लेवी 19
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहले मोशालाई भन्नुभयो,
2“इस्राएलका सारा समुदायसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरू पवित्र होओ; किनकि म याहवेह तिमीहरूका परमेश्वर पवित्र छु।
3“ ‘तिमीहरू प्रत्येकले आफ्ना आमाबुबालाई आदर गर्नू, र तिमीहरूले मेरा शब्बाथ दिनहरूलाई पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
4“ ‘मूर्तिहरूतिर नफर्कनू वा धातुका आफ्ना निम्ति देवताहरू नबनाउनू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
5“ ‘तिमीहरूले याहवेहको निम्ति आफ्ना मेलबलि चढाउँदा यस किसिमले चढाओ, कि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य होस्।
6त्यसलाई तिमीहरूद्वारा चढाएकै दिन अथवा भोलिपल्ट खाइयोस्। तेस्रो दिनसम्म केही थोक बाँकी रह्यो भने त्यो जलाइयोस्।
7यदि त्यसबाट केही तेस्रो दिनमा खाइयो भने त्यो अशुद्ध हो; त्यो ग्रहण हुनेछैन।
8त्यसलाई जसले खान्छ, त्यो जिम्मेवार हुनेछ। किनकि त्यसले जुन कुरा याहवेहको निम्ति पवित्र छ, त्यसलाई अपवित्र तुल्याएको छ। त्यो मानिस आफ्नो समुदायबाट बहिष्कार गरियोस्।
9“ ‘तिमीहरूले आफ्नो जमिनबाट कटनी गर्दा त्यसको किनारसम्मै नकाट्नू, अथवा तिमीहरूका कटनीको सिलाबाला नबटुल्नू।
10तिमीहरू आफ्नो दाखबारीमा दोस्रोपल्ट नजानू, अथवा झरेका अङ्गुर नटिप्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
11“ ‘तिमीहरूले चोरी नगर्नू। “ ‘तिमीहरूले झूट नबोल्नू। “ ‘तिमीहरू एक-अर्कालाई धोका नदिनू।
12“ ‘तिमीहरूले मेरो नाममा झूटो शपथ खाएर आफ्ना परमेश्वरको नाम अपवित्र नतुल्याउनू। म नै याहवेह हुँ।
13“ ‘तिमीहरूले आफ्ना छिमेकीलाई शोषण नगर्नू, अथवा नलुट्नू। “ ‘तिमीहरूका ज्यालादारी मानिसको ज्याला रातभरि रोकेर नराख्नू।
14“ ‘तिमीहरूले सुन्न नसक्नेलाई नसराप्नू, अथवा दृष्टिविहीनको सामु ठेस लाग्ने कुरा नराख्नू; तर आफ्ना परमेश्वरको डर मान्नू। म नै याहवेह हुँ।
15“ ‘तिमीहरूले न्याय नबिगार्नू। गरिबलाई पक्षपात नगर्नू; अनि धनीलाई विशेष कृपा नदेखाउनू। तर आफ्ना छिमेकीको न्याय ठिकसित गर्नू।
16“ ‘आफ्ना मानिसहरूका बीचमा निन्दा नफैलाउनू। “ ‘आफ्ना छिमेकीको जीवन खतरामा पर्ने किसिमका कुनै पनि काम नगर्नू। म नै याहवेह हुँ।
17“ ‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्।
18“ ‘आफ्ना मानिसहरूका विरुद्धमा बदला नलिनू, अथवा डाह नगर्नू; तर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू; म नै याहवेह हुँ।
19“ ‘मेरा उर्दीहरू पालन गर्नू। “ ‘बेग्ला-बेग्लै जातिका पशुहरूलाई मेल नगराउनू। “ ‘आफ्नो जमिनमा दुई किसिमका बिउहरू नलगाउनू। “ ‘दुई किसिमका सामग्रीहरूले बनिएको वस्त्र नलगाउनू।
20“ ‘मगनी भएकी, तर छुटकारा नपाएकी तथा स्वतन्त्र नभएकी कमारीसित कसैले सहवास गर्यो भने तिनीहरूलाई सजाय दिइयोस्। तिनीहरूलाई मार्नुचाहिँ हुँदैन। किनभने त्यो फुक्का भएकी थिइन।
21तर त्यस मानिसले याहवेहका निम्ति दोषबलिस्वरूप भेट हुने पालको प्रवेशद्वारमा एउटा भेडा ल्याओस्।
22त्यो भेडालाई लिएर पुजारीले त्यसको निम्ति त्यसले गरेको पापका लागि याहवेहको सामु प्रायश्चित गरोस्; अनि त्यसको पाप क्षमा गरिनेछ।
23“ ‘जब तिमीहरू त्यस देशमा प्रवेश गर्छौ, तब त्यहाँ कुनै किसिमका फलको रूख रोपेपछि त्यसको फललाई खान नहुने ठान्नू। तीन वर्षसम्म तिमीहरूले त्यसलाई खान नहुने ठान्नू; त्यो खानुहुँदैन।
24चौथो वर्षमा त्यसका सबै फलहरू पवित्र र याहवेहका निम्ति प्रशंसाको भेटी हुनेछ।
25तर पाँचौँ वर्षमा त्यसको फल खान सकिन्छ। यस प्रकार तिमीहरूका फसलको वृद्धि हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
26“ ‘कुनै मासु रगत भएको अवस्थामा नखानू। “ ‘तिमीहरूले जोखना हेर्ने र साइत हेर्ने कामहरू नगर्नू।
27“ ‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, न त आफ्नो दाह्रीका किनारहरू छाँट्नू।
28“ ‘तिमीहरूले मरेकाहरूका निम्ति आफ्ना शरीरलाई नकाट्नू, अथवा आफूमाथि खोपेर छापहरू नबनाउनू। म नै याहवेह हुँ।
29“ ‘तिमीहरूले आफ्ना छोरीहरूलाई वेश्या बनाएर तिनीहरूको स्तर नघटाइदिनू; नत्रता देश नै वेश्यावृत्तिमा लागेर दुष्टताले भरिनेछ।
30“ ‘मेरा शब्बाथ दिनहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ।
31“ ‘तन्त्रमन्त्र गर्नेहरूतिर ध्यान नदिनू, न त तिनीहरूलाई खोज्नू। किनकि तिनीहरूद्वारा तिमीहरू अपवित्र तुल्याइनेछौ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
32“ ‘बुढापाकाहरूका सम्मानमा उठ्नू र वृद्धहरूप्रति आदर देखाउनू। अनि तिमीहरूका परमेश्वरको भय मान्नू। म नै याहवेह हुँ।
33“ ‘जब कुनै परदेशी तिमीहरूको देशमा तिमीहरूसित बसोबास गर्छ, तब त्यससित नराम्रो व्यवहार नगर्नू।
34तिमीहरूसित बस्ने परदेशीलाई स्वदेशमा जन्मेकालाई झैँ व्यवहार गर्नुपर्छ। त्यसलाई आफूलाई झैँ प्रेम गर्नू। किनकि तिमीहरू पनि इजिप्टमा परदेशी थियौ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
35“ ‘तिमीहरूले नाप्दा, जोख्दा र भर्दा छल नगर्नू।
36ठिक तराजु, ठिक ढक, ठिक एपा र ठिक हिन चलाउनू। तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
37“ ‘तिमीहरूले मेरा सबै उर्दी र मेरा सबै व्यवस्थाहरू मान्नू; र ती पालन गर्नू। म नै याहवेह हुँ।’ ”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath