लूका 1
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण तयार गर्ने काम धेरैले आफ्नो हातमा लिएका छन्,
2जसरी सुरुदेखि नै प्रत्यक्ष साक्षी र वचनका सेवकहरूले नै यी कुरा हामीलाई सुम्पिदिए।
3यसकारण हे माननीय थियोफिलस, मैले सुरुदेखि नै सबै कुराको सावधानीपूर्वक खोजी गरेको हुनाले तपाईंका निम्ति ती सबै कुराहरूको एक क्रमवद्ध विवरण लेख्न मलाई पनि उचित लाग्यो,
4जसबाट तपाईंलाई सिकाइएका कुराहरूको सत्यता तपाईंलाई थाहा होस्।
5यहूदिया प्रदेशका राजा हेरोदको पालामा, अबीयाहका पुजारी समूहका जकरिया नाम भएका एक जना पुजारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्।
6तिनीहरू दुवै जना परमेश्वरको दृष्टिमा धर्मी थिए, र प्रभुका आज्ञा र व्यवस्था निर्दोषसाथ पालन गर्थे।
7तर तिनीहरूका कोही सन्तान थिएनन्। किनकि एलीशिबा बाँझी थिइन्, र ती दुवै उमेर ढल्किसकेका थिए।
8एकपल्ट जब जकरिया परमेश्वरको सामु आफ्नो दलको पालोमा पुजारीको काम गरिरहेका थिए,
9तब पुजारीको सेवाको चलनअनुसार चिट्ठा हाल्दा, प्रभुका मन्दिरमा धूप बाल्ने जिम्मा जकरियालाई पर्यो।
10अनि सुगन्धित धूप बाल्ने बेलामा भेला भएका सबै उपासकहरूले बाहिर प्रार्थना गरिरहेका थिए।
11त्यस बेला प्रभुका एउटा दूत तिनीकहाँ धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे।
12दूतलाई देखेर जकरिया आत्तिए र डराए।
13तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ, जकरिया तिम्रो प्रार्थनाको सुनुवाइ भएको छ। तिम्री पत्नी एलीशिबाले तिम्रा निम्ति एउटा पुत्र जन्माउनेछिन्, र तिमीले तिनको नाम यूहन्ना राख्नू।
14तिनी तिम्रा निम्ति आनन्द र रमाहट हुनेछन्, र तिनको जन्मको कारण धेरै जना रमाउनेछन्।
15किनकि प्रभुको अगि तिनी महान् हुनेछन्। तिनले कहिल्यै पनि कुनै मद्यपान गर्नेछैनन्, र तिनी आमाको गर्भदेखि नै पवित्र आत्माले भरपूर हुनेछन्।
16तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन्।
17बुबाहरूका मन तिनीहरूका छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूका बुद्धितिर फर्काउन र प्रभुका एउटा जाति तयार पार्न एलियाको आत्मा र शक्तिमा तिनी प्रभुका अगि-अगि जानेछन्।”
18जकरियाले स्वर्गदूतलाई सोधे, “मैले यो पक्का हुन्छ भनेर कसरी जानूँ? म बुढो मानिस हुँ, र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।”
19स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्वरको सामु उभिन्छु, र म तिमीसँग बोल्न र यो सुसमाचार तिमीलाई सुनाउन पठाइएको हुँ।
20अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठिक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्वास गरेनौ।”
21यसै बीचमा मानिसहरू जकरियाको प्रतीक्षामा थिए, र तिनी मन्दिरमा किन अबेरसम्म बसे भनी छक्क पर्दैथिए।
22जब तिनी बाहिर आए, तब तिनी उनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे; किनकि तिनले उनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्।
23अनि सेवा गर्ने आफ्नो समय पूरा भएपछि तिनी घर फर्के।
24यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्तमा बसिन्।
25तिनले भनिन्, “प्रभुले मेरा निम्ति यो काम गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।”
26एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो।
27तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो।
28स्वर्गदूत तिनीकहाँ गएर भने, “हे उच्च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।”
29तिनको वचन सुनेर मरियम विचलित हुँदै यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्।
30तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्वरबाट कृपा पाएकी छौ।
31सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू।
32उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दावीदको सिंहासन दिनुहुनेछ।
33अनि उहाँले याकोबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”
34मरियमले स्वर्गदूतलाई प्रश्न गरिन्, “यो कसरी हुन सक्ला? किनकि म त एक कन्या हुँ।”
35स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
36यसै गरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौँ महिनामा छिन्।
37किनकि परमेश्वरका निम्ति कुनै पनि कुरा असम्भव छैन।”
38मरियमले भनिन्, “म प्रभुकी सेविका हुँ। मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए।
39त्यस समयमा मरियम तयार भइन् र हतार-हतार यहूदिया प्रदेशको पहाडतर्फको एउटा गाउँमा गइन्; जहाँ एलीशिबा र जकरिया बस्दथे।
40तिनले जकरियाको घरभित्र पसेर एलीशिबालाई अभिवादन गरिन्।
41एलीशिबाले मरियमको अभिवादन सुन्नेबित्तिकै तिनको गर्भमा रहेको बालक उफ्रियो; र एलीशिबा पवित्र आत्माले भरिइन्।
42अनि तिनले चर्को सोरमा भनिन्: “स्त्रीहरूमा तिमी धन्य हौ, र तिमीले जन्माउने बालक पनि धन्यका हुनुहुन्छ।
43तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई कसरी भयो?
44तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्नेबित्तिकै मेरो गर्भको बालक आनन्दले उफ्रियो।
45धन्य हुन् तिनी, जसले तिनलाई प्रभुले भन्नुभएका कुरा पूरा हुनेछन् भनी विश्वास गरिन्।”
46अनि मरियमले भनिन्: “मेरो प्राणले प्रभुको प्रशंसा गर्दछ,
47र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ।
48किनकि उहाँले आफ्नी सेविकाको दुःखद् अवस्थालाई विचार गर्नुभएको छ; अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्,
49किनकि सर्वशक्तिमान्ले मेरा निम्ति महान् काम गर्नुभएको छ: उहाँको नाम पवित्र होस्।
50उहाँको करुणा उहाँको भय मान्नेहरूका निम्ति पुस्तादेखि पुस्तासम्म रहिरहन्छ।
51उहाँले आफ्ना बाहुलीद्वारा शक्तिशाली कामहरू गर्नुभएको छ। आफ्नो मनको विचारमा घमण्ड गर्नेहरूलाई उहाँले तितरबितर पार्नुभएको छ।
52उहाँले शासकहरूलाई तिनीहरूका सिंहासनदेखि खसालिदिनुभएको छ, तर नम्रहरूलाई उच्च पार्नुभएको छ।
53उहाँले भोकाएकाहरूलाई असल कुराले तृप्त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाइदिनुभएको छ।
54उहाँले कृपालु बन्न स्मरण गर्दै, आफ्नो सेवक इस्राएललाई सहायता गर्नुभएको छ;
55उहाँले हाम्रा पुर्खाहरूलाई भन्नुभएझैँ उहाँले अब्राहाम र उनका सन्तानलाई सदाका लागि दया देखाउँछु भन्नुभएको थियो।”
56मरियम एलीशिबासँग लगभग तीन महिना बसेर घर फर्किन्।
57जब एलीशिबाको सुत्केरी हुने बेला आयो, तब तिनले एउटा छोरा जन्माइन्।
58तिनका छिमेकी र नातेदारहरूले प्रभुले तिनीमाथि उहाँको ठूलो कृपा देखाउनुभएको छ भन्ने सुने, र तिनको आनन्दमा सँगै रमाए।
59आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र तिनीहरूले बालकको नाम उसको बुबाझैँ जकरिया राख्न लागेका थिए।
60तर बालककी आमाले भनिन्, “होइन! तर त्यसको नाम यूहन्ना राखिनेछ।”
61तिनीहरूले तिनलाई भने, “यस्तो नाम भएको व्यक्ति तिम्रा नातेदारमा कोही पनि छैन।”
62त्यसपछि तिनीहरूले त्यसका बुबाले बालकलाई के नाम दिन चाहन्छन् भनी जान्न उनलाई इशारा गरी सोधे।
63उनले एउटा लेख्ने पाटी मगाएर “उसको नाम यूहन्ना हो” भनी लेखिदिए। यो देखेर सबै छक्क परे
64तुरुन्तै तिनको मुख र जिब्रो खुल्यो, र बोली पनि फुट्यो। अनि उनी परमेश्वरको प्रशंसा गर्दै बोल्न थाले।
65यो देखेर छिमेकीहरू सबैमा डर छायो; र यहूदिया प्रदेशका सम्पूर्ण पहाडी मुलुकभरि मानिसहरूले यी सबै कुराका बारेमा चर्चा गरे।
66यी कुरा सुन्नेहरू सबैले “यो बालक अब कस्तो होला?” भन्दै विचार गर्न लागे। किनकि प्रभुको बाहुली तिनीमाथि थियो।
67बालकका बुबा जकरिया पवित्र आत्माले भरिए, र यसरी अगमवाणी बोल्न लागे:
68“इस्राएलका परमेश्वर, प्रभुलाई प्रशंसा होस्; किनकि उहाँ आएर आफ्ना मानिसहरूलाई उद्धार गर्नुभएको छ।
69उहाँले आफ्ना सेवक दावीदको वंशमा हाम्रा निम्ति एउटा शक्तिशाली राजा, हाम्रा उद्धारको निम्ति पठाउनुभएको छ।
70जसरी आफ्ना पवित्र अगमवक्ताहरूद्वारा उहाँले परापूर्व कालदेखि नै बोल्नुभएको थियो;
71हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामीलाई उद्धार गर्नलाई,
72हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई र उहाँको पवित्र करार स्मरण गर्नलाई,
73जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको थियो,
74हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनलाई र निर्भयतासाथ पवित्रता र धार्मिकतामा,
75हाम्रो सम्पूर्ण जीवनभरि नै उहाँको सामु उहाँको सेवा गर्ने तुल्याउनलाई।
76“अनि तिमी मेरो बालक, सर्वोच्चका अगमवक्ता भनिनेछौ। किनकि उहाँका निम्ति बाटो तयार पार्न तिमी प्रभुको अगि-अगि जानेछौ।
77उहाँका मानिसहरूलाई तिनीहरूका पाप क्षमाद्वारा मुक्तिको ज्ञान दिनलाई,
78हाम्रा परमेश्वरको कोमल कृपाको कारणले, जसद्वारा हाम्रा निम्ति स्वर्गबाट उदाउँदो सूर्य आउनेछ।
79अन्धकार र मृत्युको छायामा बस्नेहरूमाथि ज्योति चम्कनलाई, हाम्रा पाउहरूलाई शान्तिको बाटोमा डोर्याउनलाई।”
80बालक बढ्दै र आत्मामा बलियो हुँदैगए। इस्राएलमा सार्वजनिक रूपमा देखा परेर सेवा सुरु नगरुन्जेल उनी उजाडस्थानमा नै बसे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath