लूका 16
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “कुनै धनी मानिसको एक जना प्रबन्धक थियो। उसलाई आफ्ना मालिकको धनसम्पत्ति उडाइरहेको छ भन्ने दोष लागेको थियो।
2त्यसकारण मालिकले त्यसलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा जे सुन्दैछु, त्यो के हो? तिम्रो कामको हिसाब देऊ; किनकि अब उप्रान्त तिमी प्रबन्धक रहिरहन सक्दैनौ।’
3“त्यो प्रबन्धकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ? मेरा मालिकले मेरो काम खोस्न लागेका छन्। खनजोत गर्ने मेरो बल छैनँ; अनि भीख माग्न मलाई लाज लाग्छ।
4अब म के गर्नेछु, त्यो मलाई थाहा छ। ताकि त्यसो गर्दा म यहाँको कामबाट हटाइए तापनि मानिसहरूले मलाई तिनीहरूका घरमा स्वागत गरून्।’
5“तब त्यसले आफ्ना मालिकका ऋणीहरूमध्ये हरेकलाई बोलायो। त्यसले पहिलोलाई सोध्यो, ‘तिमीसँग मेरा मालिकको कति ऋण छ?’
6“उसले भन्यो, ‘तीन हजार लिटर जैतुनको तेल।’ “प्रबन्धकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चाँडो बसेर पन्ध्र सय लिटर लेख।’
7“त्यसपछि त्यसले दोस्रोलाई सोध्यो, ‘तिमीसँग कति ऋण छ?’ “उसले भन्यो, ‘तीस टन गहुँ।’ “त्यसले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चौबीस टन लेख।’
8“त्यसले चतुर्याइँपूर्वक काम गरेकोले त्यसका मालिकले त्यो बेइमान प्रबन्धकको तारिफ गरे। किनकि यस संसारका मानिसहरू आफूजस्तै अरू मानिसहरूसँग व्यवहार गर्ने काममा ज्योतिका मानिसहरूभन्दा बढी चतुर हुन्छन्।
9म तिमीहरूलाई भन्दछु, संसारको धनसम्पत्ति प्रयोग गरेर आफ्ना निम्ति मित्रहरू बनाओ, र त्यो धनसम्पत्ति सकिएपछि तिमीहरूले अनन्त वासस्थानमा स्वागत पाउनेछौ।
10“जसलाई थोरै कुरामा भरोसा गर्न सकिन्छ, त्यसलाई धेरै कुरामा पनि भरोसा गर्न सकिन्छ। अनि जो सानो कुरामा बेइमान हुन्छ, त्यो धेरै कुरामा पनि बेइमान हुन्छ।
11त्यसैले यदि तिमीहरू संसारको धनसम्पत्ति चलाउने काममा इमानदार भएनौ भने साँचो धनसम्पत्तिको निम्ति कसले तिमीहरूलाई भरोसा गर्ला?
12अनि यदि तिमीहरू अरू कसैको धनमा इमानदार भएनौ भने तिमीहरूलाई तिम्रो आफ्नै धनसम्पत्ति कसले देला र?
13“कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ।”
14फरिसीहरू, जसले धनसम्पत्तिको लोभ गर्थे, यी सबै कुरा सुनेर तिनीहरूले उहाँका विरुद्ध ओठ लेप्य्राउँदै थिए।
15उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूका सामु आफैँलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर तिमीहरूका हृदय परमेश्वरले जान्नुहुन्छ। मानिसहरूका बीचमा जे उच्च ठानिएको हुन्छ, त्यो परमेश्वरको दृष्टिमा घृणित हुन्छ।
16“व्यवस्था र अगमवक्ताका वचन यूहन्नाको पालासम्म घोषणा गरिए। त्यस बेलादेखि परमेश्वरको राज्यको सुसमाचार घोषणा भइरहेको छ। हरेक व्यक्तिले आफू त्यसभित्र पस्न जबरजस्ती गर्दैछ।
17तर व्यवस्थाबाट एक मात्रा पनि हट्नुभन्दा आकाश र पृथ्वी टलेर जान सजिलो छ।
18“जसले आफ्नी पत्नीलाई विवाह विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ; अनि त्यो मानिस जसले विवाह विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ भने उसले पनि व्यभिचार गर्छ।
19“येशूले भन्नुभयो, एउटा धनी मानिस थियो। ऊ बहुमूल्य बैजनी र मिहिन मलमलको लुगा लगाएर दिनहुँ सुख-विलासमा बस्दथ्यो।
20लाजरस नाम भएको एउटा माग्ने उसको ढोकामा राखिन्थ्यो, जसको शरीर घाउ नै घाउले भरिएको थियो।
21अनि त्यसले धनी मानिसको टेबुलबाट झरेका भोजनका टुक्राटाक्री खाने इच्छा गर्दथ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्दथे।
22“केही समयपछि त्यो माग्ने मर्यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा पुर्याए। त्यो धनी मानिस पनि मर्यो, र गाडियो।
23नरकमा ऊ कठोर यातनामा थियो र उसले त्यहाँबाट नजर उठाएर हेर्यो, र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।
24तब उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्, र लाजरसलाई त्यसको औँलामा पानी चोपेर मेरो जिब्रोलाई शीतल पारिदिन यहाँ पठाइदिनुहोस्; किनकि म यस आगोको कठोर वेदनामा छु।’
25“तर अब्राहामले जवाफ दिए, ‘छोरा, याद गर! तिमीले तिम्रो जीवनकालमा कैयौँ असल कुराहरू प्राप्त गर्यौ, तर लाजरसले दुःख मात्र पायो। तर अहिले उसले यहाँ आराम पाउँदैछ, र तिमीचाहिँ वेदनामा तड्पिरहेका छौ।
26यसबाहेक यहाँबाट तिमीकहाँ जान चाहनेहरू जान नसकून् र त्यहाँबाट पनि कोही पार गरेर यहाँ आउन नसकून् भनेर हामी र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो राखिएको छ।’
27“तब उसले भन्यो, ‘त्यसो भए, हे पिता, म तपाईंलाई बिन्ती गर्दछु, लाजरसलाई मेरो परिवारकहाँ पठाइदिनुहोस्;
28मेरा पाँच भाइहरू त्यहाँ छन्; त्यसले तिनीहरूलाई चेतावनी देओस्, जसबाट तिनीहरू पनि यो यातनाको ठाउँमा नआऊन्।’
29“अब्राहामले जवाफ दिए, ‘तिनीहरूसित मोशा र अगमवक्ताका पुस्तकहरू छन्; तिनीहरूले ती सुनून्।’
30“उसले भन्यो, ‘होइन, पिता अब्राहाम, तर मरेकाहरूबाट कोही एक जना फर्केर तिनीहरूकहाँ गयो भने त तिनीहरूले पश्चात्ताप गर्नेछन्।’
31“तिनले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताका वचन सुन्दैनन् भने मरेकाहरूबाट कोही जीवित भए तापनि तिनीहरूले विश्वास गर्नेछैनन्।’ ”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath