ईसाई धर्म
पछाडि

लूका 17

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “मानिसहरूलाई पाप गर्न लगाउने ठक्‍करहरू अवश्य नै आउँछन्, तर धिक्‍कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्।

2यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउनुभन्दा बरु एउटा जाँतो त्यसको घाँटीमा बाँधेर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।

3त्यसकारण आफ्नो विषयमा होसियार बस! “यदि तिम्रो भाइले पाप गर्‍यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्‍चात्ताप गर्‍यो भने त्यसलाई क्षमा गर।

4त्यसले तिम्रो विरुद्धमा दिनमा सातपल्ट पाप गर्‍यो र सातैपल्ट फर्केर आएर तिमीलाई ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।”

5प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्‍वास बढाइदिनुहोस्!”

6उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो विश्‍वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘तँ जरैसित उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्‍न सक्छौ, र यसले तिम्रो आज्ञा मान्‍नेछ।

7“मानौँ तिमीहरूमध्ये कसैको एउटा सेवक खेत जोत्न अथवा भेडा चराउन गएको छ। के उसले त्यो सेवकलाई खेतबाट त्यो फर्केर आएपछि ‘अब आइज, र खान बस्’ भन्छ र?

8बरु उसले, ‘मेरो खाना तयार गर्, आफूलाई तयार राख्, र मैले खानपान नगरुन्जेल मेरो सेवाटहल गर्। त्यसपछि तैँले खानपान गर्न सक्नेछस्’ भनी भन्दैन र?

9सेवकले त्यसलाई अह्राइएको काम गरेकोले उसले त्यस सेवकलाई धन्यवाद दिन्छ र?

10त्यसै गरी तिमीहरूले पनि जब तिमीहरूलाई अह्राइएका सबै कामहरू गरिसक्छौ, तब यसो भन्‍नुपर्छ, ‘हामी अयोग्य सेवक हौँ, हामीले त केवल आफ्ना कर्तव्य मात्र पालन गरेका छौँ।’ ”

11यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो।

12उहाँ कुनै गाउँमा पस्‍न लाग्नुहुँदा कुष्‍ठरोग लागेका दश जनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए;

13अनि चर्को सोरमा उहाँलाई बिन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!”

14तिनीहरूलाई देखेर उहाँले भन्‍नुभयो, “जाओ, र आफैँलाई पुजारीकहाँ देखाओ।” अनि तिनीहरू जाँदा-जाँदै निको भए।

15तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्दै फर्केर आयो।

16येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो।

17येशूले सोध्नुभयो, “के दशै जना नै निको भएका होइनन् र? अरू नौ जना कहाँ छन्?

18के फर्किआएर परमेश्‍वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?”

19त्यसपछि उहाँले त्यसलाई भन्‍नुभयो, “उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्‍वासले नै तिमीलाई निको पारेको हो।”

20फरिसीहरूद्वारा परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखिने गरी आउँदैन,

21न त मानिसहरूले ‘यो यहाँ छ,’ अथवा ‘त्यहाँ छ,’ भनी भन्‍नेछन्। किनकि परमेश्‍वरको राज्य त तिमीहरूभित्र नै छ।”

22त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “त्यो समय आउँदैछ, जब तिमीहरूले मानिसको पुत्रलाई कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ।

23मानिसहरूले तिमीहरूलाई, ‘ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ!’ भन्‍नेछन्, तर तिनीहरूका पछि दगुर्दै नजाओ।

24किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो हुन्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ।

25तर पहिले उसले धेरै कष्‍टहरू भोग्नुपर्छ, र यस पुस्ताबाट तिरस्कृत हुनुपर्छ।

26“नोआका दिनहरूमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनहरूमा पनि त्यस्तै हुनेछ।

27नोआ जहाजभित्र पसेको दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका थिए र गराइँदैथियो। त्यसै समयमा जलप्रलय आयो र तिनीहरू सबैलाई नष्‍ट पार्‍यो।

28“लोतका दिनमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाइरहेका, पिइरहेका, किनबेच गरिरहेका, रोपिरहेका र बनाइरहेका थिए।

29तर लोतले सदोम छोडेकै दिनमा आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नष्‍ट पार्‍यो।

30“मानिसको पुत्र प्रकट हुने दिनमा ठिक यस्तै हुनेछ।

31त्यस दिन कोही घरको छानामाथि हुनेछ, र त्यसका मालसामान घरभित्र छन् भने ती थोकहरू लैजानलाई त्यो तल नओर्लोस्। त्यसै गरी खेतमा हुने कोही पनि केही लिन फर्केर नजाओस्।

32लोतकी पत्नीलाई सम्झ!

33जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ।

34म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना मानिस एउटै ओछ्यानमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ।

35दुई स्त्रीहरू सँगसँगै अन्‍न पिँधिरहेका हुनेछन्। एउटी लगिनेछ र अर्की छोडिनेछ।

36दुई जना मानिसहरू खेतमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ। ”

37तिनीहरूले सोधे, “कहाँ, प्रभु?” उहाँले जवाफ दिनुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू थुप्रिनेछन्।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath