लूका 19
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1येशू यरीहोमा प्रवेश गरी त्यहाँबाट जाँदैहुनुहुन्थ्यो।
2त्यहाँ जक्कै नाम भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूका प्रमुख थिए; र धनी थिए।
3अनि तिनले येशू को हुनुहुँदोरहेछ भनी हेर्न चाहन्थे, तर भीडले गर्दा तिनले उहाँलाई देख्न सकेनन्; किनकि तिनी पुड्का थिए।
4त्यसकारण तिनी दौडेर अगि-अगि गएर उहाँलाई हेर्नका लागि एउटा अञ्जीरको रूखमा चढे; किनकि येशू त्यही बाटो भएर आउन लाग्नुभएको थियो।
5जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्नुभयो, “ए जक्कै, चाँडै तल ओर्लेर आऊ। आज मलाई तिम्रो घरमा बस्नु छ।”
6तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे।
7तर यो देखेर सबै जनाले गनगनाउँदै भन्न लागे, “उनी त एउटा पापीको घरमा पाहुना बस्न गए।”
8तर जक्कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीँ नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; यदि मैले कसैलाई कुनै कुरामा ठगेको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”
9येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ; किनकि यी मानिस पनि अब्राहामकै सन्तान हुन्।
10किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”
11तिनीहरूले यी कुराहरू सुन्दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो; किनकि उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो, र मानिसहरूले परमेश्वरको राज्य अब तुरुन्तै प्रकट हुनेछ भन्ने विचार गरेका थिए।
12उहाँले भन्नुभयो: “असल खानदानका एक जना मानिस राजा नियुक्त भएर फेरि फर्किआउनका लागि एउटा टाढा मुलुकमा गए।
13तिनले आफ्ना दश जना सेवकहरूलाई बोलाएर तिनीहरूलाई सुनका दश सिक्का दिएर भने, ‘म फर्केर नआएसम्म यो पैसा व्यापारमा लगाओ।’
14“तर उनका अधीनका प्रजाहरूले तिनलाई घृणा गर्दथे; र त्यसैले तिनका पछि-पछि तिनीहरूले यसो भन्ने दूतहरू पठाए, ‘यी मानिस हाम्रा राजा भएको हामी चाहँदैनौँ।’
15“तर तिनी राजा भएर घर फर्के। त्यसपछि तिनले दिएका पैसाबाट सेवकहरूले कति फाइदा कमाए भनी पत्ता लगाउनका लागि तिनले आफ्ना सेवकहरूलाई आफूकहाँ बोलाए।
16“पहिलो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू दश सिक्का कमाएको छु।’
17“अनि त्यसका मालिकले भने, ‘स्याबास, मेरो असल सेवक! तिमी सानो कुरामा पनि विश्वासयोग्य भयौ। त्यसकारण अब दश सहरहरूमाथि अधिकार गर।’
18“दोस्रो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू पाँच सिक्का कमाएको छु।’
19“अनि त्यसका मालिकले भने, ‘तिमीले पाँच सहरहरूमाथि अधिकार गर।’
20“त्यसपछि अर्को सेवक आयो, र भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्का यहीँ छ। मैले यसलाई कपडाको टालोमा बाँधेर राखेको छु।
21म तपाईंसँग डराएँ, किनकि तपाईं एक कठोर मानिस हुनुहुन्छ। तपाईंले जे राख्नुभएको छैन, त्यो लिनुहुन्छ र जे छर्नुभएन, त्यसैको कटनी गर्नुहुन्छ।’
22“त्यसका मालिकले जवाफ दिए, ‘ए दुष्ट सेवक, म तेरै मुखको वचनबाट तेरो न्याय गर्नेछु! मैले जे राखिनँ, त्यो लिने, र जे छरिनँ, त्यसैको कटनी गर्ने म एक कठोर मानिस हुँ भन्ने तँलाई थाहा थियो, होइन र?
23त्यसो भए मेरो सिक्का तैँले किन साहुकहाँ राखिनस् त? त्यसो गरेको भए म फर्केर आउँदा मैले त्यसलाई ब्याजसमेत पाउनेथिएँ।’
24“त्यसपछि तिनले त्यहाँ नजिकै उभिनेहरूलाई भने, ‘त्यसबाट त्यो सिक्का लेओ, र जससित दश सिक्का छ, त्यसलाई देओ।’
25“तिनीहरूले भने, ‘मालिक, त्यससँग दश सिक्का छँदैछन् नि!’
26“राजाले जवाफ दिए, ‘म तिमीहरूलाई भन्दछु, जससित छ, त्यसलाई अरू दिइनेछ, तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ।
27तर म तिनीहरूमाथि राजा बनेको नचाहने मेरा ती शत्रुहरू, तिनीहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरै सामु मार।’ ”
28येशूले यी कुराहरू भनिसकेपछि उहाँ यरूशलेमतर्फ जानलाई अगि बढ्नुभयो।
29जब उहाँ जैतुन डाँडा भनिने पहाडमा बेथफागे र बेथानीको नजिक आइपुग्नुभयो, तब उहाँले आफ्ना दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,
30“तिमीहरूका सामुको गाउँमा जाओ, र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ; जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ।
31यदि कसैले तिमीहरूलाई ‘त्यसलाई किन फुकाउँदैछौ?’ भनी सोध्यो भने, ‘प्रभुलाई यो चाहिएको छ’ भनेर भन्नू।”
32ती अगि-अगि पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्नुभएको थियो, त्यस्तै भेट्टाए।
33तिनीहरूले त्यो बछेडालाई फुकाउँदै गर्दा त्यसका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले त्यो बछेडालाई किन फुकाउँदैछौ?”
34तिनीहरूले जवाफ दिए, “प्रभुलाई यो चाहिएको छ।”
35तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए; अनि आफ्ना लुगाहरू त्यस गधामाथि राखे, र येशूलाई त्यसमाथि बसाले।
36उहाँ अगि बढ्दै गर्नुहुँदा मानिसहरूले आ-आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए।
37उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूका सम्पूर्ण भीड, आफैँले देखेका सबै अचम्मका कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्वरको प्रशंसा गर्न लागे:
38“प्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ!” “स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा होस्।”
39भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!”
40उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चुप लागे भने ढुङ्गाहरू कराएर उठ्नेछन्।”
41जब येशू यरूशलेमको नजिक पुग्नुभयो, र सहरलाई देख्नुभयो, तब उहाँ त्यसका निम्ति रुनुभयो,
42र भन्नुभयो, “यदि तैँले, हो तैँले, शान्ति कुन कुराले ल्याउँछ भनी आज जानेको भए हुनेथियो। तर अब त्यो तेरो नजरबाट लुकेको छ।
43तँमाथि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि तेरो विरुद्धमा मोर्चा बाँध्नेछन्; घेरा हाल्नेछन् र तँलाई चारैतिरबाट थुनिराख्नेछन्।
44तिनीहरूले तँलाई र तेरो पर्खालभित्र भएका तेरा सन्तानहरूलाई जमिनमा पछार्नेछन्; र तिनीहरूले एउटा ढुङ्गा पनि अर्कोमाथि छोड्नेछैनन्; किनकि तैँले तँभित्र हुनुभएको परमेश्वरको आगमनको समयलाई चिनिनस्।”
45त्यसपछि उहाँ मन्दिरको क्षेत्रभित्र प्रवेश गर्नुभयो र त्यहाँ बिक्री गर्नेहरूलाई निकाल्न लाग्नुभयो।
46उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूका ओडार’ बनाएका छौ।”
47त्यसपछि उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिन थाल्नुभयो। तर मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न खोज्दैथिए।
48तर तिनीहरूले उहाँलाई मार्न कुनै उपाय भेट्टाउन सकेनन्; किनकि सबै मानिसहरू उहाँका वचनमा प्रभावित भएका थिए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath