ईसाई धर्म
पछाडि

लूका 12

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1यसैक्रममा जब त्यहाँ हजारौँको भीड जम्मा हुन लाग्यो, यहाँसम्म कि एकले अर्कालाई कुल्चन लागे, तब येशूले पहिले आफ्ना चेलाहरूसँग यसो भन्दै बोल्न लाग्नुभयो: “फरिसीहरूका खमिरदेखि होसियार रहो, जुन तिनीहरूको कपटीपन हो।

2अब लुकेको कुनै कुरा छैन, जो प्रकट हुनेछैन; र गुप्‍तमा कुनै कुरा छैन, जो थाहा हुनेछैन।

3तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुसी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ।

4“मेरा मित्रहरू हो, म तिमीहरूलाई भन्दछु, शरीरलाई मार्ने, तर त्यसपछि अरू केही गर्न नसक्नेहरूसँग नडराओ।

5तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिँदछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ।

6के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन् र? तापनि तीमध्ये एउटै पनि परमेश्‍वरद्वारा बिर्सिइएको हुँदैन।

7वास्तवमा तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।

8“म तिमीहरूलाई भन्दछु, जसले मलाई मानिसहरूका सामु स्वीकार गर्दछ, ती हरेकलाई मानिसको पुत्रले पनि परमेश्‍वरका दूतहरूका सामु स्वीकार गर्नेछ।

9तर जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्नेछ, परमेश्‍वरका दूतहरूको सामु त्यसलाई पनि अस्वीकार गरिनेछ।

10मानिसको पुत्रको विरुद्धमा बोल्ने हरेकलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यसलाई क्षमा गरिनेछैन।

11“जब तिमीहरू सभाघरहरू, शासकहरू र अधिकारीहरूका अगि ल्याइन्छौ, तब कसरी आफ्नो बचाउको लागि के गर्ने अथवा तिमीहरूले के बोल्ने भन्‍ने विषयमा फिक्री नगर;

12किनकि तिमीहरूले के बोल्नुपर्ने हो, सो पवित्र आत्माले तिमीहरूलाई त्यही बेला नै सिकाउनुहुनेछ।”

13भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरा दाजुलाई तिनले मसँग अंशबण्डा गरिदेऊन् भनिदिनुहोस् न।”

14येशूले जवाफ दिनुभयो, “ए मानिस! कसले मलाई तिमीहरूका लागि न्यायाधीश अथवा सम्पत्ति बाँडिदिने तुल्यायो?”

15त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो! सबै प्रकारका लालचबाट आफूलाई जोगाओ; किनकि मानिसको जीवन उसको धनसम्पत्तिको प्रशस्ततामा रहँदैन।”

16त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दियो।

17त्यसले आफ्नो मनमा गुन्‍न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्‍न राख्ने मसँग ठाउँ नै छैन।’

18“त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु। मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्‍न र मालसामान त्यहाँ राख्नेछु;

19अनि म आफैँलाई भन्‍नेछु, “तेरा निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।” ’

20“तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘ए मूर्ख! आज राति नै तेरो प्राण तँबाट लिइनेछ; अनि तैँले आफ्ना निम्ति तयार गरेका कुराहरू कसले प्राप्‍त गर्ला?’

21“आफ्ना निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्‍वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।”

22त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर।

23भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हो।

24कागहरूलाई विचार गर: तिनीहरूले न त छर्दछन्, न कटनी गर्दछन्। तिनीहरूको न त भण्डार छ, न ढुकुटी नै; तर पनि परमेश्‍वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू त चराचुरुङ्गीभन्दा कति धेरै मूल्यवान् छौ!

25तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छ र?

26त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने अन्य कुराहरूका निम्ति तिमीहरू किन चिन्ता गर्दछौ?

27“लिली फूलहरू कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्।

28आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्‍वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्‍वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कत्ति बढी पहिराउनुहुन्छ होला!

29के खाऔँला अथवा के पिऔँला भनी त्यसैको खोजीमा मन नलगाओ, न त त्यस बारेमा चिन्तित नै होओ।

30किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्‍नुहुन्छ।

31तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।

32“ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्‍न हुनुभएको छ।

33तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्ना निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धनसम्पत्ति तयार पार, जहाँ चोर लाग्दैन; अनि किराले पनि नाश पार्दैन।

34किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।

35“सेवाका निम्ति सुसज्जित भई तयार बस र तिमीहरूका बत्ती बालिराख।

36अनि ती मानिसहरूजस्ता होओ, जसले तिनीहरूका मालिक विवाह भोजबाट फर्किआएर ढक्ढक्याउँदा तिनका निम्ति तुरुन्तै ढोका खोलिदिन सकियोस् भनेर आफ्ना मालिकलाई पर्खेर बस्छन्।

37यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्‍नेछन्। तिनीहरूलाई भोजनका निम्ति बस्‍न लगाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्।

38मालिक मध्यरात अथवा बिहानै आउँदा पनि जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ।

39तर यो बुझिराख: घरका मालिकलाई चोर कुन बेला आउँछ भन्‍ने थाहा भएको भए त्यसले आफ्नो घर फोरिन दिनेथिएन।

40तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।”

41पत्रुसले सोधे, “प्रभु, तपाईंले यो दृष्‍टान्त हाम्रा लागि भन्‍नुभएको हो कि सबैका लागि?”

42तब प्रभुले जवाफ दिनुभयो, “त्यो विश्‍वासयोग्य र बुद्धिमान् प्रबन्धक को हो, जसलाई त्यसका मालिकले तिनका सेवकहरूलाई ठिक समयमा तिनीहरूले पाउनुपर्ने खानेकुरा दिने कामको जिम्मा दिन्छन्?

43उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ।

44म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्।

45तर मानौँ, त्यस सेवकले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्ठानेर र त्यसले सेवक सेविकाहरूलाई पिट्न थाल्यो; अनि खाएर, पिएर मात्तिन थाल्यो भने,

46त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र त्यसलाई अविश्‍वासीहरूको स्थान दिनेछन्।

47“त्यो सेवक, जसले आफ्ना मालिकको इच्छा जानेर पनि तयार रहँदैन, अथवा त्यसका मालिकको इच्छाअनुसार गर्दैन भने त्यसले ठूलो सजाय पाउनेछ।

48तर जसले मालिकको इच्छा नजानेर नै दण्डनीय काम गर्छ, त्यसले थोरै सजाय पाउनेछ। हरेक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै नै मागिनेछ; अनि जसलाई धेरै कुराहरू सुम्पिएका छन्, त्यसबाट अझ बढी लिइनेछ।

49“म यस पृथ्वीमा आगो बर्साउन आएको हुँ, बरु त्यो अगिबाटै सल्किसकेको भए हुनेथियो!

50तर मैले लिनुपर्ने एउटा बप्‍तिस्मा छ, र त्यो पूरा नभएसम्म म अति व्याकुल छु!

51के तिमीहरूले म पृथ्वीमा शान्ति ल्याउन आएँ भन्‍ने विचार गर्दछौ? म तिमीहरूलाई भन्दछु, होइन; म त बरु विभाजन ल्याउन आएँ।

52अबदेखि पाँच जनाको परिवारमा एउटाको विरुद्ध अर्को गरी विभाजन हुनेछ; तीन जनाका विरुद्ध दुई, र दुई जनाका विरुद्ध तीन।

53तिनीहरू विभाजित हुनेछन्; बुबा छोराको विरुद्धमा र छोरा बुबाको विरुद्धमा, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, बुहारीको विरुद्धमा सासू र सासूको विरुद्धमा बुहारी हुनेछ।”

54उहाँले भीडलाई भन्‍नुभयो: “तिमीहरूले पश्‍चिमतिर बादल उठेको देखेर तुरुन्तै भन्दछौ, ‘पानी पर्छ,’ र त्यस्तै हुन्छ।

55अनि दक्षिणबाट बतास चल्दा तिमीहरू भन्छौ, ‘अब गर्मी हुन्छ,’ र त्यस्तै हुन्छ।

56ए कपटीहरू हो! पृथ्वी र आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर यस वर्तमान समयको अर्थ लगाउन तिमीहरू किन जान्दैनौ?

57“कुन कुरा ठिक हो भनी तिमीहरूले आफ्नै बारेमा किन निर्णय गर्दैनौ?

58तिमीहरूका विरोधीसित हाकिमकहाँ जाँदै गर्दा ऊसँग बाटोमा हुँदै मिलाप गर्न भरमग्दूर प्रयास गर; नत्रता त्यसले तिमीलाई तानेर न्यायाधीशकहाँ लैजानेछ, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ जिम्मामा लगाउनेछ; अनि अधिकारीले तिमीलाई झ्यालखानामा हाल्नेछ।

59म तिमीहरूलाई भन्दछु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath