूले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रा निम्ति निस्तार चाडको भोज खाने तयारी गर।”
9तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ तयार गरौँ भनी तपाईं चाहनुहुन्छ?”
10उहाँले जवाफ दिनुभयो, “सुन, तिमीहरू यरूशलेम सहरमा पस्नेबित्तिकै गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यसको पछि-पछि जाओ र त्यो जुन घरमा पस्छ,
11त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खानेछु?’
12तिनले तिमीहरूलाई माथिल्लो तलामा सजाएको एउटा ठूलो कोठा देखाउनेछन्, त्यहीँ तयार गर।”
13तिनीहरू गए, र येशूले तिनीहरूलाई भन्नुभएझैँ भेट्टाए। यसकारण तिनीहरूले निस्तार चाडको भोज तयार गरे।
14जब सही समय भयो, येशू र उहाँका चेलाहरू टेबुलमा खान बस्नुभयो।
15अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आफूले दुःख भोग्नुभन्दा अगाडि नै तिमीहरूसँग यो निस्तार चाडको भोज खान मैले उत्कट इच्छा गरेको थिएँ।
16किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यसको अर्थ पूरा नभएसम्म म यो फेरि खानेछैनँ।”
17कचौरा लिनुभएपछि उहाँले परमेश्वरलाई धन्यवाद दिनुभयो र भन्नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड।
18किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म फेरि दाखको रसबाट म कहिल्यै पिउनेछैनँ।”
19त्यसपछि उहाँले रोटी लिनुभयो। परमेश्वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, “यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।”
20त्यसै गरी खाइसकेपछि, उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जो तिमीहरूका निम्ति बहाइन्छ।
21तर मलाई पक्राइदिनेको हात मसँगै टेबुलमा छ।
22मानिसको पुत्र त ठहराइएअनुसार जान्छ, तर धिक्कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।”
23तिनीहरूमध्ये कसले यस्तो काम गर्ने होला भनी आपसमा सोधासोध गर्न थाले।
24तिनीहरूमध्ये कोचाहिँ सबैभन्दा ठूलो गनिने हो भनेर पनि तिनीहरूका बीचमा विवाद हुन थाल्यो।
25येशूले तिनीहरूलाई भन्नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरूले आफैँलाई ‘उपकारी’ भन्छन्।
26तर तिमीहरूचाहिँ यस्तो नहोओ। तर वास्तवमा तिमीहरूमध्ये जो ठूलो छ, त्यो सबैभन्दा सानोझैँ बनोस्; र शासकचाहिँ सेवा गर्नेजस्तै बनोस्।
27किनकि ठूलो को हो, टेबुलमा ढल्कने कि सेवा गर्ने? के टेबुलमा ढल्कने नै ठूलो होइन र? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्तै छु।
28मेरो परीक्षामा मसँग खडा रहनेहरू तिमीहरू नै हौ।
29अनि म तिमीहरूलाई एउटा राज्य नियुक्त गर्छु, जसरी मेरा पिताले मलाई नियुक्त गर्नुभएको छ;
30ताकि तिमीहरूले मेरो राज्यमा मेरो टेबुलमा खानपान गर्नेछौ। अनि इस्राएलका बाह्र कुलहरूको न्याय गर्दै सिंहासनहरूमा बस्नेछौ।
31“सिमोन, हे सिमोन, हेर शैतानले तिमीलाई गहुँजस्तै निफन्ने अनुमति मागेको छ।
32तर सिमोन तिम्रो विश्वास नटुटोस् भनेर मैले तिम्रा निम्ति प्रार्थना गरेको छु। अनि तिमी फेरि फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार।”
33तर तिनले भने, “हे प्रभु, म त तपाईंसँगै झ्यालखानामा र मृत्युसम्म पनि जान तयार छु।”
34येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, आज भाले बास्नुभन्दा अगि तिमीले मलाई चिनेको कुरा तीनपल्ट अस्वीकार गर्नेछौ।”
35त्यसपछि येशूले तिनीहरूलाई सोध्नुभयो, “जब मैले तिमीहरूलाई थैली, झोला अथवा जुत्ताविना नै पठाएँ, तब के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले जवाफ दिए, “भएन।”
36उहाँले तिनीहरूलाई भन्नुभयो, “तर अब भने तिमीहरूसित थैली छ भने त्यो लेओ, र झोला पनि बोक। अनि तिमीहरूसित तरवार छैन भने आफ्नो लुगा बेचेर एउटा किन।
37यसो लेखिएको छ: ‘उहाँ अपराधीहरूसँग गनिनुभयो,’ अनि म तिमीहरूलाई भन्दछु, यो लेखिएको कुरा मेरो जीवनमा पूरा हुनैपर्छ। हो, मेरो विषयमा जे लेखिएको छ; त्यो पूरा हुन लाग्दैछ।”
38चेलाहरूले भने, “प्रभु, हेर्नुहोस्, दुईटा तरवारहरू छन्।” उहाँले भन्नुभयो, “भयो, त्यति भए पुग्छ।”
39येशू बाहिर निस्केर सधैँझैँ जैतुन डाँडामा जानुभयो। अनि उहाँका चेलाहरू उहाँको पछि लागे।
40त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।”
41अनि उहाँ तिनीहरूबाट करिब एउटा ढुङ्गा हाने जतिको दूरी पर जानुभयो, र घुँडा टेकेर प्रार्थना गर्नुभयो,
42“हे पिता, तपाईंको इच्छा भएमा यो कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्!”
43स्वर्गबाट एक स्वर्गदूत उहाँकहाँ देखा परे, र उहाँलाई बल र सहने शक्ति दिए।
44अनि अति व्याकुल भएर उहाँले अझै बढी आग्रहपूर्वक प्रार्थना गर्नुभयो; र उहाँको पसिना रगतका थोपाजस्तै भुइँमा खसिरहेका थिए।
45जब उहाँ प्रार्थनाबाट उठेर चेलाहरूकहाँ फर्कनुभयो, तब उहाँले तिनीहरूलाई शोकले थकित भई निदाइरहेका भेट्टाउनुभयो।
46उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।”
47उहाँ बोलिरहनुभएकै बेला एउटा भीड त्यहाँ आयो। अनि बाह्र जनामध्ये यहूदा भनिनेले तिनीहरूलाई अगुवाइ गरिरहेको थियो। तब येशूलाई चुम्बन गर्न त्यो अगि बढ्यो।
48तर येशूले त्यसलाई भन्नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्वासघात गर्दछौ?”
49येशूका पछि लाग्नेहरूले के हुन लागेको थियो, सो देखेर भने, “प्रभु, के हामी तरवारले हानौँ?”
50अनि तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको सेवकलाई हाने, र त्यसको दाहिने कान काटिदिए।
51तर येशूले भन्नुभयो, “अब यसो नगर!” अनि उहाँले त्यस मानिसको कान छुनुभयो र त्यसलाई निको पार्नुभयो।
52त्यसपछि येशूले उहाँलाई पक्रन आएका मुख्य पुजारीहरू, मन्दिरका पहरेदारहरूका अधिकारीहरू र प्रधानहरूलाई भन्नुभयो, “के मैले राजद्रोहको अगुवाइ गरेको छु र तपाईंहरू तरवार र लाठाहरू लिएर आउनुभयो?
53म त दिनहुँ मन्दिरका चोकहरूमा तपाईंहरूसँगै थिएँ। अनि तपाईंहरूले ममाथि हात उठाउनुभएन; तर अब यो तपाईंहरूको समय हो, अन्धकारले अधीन गरेको समय हो।”
54त्यसपछि तिनीहरूले उहाँलाई पक्रेर लगे। अनि उहाँलाई प्रधान पुजारीको घरमा लगे। पत्रुसले उहाँलाई टाढैबाट पछ्याए।
55तर जब मानिसहरू चोकको बीचमा आगो बालेर साथसाथै बसेका थिए, पत्रुस पनि तिनीहरूसितै बसे।
56तब एउटी सेविकाले आगोको उज्यालोमा तिनलाई त्यहाँ बसिरहेको देखी। त्यसले तिनलाई नजिकैबाट नियालेर हेरी र भनी, “यी मानिस पनि तिनीसँगै थिए।”
57तर तिनले इन्कार गरेर भने, “ए नारी, म उहाँलाई चिन्दिनँ।”
58केही बेरपछि कोही अर्को व्यक्तिले तिनलाई देख्यो र भन्यो, “तिमी पनि तिनीहरूमध्येकै एक हौ।” पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।”
59लगभग एक घण्टापछि अर्को एक जनाले दृढतासाथ भन्यो, “साँच्चै नै यी मानिस तिनीसँगै थिए; किनकि यिनी पनि गालीली हुन्।”
60पत्रुसले जवाफ दिए, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्दिनँ।” तिनी बोलिरहेकै बेलामा भाले बास्यो।
61अनि प्रभुले फर्केर पत्रुसलाई सोझै हेर्नुभयो। तब पत्रुसले तिनलाई प्रभुले भन्नुभएको यो वचन सम्झे: “आज भाले बास्नुभन्दा पहिले तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”
62तिनी बाहिर गए, र धुरुधुरु रोए।
63येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्ला गर्न र पिट्न थाले।
64तिनीहरूले उहाँका आँखा छोपिदिए, र उहाँलाई आज्ञा गरे, “लौ, अगमवाणी गर्! तँलाई हिर्काउने को हो?”
65अनि तिनीहरूले उहाँलाई अरू धेरै निन्दाका कुराहरू पनि भने।
66उज्यालो हुनेबित्तिकै जनताका प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूको सभा एकसाथ भेला भए। येशूलाई तिनीहरूका अगि लगियो।
67तिनीहरूले सोधे, “यदि तँ ख्रीष्ट होस् भने हामीलाई भन्।” येशूले जवाफ दिनुभयो, “मैले भनेँ भने पनि तपाईंहरूले मलाई विश्वास गर्नुहुन्न।
68अनि यदि मैले प्रश्न गरेँ भने पनि तपाईंहरूले जवाफ दिनुहुन्न।
69तर अब उसो मानिसको पुत्र सर्वशक्तिमान् परमेश्वरको दाहिने हातपट्टि बस्नेछ।”
70तिनीहरू सबैले सोधे, “त्यसो भए, के तँ परमेश्वरको पुत्र होस्?” अनि उहाँले उत्तर दिनुभयो, “म उही हुँ भनी तपाईंहरूले ठिक भन्नुभयो।”
71त्यसपछि तिनीहरूले भने, “अब हामीलाई अरू साक्षीको किन आवश्यकता पर्यो र? हामीले त्यसको आफ्नै मुखबाट सुनेका छौँ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath