ईसाई धर्म
पछाडि

लूका 15

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1येशूको वचन सुन्‍नलाई कर उठाउनेहरू र पापीहरू उहाँको वरिपरि जम्मा भइरहेका थिए।

2तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले गनगन गर्दै भन्‍न लागे, “यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसित नै खानपान गर्छ।”

3तब येशूले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो:

4“मानौँ तिमीहरूमध्ये कसैको एक सय भेडाहरू छन् र तीमध्ये एउटा हरायो भने के उसले उनान्सयलाई खुला मैदानमै छोडेर हराएको भेडालाई नभेट्टाउन्जेल त्यसको खोजी गर्दैन र?

5अनि हराएको भेडा भेट्टाएपछि उसले रमाउँदै त्यसलाई आफ्नो काँधमा बोक्छ, र घर जान्छ।

6त्यसपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छ, ‘मसँग रमाओ। मैले मेरो हराएको भेडा भेट्टाएको छु।’

7म तिमीहरूलाई भन्दछु, त्यसरी नै स्वर्गमा पनि पश्‍चात्ताप गर्न नपर्ने उनान्सय धर्मी जनहरूका लागि भन्दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि अझ बढी आनन्द मनाइनेछ।

8“अथवा कुनचाहिँ स्त्री होली, जससँग दश वटा चाँदीका सिक्‍का छन्, र उसले एउटा सिक्‍का हराई; तब के त्यो सिक्‍का नभेट्टाउन्जेल उसले बत्ती बालेर घर बढारी-बढारीकन होसियारीसाथ खोज्दिन र?

9अनि जब उसले त्यो सिक्‍का भेट्टाउँछे, तब आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘आओ, मसँग रमाओ; किनकि मैले हराएको सिक्‍का भेट्टाएकी छु।’

10म तिमीहरूलाई भन्दछु, त्यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीका लागि परमेश्‍वरका स्वर्गदूतहरूका सामु आनन्द मनाइनेछ।”

11येशूले बोल्ने क्रम जारी राख्नुभयो: “कुनै मानिसका दुई छोराहरू थिए।

12कान्छोले आफ्ना बुबालाई भन्यो, ‘बुबा, मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए।

13“धेरै दिन नबित्दै कान्छो छोरा आफूसँग भएको सबै धनसम्पत्ति बटुलेर टाढा देशमा गयो। त्यहाँ त्यसले आफ्नो सम्पत्ति भोग-विलासमा उडायो।

14त्यसले सबै खर्च गरिसकेपछि त्यस देशभरि ठूलो अनिकाल पर्‍यो, र त्यसलाई अभाव हुन थाल्यो।

15यसकारण त्यो गएर त्यस देशका एक जना नागरिककहाँ काम माग्यो। त्यस मानिसले उसलाई सुँगुरहरू चराउन आफ्नो खेतमा पठायो।

16त्यसले सुँगुरहरूले खाने चारोहरूले आफ्नो पेट भर्न चाहन्थ्यो, तर कसैले पनि त्यसलाई केही दिँदैनथ्यो।

17“त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादारी सेवकहरूले पेटभरि खाएर उबार्छन् पनि, तर म यहाँ भोकले मर्दैछु!

18अब म मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्‍नेछु: बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु।

19म अब तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादारी सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्!’

20अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो। “तर ऊ धेरै टाढामै थियो, तब त्यसका बुबाले त्यसलाई आइरहेको देखेर तिनी त्यसप्रति दयाले भरिए; तब तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हालेर चुम्बन गरे।

21“तब छोराले बुबालाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ।’

22“तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ।

23पोसिराखेको मोटो पशु ल्याएर मार। हामी भोज गरौँ, र आनन्द मनाऔँ।

24किनकि मेरो यो छोरो मरेको थियो, अब फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन थाले।

25“त्यस बेला तिनको जेठो छोरो खेतबारीमा थियो। ऊ घरको नजिकै आइपुग्दा उसले बाजा र नाचगानको आवाज सुन्यो।

26त्यसकारण उसले एउटा सेवकलाई बोलाएर ‘के हुँदैछ’ भनी सोध्यो।

27त्यसले जवाफ दियो, ‘तपाईंको भाइ आउनुभएको छ। अनि तपाईंका बुबाले पालिराखेको मोटो पशु मार्नुभएको छ। किनकि उहाँले तिनलाई सुरक्षित र सकुशल नै पाउनुभएको छ।’

28“तब जेठो दाजु रिसाएर भित्र जान मानेन। त्यसकारण त्यसको बुबा बाहिर गएर त्यसलाई फकाउन थाले।

29तर त्यसले आफ्नो बुबालाई जवाफ दियो, ‘हेर्नुहोस्! यतिका वर्षसम्म मैले तपाईंको सेवा गरिरहेको छु। अनि तपाईंका आज्ञा कहिल्यै उल्‍लङ्घन गरिनँ; तापनि मैले मेरा साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठोधरि कहिल्यै दिनुभएन।

30तर जब तपाईंको सम्पत्ति वेश्याहरूसँग उडाउने तपाईंको यो छोरा घर आयो, तब तपाईंले त्यसका निम्ति पोसाइराखेको मोटो पशु नै मार्नुभयो।’

31“बुबाले भने, ‘मेरो छोरा, तँ त सधैँ मसँगै छस्। मसँग भएका सबै थोक तेरै हो।

32तर हामीले आनन्द मनाएर खुशी हुनुपर्छ; किनकि तेरो यो भाइ मरेको थियो, र फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath