लूका 20
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1एक दिन उहाँले मन्दिरका चोकहरूमा भएका मानिसहरूलाई शिक्षा दिँदै र सुसमाचार घोषणा गरिरहनुभएको बेला, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, प्रधानहरूका साथमा उहाँकहाँ आए।
2तिनीहरूले भने, “हामीलाई भन, तिमीले कुन अधिकारले यी कुराहरू गर्दैछौ? तिमीलाई यो अधिकार कसले दियो?”
3उहाँले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न गर्छु। मलाई भन,
4यूहन्नाको बप्तिस्मा स्वर्गबाटको थियो कि मानिसहरूबाटको थियो?”
5तिनीहरूले यस विषयमा आपसमा छलफल गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, तिनले ‘त्यसो भए किन तिनलाई विश्वास गरेनौ त?’ भनी सोध्नेछन्।
6तर हामीले ‘मानिसहरूबाट’ भन्यौँ भने सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्; किनकि तिनीहरूले यूहन्नालाई अगमवक्ता भनी विश्वास गर्दछन्।”
7त्यसकारण तिनीहरूले जवाफ दिए, “त्यो कहाँबाट थियो, हामी जान्दैनौँ।”
8येशूले भन्नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ।”
9उहाँ बोलिरहनुभयो र मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र केही किसानहरूलाई मोहीको रूपमा खटाएर लामो समयका लागि टाढा गए।
10कटनीको समयमा तिनले ती मोहीहरूले दाखबारीबाट तिनलाई फलको केही भाग देऊन् भनी एउटा सेवकलाई तिनीहरूकहाँ पठाए। तर मोहीहरूले त्यसलाई पिटे, र त्यसलाई रित्तै हात फर्काइदिए।
11तिनले अर्को सेवकलाई पनि पठाए; तर त्यसलाई पनि तिनीहरूले पिटे, र बेइज्जत गरेर रित्तै हात नै पठाइदिए।
12तिनले तेस्रो सेवकलाई पनि पठाए, र तिनीहरूले त्यसलाई पनि घाइते बनाएर बाहिर फालिदिए।
13“त्यसपछि दाखबारीका मालिकले भने, ‘म के गरूँ? म आफ्नै प्यारो छोरालाई पठाउनेछु; सायद तिनीहरूले यिनलाई त आदर गर्लान्।’
14“तर जब मोहीहरूले त्यसलाई देखे, तब आपसमा यस विषयमा कुरा गरे। तिनीहरूले भने, ‘यो त हकवाला हो। हामी यसलाई मारौँ, र हकको सम्पत्ति हाम्रो हुनेछ।’
15यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे। “अब त्यस दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?
16तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।” मानिसहरूले यो सुनेर भने, “यस्तो कहिल्यै नहोस्!”
17येशूले सोझै तिनीहरूलाई हेर्नुभयो र सोध्नुभयो, “तब यसरी लेखिएको कुराको अर्थ के हो त: “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको मुख्य ढुङ्गा बन्यो’?
18हरेक, जो त्यस ढुङ्गामाथि खस्छ, त्यो टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि त्यो खस्छ, त्यो धुलोपिठो हुनेछ।”
19त्यसपछि व्यवस्थाका शिक्षकहरू र मुख्य पुजारीहरूले उहाँलाई तुरुन्तै पक्रने उपाय खोज्न थाले; किनकि उहाँले यो दृष्टान्त तिनीहरूका विरुद्धमा भन्नुभएको हो भनी तिनीहरूलाई थाहा थियो। तर तिनीहरू मानिसहरूदेखि डराउँथे।
20उहाँको चियो गरी मौका हेर्दै, तिनीहरूले धर्मी भएको बहाना गर्ने जासुसहरूलाई उहाँकहाँ पठाए। येशूले भन्नुभएका कुनै कुरामा उहाँलाई फसाई पक्रेर राज्यपालको अधिकार र शक्तिकहाँ उहाँलाई सुम्पिदिन तिनीहरूले दाउ हेरे।
21ती जासुसहरूले उहाँलाई प्रश्न गरे: “गुरुज्यू, हामी जान्दछौँ कि तपाईंले जे ठिक छ, त्यही बोल्नुहुन्छ र त्यसैको शिक्षा दिनुहुन्छ, र तपाईंले भेदभाव राख्नुहुन्न। तर सत्यता बमोजिम परमेश्वरका मार्ग सिकाउनुहुन्छ।
22के सिजरलाई हामीले कर तिर्नु उचित छ कि छैन?”
23तर उहाँले तिनीहरूका बनावटी कुरा देख्नुभयो र भन्नुभयो,
24“मलाई दिनारको एउटा सिक्का देखाओ। यसमा कसको चित्र र छाप छ?” “सिजरको,” तिनीहरूले जवाफ दिए।
25तब उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए जे सिजरको हो, त्यो सिजरलाई देओ र जे परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।”
26उहाँले त्यहाँ सारा मानिसहरूको अगि जे भन्नुभयो, त्यस कुरामा उहाँलाई फसाउन तिनीहरू सामर्थ्य भएनन्। उहाँले दिनुभएको जवाफमा आश्चर्यचकित भएर तिनीहरू चुप लागिरहे।
27मरेकाहरू पुनरुत्थान हुँदैनन् भनी विश्वास गर्ने समूहका सदुकीहरूमध्ये कोही-कोही यसो भन्ने प्रश्न लिएर येशूकहाँ आए।
28तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, कि कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई मात्र छोडेर मर्यो भने त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्न गरिदिनुपर्छ।
29अब कुनै परिवारमा सात दाजुभाइहरू थिए। पहिलोले विवाह गरेर पत्नी ल्यायो र ऊ सन्तान नभई मर्यो।
30अनि दोस्रोले त्यसलाई विवाह गर्यो, र ऊ पनि सन्तान नभई मर्यो,
31त्यसपछि तेस्रोले त्यसलाई विवाह गर्यो; अनि यही प्रकारले सातै जना दाजुभाइहरूले पालैपालो उसलाई विवाह गरे, र तिनीहरू सन्तान नभई नै मरे।
32अन्त्यमा त्यो स्त्री पनि मरी।
33अब मरेकाहरू पुनरुत्थान हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।”
34येशूले जवाफ दिनुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र गराउँछन्।
35तर त्यस युगसम्म पुग्न, र मरेकाहरूबाट पुनरुत्थान हुन योग्य ठहरिनेहरूले न त विवाह गर्नेछन्, न विवाहमा दिइन्छन्,
36तिनीहरू कहिल्यै मर्दैनन्; किनकि तिनीहरू स्वर्गदूतजस्तै हुन्। पुनरुत्थानका सन्तान भएकाले तिनीहरू परमेश्वरका सन्तान हुन्।
37पोथ्राको विवरणमा मोशाले पनि मरेकाहरू जीवित पारिन्छन् भन्ने कुरा देखाएका थिए; किनकि तिनले प्रभुलाई ‘अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर’ भनी पुकार गरेका छन्।
38उहाँ मरेकाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका हुनुहुन्छ; किनकि उहाँका निम्ति सबै जीवित छन्।”
39व्यवस्थाका केही शिक्षकहरूले भने, “गुरुज्यू, तपाईंले बडो असल कुरा भन्नुभयो!”
40त्यसपछि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेनन्।
41त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “ख्रीष्ट दावीदका पुत्र हुन् भनी तिनीहरू कसरी भन्दछन्?
42किनकि दावीद आफैँले भजनको पुस्तकमा यसो भनेका छन्: “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’
44दावीदले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?”
45सबै मानिसहरूले सुनिरहेकै बेलामा येशूले उहाँका चेलाहरूलाई भन्नुभयो:
46“व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्। बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्, र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्।
47तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath