लूका 14
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1एक शब्बाथको दिन येशू एक जना प्रतिष्ठित फरिसीको घरमा भोजन गर्न जानुभएको थियो र उहाँको सावधानीपूर्वक चियो भइरहेको थियो।
2त्यहाँ उहाँको अगिल्तिर पेटमा पानी भरिने रोगले पीडित एक जना मानिस थियो।
3येशूले फरिसीहरू र व्यवस्थाका विद्वान्हरूलाई सोध्नुभयो, “शब्बाथको दिन निको पार्नु उचित छ कि छैन?”
4तर तिनीहरू चुप लागेर बसिरहे। त्यसकारण उहाँले त्यस मानिसलाई छुनुभयो र निको पार्नुभयो; अनि त्यसलाई पठाउनुभयो।
5त्यसपछि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूमध्ये कसैको छोरा वा गोरु शब्बाथको दिन इनारमा खस्यो भने के तिमीहरूले झट्टै त्यसलाई निकाल्दैनौ र?”
6तिनीहरूले केही पनि जवाफ दिन सकेनन्।
7भोजमा निम्त्याइएकाहरूले आदरको स्थान छानेका देखेर उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्टान्त भन्नुभयो:
8“जब कसैले तिमीलाई विवाह भोजमा निम्तो दिन्छ, तब आदरको स्थानमा नबस; किनकि तिमीभन्दा बढी विशिष्ट व्यक्ति पनि त्यहाँ निम्त्याइएको हुन सक्छ।
9यदि त्यसो रहेछ भने तिमीहरू दुवैलाई निम्तो दिने व्यक्तिले आएर तिमीलाई भन्नेछ, ‘तिमी बसेको आसन उहाँलाई देऊ।’ तब तिमी लज्जित भएर सबैभन्दा तल्लो स्थानमा बस्नुपर्नेछ।
10तर तिमीले निम्तो पाएपछि सबैभन्दा तल्लो स्थानमा बस; तब निम्तो दिने व्यक्ति आएर तिमीलाई भन्नेछ, ‘ए मित्र, माथि सरेर राम्रो स्थानमा बस्नुहोस्।’ तब तिमीसँग भोजमा बस्नेहरू सबैका अगि तिमीलाई आदर हुनेछ।
11किनकि आफूलाई उच्च तुल्याउने हरेकलाई नम्र बनाइनेछ; र आफूलाई नम्र बनाउने उच्च पारिनेछ।”
12त्यसपछि येशूले उहाँलाई निम्तो दिने व्यक्तिलाई भन्नुभयो, “तिमीले दिवा अथवा रात्री भोज लगाउँदा आफ्ना मित्रहरू, दाजुभाइ, आफन्तहरू, वा आफ्ना धनी छिमेकीलाई निम्तो नदेऊ। यदि त्यसो गर्यौ भने तिनीहरूले पनि त्यसको साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्।
13तर तिमीले भोज लगाउँदैछौ भने गरिबहरू, लुला-लङ्गडा, दृष्टिविहीनहरूलाई निम्तो देऊ,
14अनि तिमीले आशिष् पाउनेछौ। तिनीहरूले तिम्रो गुण फर्काइदिन नसके तापनि धर्मीहरूको पुनरुत्थान हुँदा तिमीलाई प्रतिफल मिल्नेछ।”
15टेबुलमा उहाँसँग हुनेहरूमध्ये एक जनाले यी कुराहरू सुनेर येशूलाई भन्यो, “त्यो मानिस धन्य हो, जसले परमेश्वरको राज्यमा भोज खानेछ।”
16येशूले जवाफ दिनुभयो: “कुनै एक मानिसले एउटा ठूलो भोज लगाउने तयारी गर्दैथिए, र धेरै पाहुनाहरूलाई निम्तो दिए।
17भोजको समय हुँदा उनले आफ्नो सेवकलाई निम्तो दिइएकाहरूलाई यसो भन्न पठाए, ‘आउनुहोस्, अब सबै थोक तयार भइसक्यो।’
18“तर तिनीहरू सबैले समान रूपले एउटा-एउटा बहाना बनाउन लागे। पहिलोले भन्यो, ‘मैले भर्खरै एउटा जमिन किनेको छु, र म त्यो हेर्न जानुपर्छ; कृपया मलाई माफ गर्नुहोस्।’
19“अर्कोले भन्यो, ‘मैले भर्खरै पाँच हल गोरु किनेको छु, म तिनीहरूलाई जाँच गर्न जाँदैछु; बिन्ती गर्दछु, मलाई माफ गर्नुहोस्!’
20“अझै अर्कोले भन्यो, ‘मेरो भर्खरै विवाह भएको छ, त्यसकारण म आउन सक्दिनँ।’
21“सेवक फर्केर आयो र मालिकलाई यसको खबर दियो। तब घरका मालिक रिसाए, र आफ्नो सेवकलाई आज्ञा दिए, ‘झट्टै बाहिर सहरका सडक र गल्लीहरूमा जाऊ। अनि गरिब, कुँजा, दृष्टिविहीन र लुला-लङ्गडाहरूलाई यहाँ भित्र ल्याऊ।’
22“त्यो सेवकले भन्यो, ‘मालिक, तपाईंले आज्ञा गर्नुभएबमोजिम काम भयो, तर धेरैका लागि ठाउँ अझै खाली छ।’
23“त्यसपछि मालिकले सेवकलाई भने, ‘मूल सडक र गाउँतिर जाने गल्लीहरूमा जाऊ। अनि मानिसहरूलाई भित्र आउन कर गर, ताकि मेरो घर भरियोस्।
24म तिमीहरूलाई भन्दछु, मैले पहिले निम्ताइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्।’ ”
25येशूसँग मानिसहरूको ठूलो भीड साथमा जाँदैथिए, र तिनीहरूतिर फर्केर उहाँले भन्नुभयो:
26“यदि कोही मकहाँ आउँछ, र मलाई भन्दा बढी उसले आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनी र आफ्नो प्राणलाई महत्व दिन्छ भने त्यो मेरो चेला हुन सक्दैन।
27अनि जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
28“मानौँ तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्यो भने त्यो सिद्ध्याउन पर्याप्त खर्च आफूसित छ कि छैन भनी के पहिले नै बसेर अनुमानित हिसाब गर्दैन र?
29यदि उसले जग बसाल्यो, तर त्यो पूरा गर्न सकेन भने त्यो देख्ने हरेकले त्यसको गिल्ला गर्नेछन्;
30अनि भन्नेछन्, ‘यस मानिसले बनाउन त सुरु गर्यो, तर पूरा गर्न सकेन।’
31“अथवा मानौँ कुनै एउटा राजा अर्को राजाको विरुद्ध लडाइँ गर्न जाँदैछ भने के उसले पहिले नै बसेर आफूसँग भएका दश हजारले उसको विरुद्धमा बीस हजार लिएर आउँदैगरेको राजासँग लडाइँ गर्न सक्छु कि सक्दिनँ भनी विचार गर्दैन र?
32ऊ असमर्थ छ भने उसले त्यो अर्को राजा टाढा छँदा नै मिलापको प्रस्तावको लागि प्रतिनिधिहरू पठाउनेछ।
33त्यसै गरी तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
34“नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने?
35त्यो न त माटोका निम्ति, न मलका निम्ति कामलाग्दो हुन्छ, तर त्यो बाहिर फालिन्छ। “जसको सुन्ने कान छ, त्यसले सुनोस्!”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath